गोरखाका उत्तरी क्षेत्रमा खाद्यान्नको चिन्ता

gorkhaगोरखाबजार, १३ असार । तिब्बतसँग सिमाना जोडिएको छेकम्पार र सामागाउँ गाविसस्थित सिमानाको नाका नखुल्दा भूकम्पपीडितले खाद्यान्नलगायतका सामग्री ल्याउन नपाएको गुनासो गरेका छन् ।

तिब्बतको सीमा खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला दैवी प्रकोप उद्धार समितिले परराष्ट्र मन्त्रालयलाई लिखित पत्र पठाएको थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सीनाले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई तथा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङलाई भेटेर तिब्बती नाका खुलाउनका लागी पहल गरिदिन आग्रह गरेका थिए ।

‘नाका खुल्दै खुलेन’, छेकम्पार गाविसका निमा लामाले भने,‘पैसा भए पनि बजार नहुँदा भूकम्पपीडितले किनेर खान पाएका छैनन् ।’ खाद्यान्नलगायतका सामग्री सकिएपछि छेकम्पार क्षेत्रमा रहेका पसल डेढ महिनादेखि बन्द छन् ।

भूकम्पपीडित राहत सामग्रीको भर पर्नुपर्ने बाध्यता छ ।‘दुर्गममा सरकारले आवश्यक राहत सामग्री ढुवानी गर्न सकेको छैन’, लामाले भने, ‘खच्चड हिँड्ने बाटो पहिरोले अवरुद्ध छ ।’ गाउँलेहरु एक गाउँबाट अर्कोमा जान सकेका छैनन् ।

पहिरोले बाटो अवरुद्ध भएपछि सदरमुकामा आवागमनमा समस्या भएको छ । छेकम्पार र सामागाउँबाट एक दिनको दूरीमा तिब्बती बजार पुगिन्छ ।

‘अहिले नाका पुग्ने बाटोमा हिउँ छ’, लामाले भने, ‘एक दिनको बाटो तीन दिन हिँडेपछि मात्रै पुगिन्छ ।’ छेकम्पार, सामागाउँका स्थानीय व्यापारी घोडा चढेर तिब्बती बजार आवातजावत गर्थे ।

चौँरीले सामान ढुवानी गर्छ । हिउँको बाटो भएर खच्चड हिँड्न सक्दैन । जिल्ला दैवी प्रकोप उद्धार समितिले खाद्यान्नलगायत सामग्री हेलिकप्टरबाट ढुवानी गरेर उत्तरी गाविस पुर्‍याएको छ ।
तिब्बतको बजार खुलेपछि सिर्दिवास, बिही, ल्हो, प्रोक, चुम्चेत, छेकम्पार र सामागाउँ क्षेत्रका भूकम्पपीडित प्रत्यक्ष लाभान्वित हुन्छन् ।

तीन महिनाका लागि खाद्यान्न भण्डारण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले सरकारसँग २०० पटक उडाउनका लागि एमआई १७ हेलिकप्टर माग गरेको छ ।
खाद्यान्न सङ्कटको चिन्ता भएकाले भूकम्प गएलगत्तै तिब्बती नाका खुलाउने प्रयास गरिएको थियो । परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावास हुँदै नाका खुलाउन प्रयास गरेको भए पनि अझै खुल्न नसकेको तिमल्सेनाले बताए ।

प्रतिक्रिया