काठमाडौं, ३ साउन । सेयर बजारमा सुधारको तरंग देखिएको छ । बजेटसँगै सेयरमा उत्साह देखिएको हो । बजेटमा दोस्रो बजार कारोबारलाई व्यवस्थित गर्न नागरिक लगानी कोषलाई प्रोत्साहित गर्ने व्यवस्थापछि कारोबारमा सुधार आउने अपेक्षा गरिएको छ ।
बजेट भाषणको दिनदेखि सेयरमा सुधार आएको हो । असार अन्तिम साता नेप्से दोहोरो अंकले बढेको थियो । आगमी दिनमा पनि सेयरमा केही सुधार आउने विश्लेषकको अनुमान छ ।
गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलब २७ अंकले बढेर अन्तिम दिन ९ सय ६१ दशमलब २३ अंकमा पुगेको छ । गत साता साताको परिसूचक ५ दशमलब ४१ अंकले
बढेको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता स्टक एक्सचेन्जमा १ सय ७२ कम्पनीको सात हजार ४ सय ४३ कारोबारबाट एक अर्ब ३२ करोड ४१ लाख ८३ हजार बराबरका ३४ लाख ९२ हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ३ दशमलब १६ प्रतिशत बढी हो । गत साता १ सय ७० कम्पनीको ४ सय ७९ कारोबारबाट एक अर्ब २८ करोड ३६ लाख २९ हजार बराबरका ३६ लाख ३८ हजार २७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
गत साता वाणिज्य बैंक समूहको परिसूचकमा १० दशमलब ७६, विकास बैंक १६ दशमलब शून्य ५, वित्त कम्पनीका ३ दशमलब ९, होटल कम्पनी ४५ दशमलब ६८, जलविद्युत् क्षेत्रमा १ सय २३ दशमलब ८८ र बिमा १७ दशमलब ७१ अंकले बढेको एक्सचेन्जमा उल्लेख छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचकमा ६६ दशमलब ४२ र अन्य समूहको परिसूचकमा १८ दशमलब ७९ अंकले सुधार आएको छ भने व्यापार समूहको परिसूचकमा भने ७ दशमलब शून्य ९ अंकले तल झरेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलब ५८ अंकले बढेर २ सय ४ दशमलब ६७ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा प्रभु बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा प्रभु बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी, कारोबार संख्याका आधारमा पनि प्रभु बैंक अग्रस्थानमा रहेको छ ।
यो साता विराट लक्ष्मी विकास बैंकको १० लाख ५६ हजार ६१, जनरल फाइनान्सको तीन लाख ५२ हजार ६ सय ८, नेरुडे लखुवित्त विकास बैंकको दुई लाख ५० हजार, प्रभु इन्स्योरेन्सको दुई लाख १९ हजार २ सय ७, मनास्लु विकास बैंक, एक लाख १७ हजार, रुरल माइक्रो फाइनान्सको पाँच लाख २० हजार, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी दुई लाख ६५ हजार ३ सय ४० कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने नेको इन्स्योरेन्सको ११ लाख ३७ हजार ७ सय ८४ र मनास्लु विकास बैंकको तीन लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
गत साता स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
प्रतिक्रिया