काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटको छनोट खेल खेल्न आयरल्यान्ड पुगेको नेपाली टोली र ओमानबीचको पहिलो ‘वार्मअप’ खेल वर्षाले रद्द भएको छ । पटक–पटकको वर्षाले खेल हुन नसकेपछि खेल रद्द भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले जनाएको छ । आयरल्यान्डको स्टोरमोन्ट क्रिकेट मैदानमा खेल वर्षाले रद्द हुनुअघि पहिले ब्याटिङ गर्दै ओमानले १६ ओभरमा ४ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डिएल मेथडका आधारमा १ सय २६ रनको नयाँ विजय लक्ष्य पाएको थियो । १ सय २६ रनको नयाँ विजय लक्ष्यसहित जवाफी ब्याटिङ गर्दै गर्दा वर्षा भएपछि पुनः खेल अवरूद्ध भएपछि आइसिसीले खेल रद्द गरेको हो ।
खेल रद्द हुनुअघि नेपालले ३ बल खेल्दै विनाविकेटको क्षतिमा ६ रन जोडेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । ओमानका लागि जिसान मक्सुदले सर्वाधिक ४४ रन बनाए ।
यस्तै, भैरव वातेगानोकरले २३ रन बनाएका थिए । नेपालका लागि शक्ति गौचन, जितेन्द्र मुखिया, सागर पुन र ज्ञानेन्द्र मल्लले समान १–१ विकेट लिए । त्यस्तै सोमबार भएको अभ्यास खेलमा स्कटल्यान्ड, पपुवा न्युगिनी र हङकङ विजयी भएका छन् ।
अभ्यास खेलमा स्कटल्यान्डले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १ सय २८ रनको लक्ष्य स्कटल्यान्डले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । पपुवा न्युगिनीले भने केन्यालाई डिएल मेथडका आधारमा ९ रनले पराजित गरेको छ । (सौस)
प्रतिक्रिया