सीमा समस्या, लिपुलेक र राष्ट्रियता

sanjib_rokahaदार्चुलाको व्यास गाविसमा पर्ने कालापानी लिपुलेक क्षेत्र अहिलेको महाकाली नदीको उद्गम स्थल (पोखरी) बाट १० किमी उत्तरमा पर्दछ । यसबाट एक हजार दुई सय किमिमा पाकिस्तान र तीन हजार किमिमा क्यास्पियन सागर हुँदै स्थल मार्गबाट युरोप पुग्न सकिन्छ । चीनले प्रस्ताव गरेको सिल्क रोड र वेल्ठ रोडको परिकल्पनामा परेको यो भूभाग सुगौलीसन्धीपश्चात नै निरन्तर भारतीय पक्षबाट विवादित बनाउँदै आइएको छ । भारतीय पक्षबाट महाकाली नदीको उद्गम स्थलको विषयमा भिन्न मत जाहेर भएता पनि नदीको उद्गम स्थल निर्धारणमा अन्तर्राष्ट्रिय प्रचलित मापदण्ड एवं वैज्ञानिक हिसाबले हेर्दा ८०.१७० पूर्व देशान्तर र ३०.४०० अक्षांश उत्तरको कुटियाङ्दी लिम्पियाधुर घाँटी नै यसको वास्तविक मुहान हो ।

भारत–चीन स्वार्थ
सन् १९६२ को भारत–चीन सीमा विवाद तथा युद्धताका सीमा सुरक्षाका लागि भारतले आफ्नो क्षेत्र भौगोलिक हिसाबले असुरक्षित महसुस गरी सेल्टरका लागि नेपाली भूमिमा टेन्ट गाडी बसे पनि युद्धपश्चात्समेत आफ्ना सेनालाई निरन्तर तैनाथ गरिराख्यो । भारतलाई ल्हासासम्म पुुग्न सजिलो मार्ग र चीनलाई दिल्लीसम्म पुग्न छोटो मार्गको स्वार्थमा यो सम्झौता भएको देखिन्छ, साथै चीनको फस्टाउँदो व्यापार र विश्व राजनीतिमा प्रमुख बन्ने लक्ष्यमा भारतलाई साथ लिएर अगाडि बढ्ने चाहना अगाडी नेपाली भूभागमाथि सम्झौता हुँदा यसको असरको विषयमा सामान्य हेक्का नराखी सम्झौता हुनु आपैमा रहस्यमय विषय बनेको छ । नेपालसँग सीमा जोडिएका १३ जिल्लाको ७१ ठाउँमा करिब ६० हजार ६ सय ६२ हेक्टर जमिन भारतीय पक्षबाट कब्जा भएको छ जसमध्ये ३७ हजार हेक्टर तीन भाग दार्चुला लिम्पियाधुरा लिपुलेकमा पर्दछ । एमालेका तत्कालीन नेता प्रेमसिंह धामीले यो विषयमा पटकपटक राष्ट्रिय रूपमा कुरा उठाउनु भएको थियो र हाल गणेश ठगुन्नाले औपचारिक रूपमा आवाज उठाइरहनु
भएको छ ।
०७२ असार १६ मा संसदमा बोल्ने अधिकांश सभासद्ले लिपुलेकको विषयमा सरकारको आधिकारिक धारणा माग्दै एकजुट भएर आवाज उठाएका छन् ।
प्रमाणहरू
१. १८२६ फेब्रुअरी १ मा इस्टइन्डिया कम्पनीद्वारा प्रकाशित कुमाउगढवालको नक्सामा कालीनदीको उद्गमस्थल लिम्पियाधुरालाई निश्चित गरी निर्धारण गरिएको छ ।
२. बेलायतद्वारा सन् १८३० र १८४६ मा प्रकाशित नक्सामा समेत लिम्पियाधुरालाई मुहान देखाइएको छ ।
३. सन् १९६१मा नेपाल–चीन सम्झौता हुँदा नेपाल, चीन र भारतको त्रिदेशीय सीमाविन्दु लिपुलेक कायम गर्दै महाकालीको मुहान लिम्पीयाधुरा रहेको प्रष्ट गरिएको छ ।
४. सन् २००१ नोभेम्बर १ मा कालापानी विवादको सन्दर्भमा चीनका एक उच्च कुटनीतिक अधिकारीले कालापानी र लिपुलेक नेपाली भूमी हो भनी यकिन साथ बताएका थिए । यो कुरा १९६१ र १९७९ मा भएको नेपाल–चीन सीमा प्रोटोकलमा समेत उल्लेख गरिएको छ ।
अन्त्यमा,
२०१५ मे १५ का दिन भारत र चीनबीच भएको ४१ बुँदे सम्झौताको बँदा नं. २८ मा लिपुलेक भञ्ज्यांङलाई भारत र चीन अन्तर सीमा व्यापार नाका बनाउने सहमति नेपालको सार्वभौमिकता एवं अखण्डतामाथिको नांगो हस्तक्षेप हो । लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्पसधँको लागि हटाई सुगौलीसन्धि ताकाको नक्सालाई आधार मानी सीमारेखा प्रथमतः कायम गरिनु पर्दछ । भारतसँगको सीमा विवाद अन्त्य गर्दै सैन्य अखडा हटाई त्रिदेशीय व्यापारीक मार्गमा राष्ट्रको सार्वभौमिकतालाई ख्याल गर्दै नेपालले सहकार्य गर्नु अवाश्यक छ । यसका निमित्त सन् १९६० मा बिपीले नेपाल–चिन विवाद टुंग्याई चीनको सगरमाथामाथिको दाबी सधैँ अन्त्य गरिदिएको इतिहास हामीले भुल्न हुँदैन ।
पछिल्लो सम्झौताका विरुद्धमा नेपाल सरकारले आवश्यक कुटनीतिक पहल कदमी गर्नु आवश्यक छ । त्यसैगरी समस्त राष्ट्रप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरूले नेपालको अस्मितामाथि भएको प्रहारको आआफ्नो ठाउँबाट विरोध गर्दै राष्ट्रियताको पक्षमा एकजुट भएर अगाडि बढ्नु आजको प्रमुख आवश्यकता बनेको छ । अन्त्यमा नेपाललाई सामान्य सूचनासमेत नदिई नेपालको भूभाग भएर व्यापार सम्झौता गर्नु नेपालको सार्वभौम सत्तालाई ठाडो चुनौती दिनु हो ।

प्रतिक्रिया