युनिभर्सियाडमा यासिफ ६९औ स्थानमा

ttकाठमाडौं, २४ असार । दक्षिण कोरियाको ग्वाङजुमा भइरहेको २८औँ समर युनिभर्सियाड गेम–२०१५ अन्तर्गत पौडीमा नेपालका यासिफ मानन्धरले ६९औँ स्थान हासिल गरेका छन् । नाम्बु युनिभर्सिटी एक्वेटिक्स सेन्टरमा यासिफले पुरुषको ५० मिटर ब्रेस्टस्ट्रोक ३९ दशमलव शून्य एक सेकेन्ड समयमा तय गरे । ७१ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा यासिफ समग्रमा ६९औँ भएका हुन् । यो स्पर्धामा यासिफको उत्कृष्ट प्रदर्शन ३७ दशमवलव ८१ सेकेन्ड रहेको छ ।

यासिफले गाम्बिया र तान्जनियाका खेलाडीलाई पछि पारेका थिए । उनले पहिलो हिटमा प्रतिस्पर्धा गरेका थिए । बिहीबार पौडीमा नेपालकी जित्ज्वाली महर्जनले महिलाको ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।
टेबलटेनिसमा पनि हार
टेबलटेनिसमा पनि नेपाली खेलाडीले हारको सामना गरेका छन् । मिक्स डबल्समा राष्ट्रिय च्याम्पियन एवं शीर्ष वरीयताकाद्वय दीप साउन र नवीता श्रेष्ठको जोडी स्लोभाकियाको जोडीसँग ३–११, ५–११ र ५–११ को सोझो सेटमा पहिलो चरणमा पराजित भए । ज्याकी महर्जन र अनिता महर्जनको जोडी हंगेरीका जोडीसँग २–११, ४–११ र ५–११ ले दोस्रो चरणमा हारे । पहिलो चरणमा नेपाली जोडीले वाक ओभर पाएका थिए ।
जाङसियोङ होङग्लीडोङ जिम्नेजियममा भएको पुरुष डबल्सको पहिलो चरणमा नाइजेरियाका खेलाडीसँग वाक ओभर पाएको नेपाली जोडी दीप साउन र विनेश खनियाँ जापानी जोडीसँग ३–११, ४–११ र ४–११ ले चुके । महिला डबल्समा नविता र अनिताको जोडी हङकङ चाइनासँग ९–११, ७–११ र ११–११ ले चुकेका थिए । बिहीबार नेपालले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया