युवा संघ नेपाल नेपाली युवा आन्दोलनको साझा र नेतृत्वदायी संगठन हो । यसले स्थापनाकालदेखि राष्ट्रियता, अखण्डता र जनजीविकाका सवालमा आन्दोलन गर्दै आएको छ । नेपालको राष्ट्रियता र सार्वभौमसत्ताका निमित्त नेपाली युवाले गरेको बलिदान सदैव युवा संघको आदर्श बनेको छ । नेपालमाथि भएको अंग्रेजको आक्रमण होस् वा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण वा अन्य विदेशी हस्तक्षेप हुन्, ती सबैविरुद्ध नेपाली युवाले डटेर प्रतिरोध गरेको हाम्रो गर्विलो इतिहास साक्षी छ । भौगलिक रूपमा नेपाल दुई ठूला विशाल राष्ट्र चीन र भारतबीचमा रहेको यथार्थ छँदै छ । हामी चीन र भारतलाई छेक्ने पर्खालको रूपमा होइन कि दुईवटैलाई जोड्ने सेतु बन्न चाहन्छौँ र मित्रराष्ट्रबाट पनि त्यसअनुसारको व्यवहारको अपेक्षा गर्दछौँ ।
नेपालले आप्mनो वैदेशिक सम्बन्धको मूल आधारका रूपमा पञ्चशीलको सिद्धान्तलाई लिएको छ । नेपाल र भारतबीचमा महाकाली नदीको उद्गम लिम्पियाधुरा–लिपुलेक सीमा, सुस्ता र अन्य कतिपय सीमा क्षेत्रमा विवाद यथावत् छ । साथै, सुगौली सन्धिको दुई सय वर्ष तथा भारत स्वतन्त्रताको ६८ वर्ष पूरा हुँदा पनि नेपाल–भारतको सीमा सबै क्षेत्रमा प्रस्ट पार्नुको सट्टा भारतले नेपालको विभिन्न भू–भागमा समय–समयमा सीमा अतिक्रमण गरेको छ ।
छिमेकी मित्रराष्ट्र चीनसँग नगन्य मात्रामा सीमा विवाद (सीमा टुंग्याउन बाँकी) रहे पनि पछिल्लो समय चीनको व्यवहारले नेपाली जनतालाई दुःखी बनाएको छ । २०१५ मे १५ (२०७२ जेठ) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा अध्ययन गर्ने गरी दुई देश (चीन र भारत) बीच सम्झौता भएको कुराले हामी नेपाली युवालाई गम्भीर र दुःखी बनाएको छ । असल छिमेकी र परम्परागत दौत्य सम्बन्ध भएका मित्र राष्ट्र चीन र भारतले नेपाल सरकारको कुनै पनि सरोकार नलिई गरेको सम्झौताप्रति सम्र्पुूा देशभक्त नेपालीका तर्फबाट युवा संघ नेपाल आपत्ति प्रकट गर्दै यस सम्झौतामा असहमति जाहेर गर्नुका साथै सम्झौतालाई सच्याउन सम्बन्धित पक्षलाई आह्वान गर्दछ ।
नेपाल राष्ट्रमाथि बलपूर्वक थोपरिएको सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी हो र महाकालीको उद्गम दार्चुलाको उत्तर पश्चिमस्थित लिम्पियाधुरा कुटियाङ्सी हो भन्ने विभिन्न ऐतिहासिक तथ्य तथ्यांकले स्पष्ट पार्दछन् । तर, भारतीय पक्षबाट सन् १९६२ देखि लिम्पियाधुराभन्दा धेरै पूर्व लिपुलेकबाट बग्ने लिपुपास खोलासम्म अतिक्रमण गरेको र हाल लिपुखोला पूर्व कालापानीमा सानो पानीपोखरी बनाई पोखरीबाट निस्केको मानवनिर्मित कुलो नै महाकाली नदीको उद्गम हो भनी थप अतिक्रमण गरेको छ ।
महाकाली नदीको उद्गम नदीको सीमा हैसियत सम्बन्धमा महाकाली सन्धिका बेलासमेत नेपाल सरकार र संसद्ले अध्ययन गरेको तथा भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा यो क्षेत्रसमेत लगायतको सीमाविवाद अन्त्य (समाधान) गर्ने सहमति भएको थियो । साथै, पश्चिम उत्तरको सीमाबिन्दु नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दुसमेत भएकाले तीनवटै पक्षद्वारा निर्धारित नभएको क्षेत्रमा चीन र भारतले दुईपक्षीय सम्झौता गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत छ । नेपालको संक्रमणकालीन राजनीतिक फाइदा उठाउने उद्देश्यले भएको सम्झौताका विषयमा नेपाल सरकारका तर्फबाट कुनै विरोध नजनाउनु र कुटनीतिक पहल नगर्नु खेदजन्य छ । यो घटनालाई नेपालको सार्वभौमसत्तामाथि दुई देशले गरेको नांगो हस्तक्षेपका रूपमा लिएको छ, युवा संघले ।
हामी युवा संघमा आबद्ध युवाहरू नेपालीको पहिचान ‘जाइ नलाग्ने र आइलाग्नेलाई नछाड्ने’ रहेको कुरा सम्बन्धित पक्षलाई एकपटक स्मरण गराउन चाहन्छौँ । नेपाली भूमिमाथि हुने अतिक्रमणका सम्बन्धमा देशभक्त स्वाभिमानी जनता र नेपाली युवाको धैर्यताको बाँध फुट्न सक्छ । हामी विश्वास गर्दछौँ– यस्तो परिस्थिति आउनेछैन ।
हाम्रो भूमिमा यस्तै हस्तक्षेप भइरहने हो भने त्यसले निम्त्याउने परिस्थितिले मित्रराष्ट्र चीन र भारतलाई पनि हित नहुने कुरा सजग गराउँदछौँ । नेपालमा केही शक्ति र व्यक्तिले एक चीन र एक भारत नीति नेपाली जनता र सरकारले किन मानिरहने भनेर बहस गरेका सन्दर्भमा चीन र भारतको यो व्यवहारले त्यस्ता शक्तिलाई बल पुग्ने अवस्था नआओस् भन्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।
नेपाल सरकारका तर्फबाट देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता तथा स्वाभिमान रक्षाका लागि ठोस् पहल गर्न तथा आवश्यक परे दुई पक्षीय, त्रिपक्षीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बहस चलाई नेपालको भूमि सुरक्षा गर्न जोडदार माग गर्दछौँ । यो विषय राष्ट्रहितमा समाधान भएन भने हाम्रो राष्ट्रियता र अखण्डता जोगाउनु आम नेपाली देशभक्त युवाको कर्तव्य सम्झी कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिन चाहन्छौँ ।
(कुराकानीमा आधारित)
(पन्त युवा संघ नेपालका उपाध्यक्ष तथा राजनीतिक सांगठनिक तथा वैचारिक रूपान्तरण अभियानका संयोजक हुन् ।)
प्रतिक्रिया