भानकोभर । अमेरिकाले १६ वर्षको अन्तरालमा महिला फुटबल विश्वकपको उपाधि जितेको छ । तेस्रोपटक उपाधि जित्ने क्रममा अमेरिकाले सोमबार बिहान भएको फाइनलमा जापानलाई ५–२ ले पराजित ग-यो । यसअघि सन् १९९१ र सन् १९९९ मा अमेरिकाले उपाधि जितेको थियो ।
सोमबारको खेलमा अमेरिकालाई उपाधि जिताउने क्रममा कार्ली लाइडले उत्कृष्ट प्रदर्शन गरिन् । ५३ हजार दर्शकले भरिएको फाइनल खेलमा उनले ह्याट्रिक गरिन् । लाइडले पहिलो हाफको तेस्रो मिनेटमै गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् । त्यसको दुई मिनेटपछि नै कार्ली अर्को गोल गर्न सफल भइन् । उनले लाउरेन होलिडेको फ्री किकमा गोल गरेकी हुन् । गोलसँगै अमेरिका ५औँ मिनेटमा नै २–० को अग्रता लिन सफल भएको थियो । उनले गरेको सुरुआती दुई गोल नै महिला विश्वकपको फाइनलमा छोटो समयको अन्तरमा गरिएको गोल हो । आक्रमक सुरुआत गरेको अमेरिकाका लागि होलिडेले १४औँ मिनेटमा गोल गरिन् । १६औँ मिनेटमा कार्लीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
कार्लीले महिला विश्वकपको फाइनल पहिलोपटक चार गोल गर्ने महिला फुटबलर बन्ने राम्रो मौका खेर फालिन् । उनको प्रहारलाई इलेक्सले जोगाएपछि प्रहार जापानकी गोलरक्षकले सहजै बचाउ गरिन् ।
जापानकी युकी ओगिमीले २७औँ मिनेटमा गोल गरिन् । ५२औँ मिनेटमा अमेरिकाकी जुली जोनसनले आत्मघाती गोल गरेपछि जापान खेलमा फर्कने झिनो सम्भावना देखिएको थियो । त्यसको दुई मिनेटपछि टोबन हिथले गोल गरिन् । उनको गोलसँगै यस विश्वकपमा जापान फराकिलो हार बेहोर्न बाध्य भयो । यस जितसँगै अमेरिकाले सन् २०११ जर्मनीमा भएको विश्वकप फाइनलमा जापानसँगको हारको बदला समेत लिएको छ । महिला विश्वकपको उपाधि अमेरिकाले तीन, जर्मनीले दुई र जापान तथा नर्वेले एक–एकपटक जितेका छन् । (एजेन्सी)
प्रतिक्रिया