‘छाउ’ हुने बेला आएपछि पीर पर्न थाल्थ्यो । कसका गोठमा बस्न जाऔँ भन्ने हुन्थ्यो । मेघ लागेको बेला (वर्षायाम) छानो नचुहिने गोठ खोज्नुपथ्र्यो । गाउँका धेरै महिला एकैपल्ट छाउ हुँदा त्यो पनि पाइन्नथ्यो । छानो चुहिने गोठमा बस्नुपथ्र्यो । घरका मान्छेसँग छाता माग्यो भने, ‘तिमी छाउपडीलाई छाता चाहिने ?’ भनेर हप्काउँथे । जाडो र वर्षामा धोएको लुगा सुक्दैनथ्यो, सुकेको अर्को लुगा घरकासँग माग्दा ‘तिमी छाउपडीलाई सुकेका लुगा चाहिने ?’ भन्थे । कहिलेकाहिँ गोठमा बस्ने धेरैजना महिला हुन्थे । रातमा खुट्टा तत्काउने ठाउँ हुँदैनथ्यो । त्यस्तो बेलाका लागि गोठको छानोमा डोरी बाँधेर राखेका हुन्थ्यौं अनि त्यसै डोरीमा खुट्टा बाँधेर तन्काउँथ्यौँ । एकपल्ट घरको बारीमा बसेर थालमा भात खाँदै थिएँ, पानी आयो । छाउगोठ अलि पर थियो । थालको भात सबै मेघले लग्यो (थालको भातमा पानी नै पानी भयो) । घरको आँगनमा पस्न पाइन्नथ्यो, त्यसदिन भोकै सुत्नुप¥यो । कठै, कस्तो थियो हाम्रो जिन्दगी !
महिनावारी भएकी महिलाले आप्नो घरगाउँका सधैँ हिँड्ने बाटोमा चार दिनसम्म हिँड्न पाउँदैनन् । घरको आँगनमा खाना खान आउनुप-यो भने ढुंगा टेकेर मात्र आउन पाउँछन् । धारामा नुहाउन पाउँदैनन् । जतिसुकै जाडो होस्, हिउँ परेको होस् तैपनि बिहानै उठेर खोलामा नुहाउन जानैपर्छ । एक बाल्टी पानी तताएर नुहाउन पाउने अधिकार पनि छाउ भएकी महिलालाई हँदैन/छैन । महिनावारी भएपछि खोलामा नुहाउन जाँदा बारीको कान्ला–कान्लाबाट जानुपर्छ किनभने गाउँभरी छरिएर रहेका ढुंगा–मुढा सबैमा देवता बास गर्छन् !
छाउपडीका नियम र व्यवस्था आज पनि आदिम समाजका जस्तै कठोर छन् । सुन्दा दन्त्य–कथाजस्ता लाग्ने यस्ता कथा अछाम, बाजुरा, बझाङ तथा कालीकोटका विकट डाँडाकाँडाहरूमा देख्न र सुन्न पाइन्छ ।
जब–जब हामी महिला समानता र उनीहरूको मानव अधिकारबारे चर्चा गर्छौं तब–तब हामी धर्म एवं संस्कृतिबाट प्रभावित र प्रचलित त्यस्ता प्रथा, परम्परा, रीतिरिवाज अनि संस्कारसँग पनि ठोक्किन पुग्छौँ जसले परिवार र समाजमा महिलाको मर्यादास्तरमा प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । नेपालका विभिन्न समाजमा अहिले पनि महिलाहरू धर्मका नाममा अमानवीय एवं सम्मानहीन प्रथा र परम्पराहरू अँगाल्न बाध्य छन् ।
नेपालको पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी हुने किशोरीले ११ देखि १५ दिनसम्म, अन्य युवतीहरूले पाँचदेखि सात दिनसम्म र विवाहिताले चार दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने हुन्छ । स्थानीय भाषामा महिनावारी हुनुलाई छाउ अथवा छुई भन्ने चलन छ । त्यसरी महिनावारी भएकी महिलालाई घरभन्दा टाढा बनाइएको सानो झुपडी वा गाईवस्तु बाँध्ने गोठमा राख्ने गरिन्छ । त्यसरी राखिएका वा बस्न विवश महिला ‘छाउपडी’ हुन्छन् । छाउपडी गोठको ढाँचा/स्वरूप जिल्ला, गाउँ तथा स्थानअनुसार फरक–फरक हुने गर्छ । छाउ भएको समयमा सार्वजनिक स्थान (धारो, बाटो, विद्यालय, मन्दिर आदि) प्रयोग गर्न नपाउनुका अतिरिक्त कसैलाई नछोइकन अलग्गै बस्नुपर्छ । सरसफाईको अत्यन्त आवश्यक हुने यस बेलामा किशोरी तथा महिलाहरूलाई साबिकको पँधेरो, धारा तथा कुवा छुन दिइँदैन । साथै पोषणयुक्त खाने कुरा (दूध, दही, घ्यू आदि) खान नहुने मान्यता पनि छ । छाउ भएकी महिलालाई घरभित्रको आन्तरिक काम गर्न प्रतिबन्ध छ तर घरबाहिर भारी काम गर्न (घाँस, दाउरा, खेतबारी खन्न, ओखल तथा ढिकी कुट्न) लगाइन्छ । यस अवस्थामा पौष्टिक पदार्थको सेवनलाई वञ्चित गरिएको छ भने कामको बोझलाई कम गर्ने बारेमा केही सोचिएको छैन ।
छाउपडी गोठमा बसेका बेला किशोरी तथा महिलाहरू कोही जाडोका कारण, कोही सर्पले टोकेर तथा कोही धुँवाबाट निस्सासिएर मर्ने गरेका छन् । यसैगरी छाउगोठमा बसेका महिला तथा किशोरीहरू बलात्कृत पनि भएका छन् । एउटा निश्चित उमेरसम्म प्रजननका लागि प्रकृतिले दिएको स्वाभाविक प्रक्रियाका कारण प्रत्येक महिना सुदूरपश्चिमी भेगका लाखौँ किशोरी तथा महिलाको जीवन कष्टकर तथा अस्वस्थ बनेको छ ।
मौन इतिहास, अनुदार धर्म–स्मृतिग्रन्थ
छाउपडी प्रथा नेपालको पश्चिमी समाजमा धेरै अघिदेखि चलिआएको छ । यसलाई समाजको बृहत् जनमतद्वारा स्वीकार गरिएको पनि छ तर यो प्रथा मानवअधिकारको मापन (मापदण्ड) विरुद्ध छ, त्यसैले पनि राज्यले यसलाई कुरीति भनेर घोषणा गरिसकेको छ । पश्चिमका जिल्लाहरूमा छाउपडीलाई गोठमा राख्ने प्रथाको चलन कहिले र कुन जिल्लाबाट सुरु भयो, त्यसको कुनै लिखित दस्तावेज उपलब्ध छैन ।
छाउपडी प्रथाको इतिहास खोतल्ने क्रममा अछाम, रामारोशनका एकजना वरिष्ठ व्यक्तिले छाउ (महिनावारी) को विषयमा शास्त्रमा उल्लेख भएको एउटा श्लोक भट्टाए । रजस्वला अवस्थामा बार्ने समूहका प्रतिनिधिहरूको जनजिब्रोेमा भ्mवाट्ट आउने उक्त श्लोक यस्तो छ– प्रथमेहनि चाण्डाली द्वितीय ब्रह्मघातिनी, तृतीय रजकी प्रोक्तः चतुर्थेहनि शुध्यति । यसको अर्थ हो– महिनावारीको पहिलो दिनकी महिला अति दुष्ट वा त्रूर कर्म गर्ने जातकी चण्डाल्नी झैँ घृणित हुन्छे । त्यसैगरी महिनावारीको दोस्रो दिनकी महिलालाई ब्रह्महत्या गर्ने सरहकी अपराधी भनिएको छ भने तेस्रो दिनमा नुहाएकी रजोवती महिला धोबीनीसरहकी मानिन्छे । चौथो दिन नुवाइधुवाई गरी, चोखो कपडा लगाएर गाईको गहुँत खाएपछि महिनावारी भएकी महिला शुद्ध हुन्छिन् ।
उक्त श्लोक कुन शास्त्रमा लेखिएको छ भन्ने कुराको जानकारी उनले दिन सकेनन् । हुन त उनको घरका महिलाहरूले दश वर्षअघि नै गोठमा बस्न चाहिँ छोडिसकेका रहेछन् । अहिले उनको घरमा महिनावारी हुँदा सुत्नका लागि अलग्गै कोठाको व्यवस्था गरिएको छ । महिनावारी हुँदा चार दिन बार्ने चलनलाई चाहिँ छोड्न सकिँदैन भन्ने जनाउन उनले यो श्लोक भट्टाएर सुनाएका थिए ।
अछाम, बाजुरा, कालीकोट र बझाङका पाका उमेरका अधिकांश महिला तथा पुरुषसँग छाउपडी चलनको विषयमा छलफल गर्दा उनीहरूको जवाफ यस्तो रहेको थियो, ‘यो चलन सत्ययुगदेखि चलिआएको हो,’ ‘पुर्खाले चलाएको चलन हो, हाम्रा बाजेका पालामा पनि थियो, अहिले हामीले पनि छोड्न सकेका छैनौँ ।’
सामान्यतया महिलाविरोधी संस्कार र चलनको विषयमा चर्चा हुनेबित्तिकै मनुस्मृति ग्रन्थलाई लिने गरिन्छ । पौराणिक तथा स्मृति ग्रन्थहरूमा महिनावारीका विषयमा नकारात्मक कुराहरू नै धेरै लेखिएका छन् । जस्तै– सुश्रुत शरीरस्थानमा भनिएको छ– नारी शरीरमा एक प्रकारको रगत एक महिनासम्म जम्मा हुने गर्दछ । जम्मा हुँदै गर्दा त्यो रगत कालो हुँदै जान्छ । त्यसमा कटु गन्ध रहेको हुन्छ । त्यसलाई वायुले नसाहरूको माध्यमबाट योनीको मुखमा पु¥याउँदा त्यो बाहिर निस्कन थाल्छ । यसैलाई रजोदर्शन (महिनावारी) भनिन्छ । यसै आधारमा परीक्षण गर्नेहरूले त्यो दुर्गन्धित रजमा अनेकौं विषालु कीटाणु हुने कुरा ठम्याएका छन् । यस कारणले नै रजोवती नारी अपवित्र र अस्पृश्य मानिएकी छन् ।
प्रयोगपारिजातमा दक्षले महिनावारी हुँदा पालन गर्नुपर्ने नियम यस्तो बताएका छन्– रजोवती नारीले गाजल, उबटन अर्थात् पाउडर आदि लगाउने काम, स्नान, परदेश यात्रा, दाँत माभ्न हुँदैन । ग्रह नक्षत्रको दर्शन पनि गर्न हुन्न । त्यसैगरी ऋषि अत्रिले भनेका छन्– रजस्वला नारीले मह, मासु खान हुन्न, सानो भाँडामा भोजन गर्नुहुन्न । गन्ध–माला, दिनमा शयन, ताम्बूल र मुखशुद्धि जस्ता विषय प्रयोग गर्न हुँदैन । पाकेको माटोको भाँडामा भोजन गर्नुपर्छ, अञ्जुलीद्वारा पानी पिउनुपर्छ, । मदनरत्नमा हारीतले भनेका छन्– भुइँमा सुत्नु, फलाम वा माटोको भाँडामा भोजन गर्नुपर्छ ।
विष्णुधर्ममा भनिएको छ– रजस्वला नारीले रजोधर्मका प्रथम तीन दिनसम्म गाईको दूध, दही घ्यू खान, पुष्प अलंकार धारण गर्न, गाजल लाउन, कपाल कोर्न, गन्धसेवन (परफ्युम लाउन), खाट वा उच्च आसनमा बस्न, सुत्न र आगो छुन हुँदैन ।
पृथ्वीचन्द्रोदयमा उद्धृत ब्रम्हपुराणको भनाइ छ– रजस्वला, पाखण्डी अर्थात् विधर्मी, पँुश्चली अर्थात् वेश्या, पतिता, शुद्रा, बाँझी, विधवा, अन्य गोत्रकी, टेढा कान भएकी, रजस्वला भई चौथो दिनको स्थान गरेकी र आप्ना माता–पिताभन्दा भिन्न गोत्र वा वंशकी नारीहरूबाट पाकक्रिया गराउनु हँदैन ।
जन्मजात पनि नदेखिने, ४५–५० वर्षपछि पनि नहुने, सृष्टिका लागि नभइ नहुने र जीवनको ऊर्जामय कालखण्डमा हुने महिनावारीजस्तो प्राकृतिक अवस्थालाई धर्मशास्त्रले विवादित बनाउने कार्य गरेको छ । धर्मग्रन्थहरूमा महिनावारीको अवस्थालाई लिएर लेखिएका विरोधाभासपूर्ण कुराहरूलाई हेर्दा के भन्न सकिन्छ भने विभिन्न समयमा पुरुषवादी सोच भएका व्यक्तिहरूले महिलालाई बन्धनमा पार्न निम्नस्तरका कुरा धर्मग्रन्थहरूमा थप्दै गएका थिए । यस कुरालाई सनातन धर्मका विज्ञहरू पनि स्वीकार गर्छन् । विज्ञ धर्मवेत्ताहरूका अनुसार सनातन धर्मको मर्मविपरीत महिलाप्रति भेदभावपूर्ण प्रचलनहरूलाई विकसित गर्न स्मृति साहित्य नै जिम्मेवार छन् ।
हिन्दू धर्मशास्त्र तथा ग्रन्थमा महिनावारी अवस्थाका सन्दर्भमा लेखिएका कुराहरूले पनि नेपालको पश्चिमी समाजमा छाउपडी चलनलाई आड दिएको छ । ‘समाजका लागि पुर्खाले बनाएको संस्कार र चलन’ का विरुद्ध जान सक्ने स्तरको चेतनाको विकास अझै त्यस भेगका धेरैजसो मानिसमा आइसकेको देखिँदैन । महिलाहरू मौन भएर छाउपडीको कष्ट झेलिरहेका छन्, अनि परिस्थिति हेरिकन पुरुषहरू महिलाहरूलाई नै उनीहरूको कष्टका लागि जिम्मेवार बनाइरहेका छन् ।
(नोट : नेपालको पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका चारोटा जिल्ला अछाम, बाजुरा, बझाङ तथा कालीकोटमा छाउपडी प्रथाको विषयमा अस्मिता संस्थाको तर्फबाट अञ्जु क्षेत्री तथा ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठीका तर्फबाट डा. अरुणा उप्रेतीबाट गरिएको अध्ययन प्रतिवेदनको आधारमा यो लेख तयार गरिएको हो ।)
प्रतिक्रिया