दुर्घटनामा अस्ताए टाइटानिक संगीतकार

Jamesलसएञ्जल्स । हलिउडको चर्चित फिल्म ‘टाइटानिक’बाट संगीत विधामा ओस्कार अवार्ड जितेका संगीतकार जेम्स हर्नरको ६१ वर्षको उमेरमा प्लेन दुर्घटनामा निधन भएको छ । तालिम प्राप्त पाइलटसमेत रहेका उनी सानो निजी विमानमा एक्लै यात्रारत अवस्थामा क्यालिफोर्नियाको उत्तरी सान्ता बारबरामा सोमबार बिहान दुर्घटनामा परेका हुन् । उनी चर्चित फिल्म ‘अवतार’ का पनि संगीतकार हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले जेम्स क्यामरुनको ‘ए ब्युटिफुल माइन्ड’, ‘ब्रेभ हर्ट’ र ‘ट्रोय एन्ड अपोलो १३’ मा पनि काम गरेका थिए । उनले ‘टाइटानिक’ का लागि संगीतकारसँगै अर्को एक गीतका लागि पनि अवार्ड जितेका थिए । उनले सेलिनी डिओनले गाएको ‘माइ हर्ट विल गो अन’ गीतका लािग गीतकार विल जेनिन्ससँग संयुक्त रूपमा ओस्कार अवार्ड पाएका थिए ।
गायिका डियानले एक विज्ञप्ति जारी गर्दै संगीतकारको दुःखद् निधनले आफू स्तब्ध भएको जनाएकी छन् । ‘उनी हाम्रो हृदयमा सधैँ उत्कृष्ट संगीतकारका रूपमा बसिरहनेछन्, मेरो करियरमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए, हामी उनलाई सधैँ मिस गर्नेछौँ, हामी उनको परिवार र साथीभाइमाझ गहिरो समवेदना व्यक्त गर्दछौँ,’ उनले भनेकी छन् ।
हर्नर फिल्म ‘अवतार’, ‘हाउस अफ सेन्ड एन्ड फग’, ‘ए ब्युटिफुल माइन्ड’, ‘अपोलो १३’, ‘ब्रेभहर्ट’, ‘फिल्ड अफ ड्रिम्स’, ‘एन अमेरिकन ट्रेल’ र एलियन्स’ का लागि ओस्कारको मनोनयनमा परेका थिए । ‘दर्शकले हृदयबाट फिल्मको भावलाई बुझ्न सकून् भन्ने म काम गर्दछु,’ सन् २००९ मा लसएञ्जल्स टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘जब हामी पात्र गुमाउँछौँ, जब कोही जित्छ, कोही हार्छ, कोही हराउँछ, यो बेला दर्शकमा कस्तो किसिमको भाव दिनुपर्छ भन्ने कुरामा मेरो प्राथमिकता हुन्छ ।’
हर्नरका निजी सहायक सिल्भीया पेट्रिजाले फेसबुकमा हर्नरको निधनको पुष्टि गर्दै आफूहरूले ठूला हृदयका व्यक्ति गुमाएको उल्लेख गरेकी छन् । ‘एउटा आश्चर्यजनक व्यक्ति र अविश्वसनीय प्रतिभा भएका व्यक्तिलाई गुमाएका छौँ, उनी जुन कुरालाई माया गर्थे, त्यही कुराबाट अस्ताए, उनीप्रति श्रद्धाञ्जली दिनेहरूप्रति धन्यवाद व्यक्त गर्दछु,’ सिल्भीयाले फेसबुकमा पोस्ट गरेकी छन् ।
सन् १९५३ मा जन्मिएका हर्नरले पाँच वर्षको उमेरमा पियानो बजाउन थालेका थिए र संगीत पढ्नका लागि लन्डनको रोयल कलेज अफ म्युजिकमा अध्ययनका लागि गएका थिए । यहाँ पढेपछि उनी सन् ७० को दशकमा क्यालिफोर्नियातिर मोडिए । उनी संगीतको सैद्धान्तिक र सिर्जनामाा ब्याचलर, मास्टर्स र पीएचडीसम्म गरेका छन् । उनले सन् १९८२ मा ‘स्टार ट्रेक २ः द रेथ अफ खान’ बाट संगीतकारका रूपमा डेब्यु गरे । यो फिल्मपछि उनले प्रसिद्ध निर्देशकहरू जर्ज लुकास, स्टेभेन स्पिलबर्ग, जेम्स क्यामरुन, रोन होवार्ड र आलिभर स्टोनसँग काम गर्ने मौका पाएका थिए ।

प्रतिक्रिया