काठमाडौं, २६ असार, । आइसिसी टि–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले सानदार सुरुआत गरेको हो । अमेरिकाले प्रस्तुत गरेको १२२ रनको चुनौती नेपालले अन्तिम २ बल खेल्नुअघि ४ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत चार रनमा आउट भए, जतिबेला नेपालको स्कोर ६ रन थियो ।
तर, सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । अनिल २९ रनमा आउट भए ।
उपकप्तान ज्ञानेन्द्रले अर्धशतक पूरा गरे । ४३ बलको सामना गरेका उनले ६ चौका र एक छक्काको मदतमा ५२ रन बनाए । पारस खड्का २१ र शरद भेसवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए ।
अमेरिकाका जसदिप सिंहले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
अमेरिकाले पावर प्लेमा राम्रै रन जोडेको थियो । ६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, अकिम डोट्सन र फहद बाबरबाहेक उसका अन्य ब्याट्सम्यान चल्न सकेनन् । डोट्सन ३९ र बाबर २३ रनमा आउट भए । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचन र वसन्त रेग्मीले समान ३–३ विकेट लिए । सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट लिए ।
२ ओभरमा २७ रन दिएका करन केसी महँगो सावित भए । कप्तान पारस खड्काले विकेट लिएपछि ३ ओभरमा मात्र १० रन दिएका थिए ।
प्रतिक्रिया