एउटा दाता सम्मेलन भयो र अरू पनि हुनेछन् । यो महाभूकम्पका कारण नेपाल न जापान बन्ने भयो न त गुजरात ! हाइटी पनि बन्दैन ! ग्रिस बन्छ कि भन्ने ठूलो खतरा छ ! नेतृत्वमा दूरदृष्टिको खडेरी परेको समयमा पाएसम्म जति पनि ऋण लिने प्रवृत्ति खतरनाक देखिएको छ !
नेपालले प्रस्ट भन्न सक्नुपर्छ :
१. हामीलाई ऋण चाहिँदैन । हामीसँग ऋण तिर्न सक्ने परिस्थिति छैन । एक खर्ब ऋणको सट्टा बरु २० अर्ब सहयोग गर्नुहोस् । भविष्यमा ऋण तिर्न नसकेर राष्ट्र नै अरूको बन्धक बन्ने वा ऋणले टाट पल्टिएर समस्याग्रस्त देशलाई अरू देशले जिम्मा लिनुपर्ने स्थिति आउने ठूलो खतरा छ । यसै त हामी सबैको टाउकोमा प्रतिव्यक्ति झन्डै २० हजार रुपैयाँ ऋण बोकेका छौँ ।
२. हामीलाई आफूले ९० प्रतिशत प्रशासनिक खर्च गर्ने बाँकी १० प्रतिशत सहयोगको कनिका छरेर अर्बाैं सहयोग गरेको प्रचार गर्ने टाइपको सहयोग चाहिँदैन ।
३. हामीलाई कुहिएर डल्लो परेका चामल अनि दाल चाहिँदैन । बरु गिठ्ठा र भ्याकुर खाएर स्वस्थ बन्छौँ तर अखाद्य पदार्थको प्रवेश निषेध छ ।
४. हाम्रो विश्वास लाग्दैन भने ‘शंकाको सुविधा’ दिन्छौँ । हामीलाई एक रुपैयाँ चाहिँदैन, हाम्रो नियम कानुनभित्र रहेर आफैँले ध्वस्त संरचना निर्माण गर्नुहोस्, सरकारले उचित वातावरण प्रदान गर्नेछ ।
५. हामीलाई यति दिन्छौँ, यो गर्छौं भनेर आश्वासन नदिनुहोस् । बोलेको वचन पूरा गर्नुहोस् । वचनको तौल छैन भने नबोल्नुहोस् ।
६. सहयोगको नाममा राष्ट्रिय स्वाभिमान, एकता, धार्मिक, जातीय, वैचारिक र साम्प्रदायिक चेस नखेल्नुहोला । जसले यो निकृष्ट खेल खेल्छ, त्यो ब्ल्याक लिस्टमा पर्नेछ ।
७. यहाँहरूले सहयोग गर्ने ठोस योजना र निश्चित अवधिभित्र काम सम्पन्न नगरेमा म्याद थप नहुन सक्छ । सियो बनेर छिर्ने अनि हात्ती बनेर बस्न पाइनेछैन ।
८. हामीले एक रुपैयाँ दुरुपयोग, भ्रष्टाचार र लोभ गरेको प्रमाणित भएमा हामी हेगमा उभिन त के फाँसी चढ्न र चढाउन प्रतिबद्ध छौँ । यो विपत्मा हामी सहयोगको दुरुपयोग गरेर नर्कको बाटो जानेछैनौँ ।
प्रतिक्रिया