काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार भारतको नयाँदिल्लीमा नयाँ घोषणा गरेका छन् ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा आफूलाई लगाइएको आरोप चिर्न आत्मकथा लेख्ने घोषणा गरे । ‘सबै कम्युनिस्ट पार्टीलाई एउटै छातामुनि ल्याउने प्रयत्न गर्छु र त्यसपछि आत्मकथा लेख्नेछु’, उनले भारतीय म्यागेजिन तिसरी दुनियाँले गरेको अन्तरक्रियामा भने, ‘नेपालका कम्युनिस्ट सैद्धान्तिक रूपमा एकै ठाउँमा रहे पनि व्यवहारत अलगअलग छौँ तर एकता सम्भव छ ।’
भारतीय नेताहरूसँग बिहीबार बिहान भेट गरी स्व. गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गल्ती गरेको अनुभव सुनाएका प्रचण्डले अन्तरक्रियाका क्रममा भने, ‘मलाई नेपाली कम्युनिस्ट आन्दोलन बिगारेको अभियोग लागेको छ । कतै सम्झौता गरेको, कतै एजेन्डा छाडेको आरोप छ । यी सबै उतारचढावको तथ्य सार्वजनिक गर्न पनि मेरो आत्मकथा आउन आवश्यक छ ।’
प्रचण्डले आफूले मुलुकको हितका लागि सधैँ दलगत स्वार्थ त्यागेको दाबी गर्दै शान्तिप्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुर्याउने केही त्याग गरेको बताए । उनले थपे, ‘मुलुकको हितका लागि पार्टीको हित हेरेको छैन, शान्तिप्रक्रिया र संविधान निर्माणका लागि त्याग गर्नुपरेको छ ।’ उनले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख उल्लेख गरेकाले नेपालको संविधान साम्यवाद उन्मुख संविधान भएको दाबी गरे । उनले भने, ‘संविधान साम्यवाद उन्मुख भएको छ, यस अर्थमा हामीले जितेका छौँ ।’
उनले लिपुलेक, नेपालको संविधान निर्माण प्रक्रिया र पुनर्निर्माणको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा छलफल गर्ने जानकारीसमेत दिए । मोदीलाई प्रचण्डले शुक्रबार भेट्ने कार्यतालिका भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । प्रचण्ड भारतीय संस्थापनको निम्तोमा चारदिने भारत भ्रमणमा दिल्लीमा छन् ।
प्रतिक्रिया