यौनव्यवसाय वैधानिक भएजस्तो बन्दै छ नागरिकता प्रावधान

Babita-Dhakalनागरिकताका विषयमा संविधान लचिलो बन्ने भएको छ । अर्थात्, आमा वा बाबुको नामबाट वंशजका आधारमा एउटा सन्तानले नागरिकता पाउने विषय चर्चामा छ ।

नयाँ संविधानमा आमा वा बाबुको नामबाट नागरिकता पाइने उल्लेख हुने भएको छ । हुन त महिला अधिकारकर्मी वा महिला अधिकारवादीले आमाका नामबाट नागरिकताको विषयलाई संविधानमा लेखिनुपर्ने विषयको बहस पहिलादेखि नै गर्दै आएका थिए ।

आमा वा बाबुको नामबाट वंशजका आधारमा नागरिकता वा आमाको नामबाट नागरिकता भन्ने विषय अझै खुला र पुरुष होस् वा महिला कुनै एकले जिम्मेवारीबाट पन्छिने विषय नै किन उठाइन्छ ? नितान्त व्यक्तिगत बुझाइ पनि हुनसक्छ, तर किन आमा र बाबु दुवैका नामबाट सन्तानले नागरिकता नपाउने ?

जब एउटा सन्तान जन्माउन दुवै अर्थात् पुरुष र महिला बराबर सहभागिता हुन्छन् र हुनैपर्छ भने त्यो सन्तानले नागरिकताचाँहि किन आमा वा बाबुको नामबाट भनेर इङ्गित गर्ने ?

बिनापुरुषको उपस्थिति वा बिनामहिलाको उपस्थितिमा सन्तान उत्पादन हुँदैन भने नागरिकतामा एउटालाई मात्र किन समावेश गर्ने ? यदि आमा वा बाबुको नामबाट वा आमाको नामबाट मात्रै नागरिकता दिने हो भने केही समयलाई राम्रो देखिए पनि समाजमा धेरै अविवाहित महिलाबाट सन्तान उत्पादन हुन सक्नेतर्फ हामीले हेर्ने कि नहेर्ने ? त्यस्तो अवस्थामा को जिम्मेवार हुने ? त्यसमा उपस्थित पुरुष स्वतः जिम्मेवारीबाट पन्छिँदैन र ?

यदि आमा वा बाबुको नामबाट नागरिकता प्रदान गर्ने हो भने पहिले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिन सक्नुपर्छ । नेपालमा यो प्रावधान पनि नबनेको अवस्थामा यस्तो प्रक्रियालाई हामी कसरी स्वीकार गर्न सक्छौँ ? यौन व्यवसाय जबसम्म वैधानिक हुन्न, तबसम्म यो प्रावधान त्यति प्रभावकारी बन्नेमा ढुक्क हुने ठाउँ देखिँदैन ।

हो, सामूहिक बलात्कारको सिकार भएकी महिलाबाट जन्मिएका सन्तानका लागि यो उपयुक्त हुन सक्छ किनभने त्यो बेला बच्चा कसको हो भन्ने प्रस्ट्याउन सकिने अवस्था रहँदैन । होइन भने बाबु वा आमाबाट जो कसैले पनि नागरिकता पाउने प्रावधानले नेपाली नागरिक ‘ठिमाहा’ नहोलान् भन्न सकिन्न ।

बोटबिरुवा र पशुमा नश्ल सुधारका लागि कुनचाहिँ राम्रो हुन्छ भनेर प्रयोग गरे जस्तो नहोस् संविधानमा लेखिने नागरिकताको विषय, जसले भविष्यमा दुर्घटना निम्त्याउन सक्छ ।

यो निर्णयले उपभोग्य वस्तु नबनुन् महिला । अनि सजिलै उन्मुक्तिको बाटो नबनोस् कोही कसै चाहे त्यो पुरुष होस् चाहे महिला । हामी आमा र बाबु दुवैको नामबाट नै नागरिकता किन भन्न चाहिरहेका छैनौँ ? हरेक महिलालाई थाहा हुन्छ, उसले जन्म दिएको सन्तानको बाबु को हो भनेर ।

यसमा हिचकिचाहट किन ? यो त एउटा जिम्मेवारीबाट उन्मुक्ति पाउने बाटो हो । लालनपालन र स्याहारसुसारमा एउटाको मात्रै उपस्थिति रहन जान्छ । एउटालाई मात्रै जिम्मेवारी बोझ उठाउनुपर्ने देखिन्छ ।

समाजमा देखिआएकै कुरा पनि हो, यसबाट पुरुष अझ जिम्मेवारीबाट पन्छन्छन् । हामी धेरै नै आधुनिकतावादतर्फ लम्कियौँ कि जस्तो आभाष गराइदिएको छ यो निर्णयले ।

हामी पितृसत्तात्मक सोचबाट जब माथि उठ्न सक्दैनौँ, यी विषयलाई कसरी राख्ने भन्नेमा सजग हुनुपर्ने देखिन्छ । हाम्रो संस्कार र हाम्रो संस्कृतिअनुसार पनि यो विषय अलि जटिल देखिएको छ ।

नागरिकता हरेक नागरिकले पाउने हकअधिकार हो । यसका लागि कसरत होइन, सहजता अपनाइनु पर्छ । झन्झटिलो र साँघुरो होइन, फराकिलो दायरा बनाइनु पर्छ ।

त्यसो भनिरहँदा हाम्रो संस्कार र संस्कृतिलाई धरापमा पार्ने विधि र प्रावधान ल्याइनु हुँदैन, जसले गर्दा भोलि यो देशले संकटको सामना गर्नु नपरोस् ।

प्रतिक्रिया