काठमाडौं, ७ वैशाख । प्रमुख दुई विपक्षी दल कांग्रेस र एमालेका नेताहरु प्रदेशको संख्या ६ देखि ८ सम्म बनाउने सहमतिको नजिक पुगेका छन् ।
सिंहदरबारमा आज बसेको दुई दलका प्रमुख नेताहरुको बैठकमा शासकीय स्वरुप, प्रदेशको नाम, संख्या लगायतमा छलफल भएको कांग्रेस नेता अर्जुननर सिंह केसीले जानकारी दिए ।
राज्य पुनर्संरचना गर्दा जातीय राज्य नबनाउने पक्षमा रहेका कांग्रेस र एमालेले सबैलाई समेट्ने गरेर संघीयतामा जानुपर्ने सहमति गरेका छन् ।
नेता केसीले भने, ‘६ देखि ८ वटा सम्म प्रदेश बनाउनु पर्छ, करिब ७ वटा प्रदेश बनाउने सहमतिको नजिक पुगेका छौं ।’
जाती, भाषा, भौगोलिक आधार, पहिचान, सामथ्र्य लगायतका बिषयलाई ध्यानमा राखेर जानुपर्ने कांग्रेस र एमालेको धारणा छ । यद्यपि उनीहरुले जातीय राज्य बनाउन पक्षमा भने आफूहरु नरहेको बताएका छन् ।
शासकीय स्वरुपका बिषयमा कांग्रेसले संसदीय व्यवस्था पद्धतीमा सहयोग गर्न एमालेलाई आग्रह गरेको छ ।
एमालेले संसदीय पद्धतीमा एमाओवादीलाई सहमत गराए आफूले पनि सहयोग गर्ने आश्वासन दिएको नेता शुरेन्द्र पाण्डेले जानकारी दिए ।
उता, एमालेले पनि कांग्रेसलाई शासकीय स्वरुपमा मिश्रीत प्रणालीमा आउन आग्रह गरेको छ ।
दुबै दल आ–आफ्नो अडानमा रहेपछि ठोस निर्णय भने हुन सकेन । यस अघि बुधबार पनि दुई दलले आन्तरिक छलफल गरेका थिए ।
प्रतिक्रिया