दुई वर्ष जतिअगाडि हो क्यारे ! नेपाल र भारतबीच अन्डर–१४ को फुटबल खेल दशरथ रंगशालामा हुन लागेको थियो । खेल हुने अघिल्लो दिन एउटा कामको सिलसिलामा अनिल शाहसँग भेट हुँदा उहाँले सोध्नुभयो, ‘भोलि म्याच हेर्न जाने हो ?’ उहाँको प्रश्न सुनेर मलाई के भन्नु–भन्नु भयो । त्यसभन्दा अगाडि मैले कहिल्यै दशरथ रंगशालामा गएर प्रत्यक्ष खेल हेर्ने मौका पाएको थिइनँ । मलाई फुटबल खेल मनपर्छ र त्यसमाथि आफ्नो देशको खेल भएकाले मलाई जान मन लाग्यो । तर, फेरि डर पनि लाग्यो– ह्वीलचियर जान्छ कि जाँदैन, भीड कतिको हुने हो, भन्ने । मैले अनिल सरलाई त्यही कुरा भनेँ ।
उहाँले भन्नुभयो, ‘अब खेल नै ग्राउन्डमा खेल्ने भएपछि ह्वीलचियर त गइहाल्छ नि । त्यसमाथि म एकजना एन्फाको मान्छेलाई भन्दिन्छु, उहाँले सहयोग गर्नुहुन्छ ।’ यति भनेर उहाँले ललित श्रेष्ठको नम्बर दिनुभयो र भन्नुभयो, ‘उहाँलाई जानुभन्दा अगाडि कल गर्नु भोलि ।’ मैले मोबाइलमा ललित श्रेष्ठ एन्फा भनेर नम्बर सेभ गरेँ अनि बिदा भएँ ।
भोलिपल्ट मैले घरबाट निस्कनुभन्दा अगाडि ललितजीलाई फोन गरे र भनेँ, ‘मलाई अनिल सरले फोन गर्न लाउनुभएको ।’
उहाँले सोध्नुभयो, ‘तपाई ह्वीलचियरमा होइन ?’
मैले ‘हो’ भनेँ । त्यसपछि उहाँले भन्नुभयो, ‘रंगशालाको गेटअगाडि आएर मलाई फोन गर्नुहोला है ।’
उहाँसँग त्यति कुरा भएपछि म रंगशालातिर लागेँ । त्यहाँ पुग्दा एकदमै भिड थियो । म त मान्छे देखेरै आँत्तिए । मैले फेरि ललितजीलाई फोन गरेँ । उहाँ मलाई लिन बाहिरै आइपुग्नुभयो । अनि नेपाली अफिसियल बस्ने ठाउँकै छेउमा बस्ने व्यवस्था मिलाएर बिदा हुनुभयो ।
खेल हेरियो । दुर्भाग्य, त्यो दिन हामीले खेल हा¥यौं । सबैजना निराश भइयो । खेल सकिएर घर जाने बेलामा मैले ललितजीलाई फेरि भेटँे र बिदा मागेँ । उहाँ पनि निराश हुनुहुन्थ्यो । उहाले भन्नुभयो, ‘हुन्छ भाइ, अब यसपाली खेल यस्तै भइहाल्यो ।’ मैले उहाँसँग हात मिलाए र बिदा भएँ ।
मलाई ललितजी एन्फाको के पदमा हुनुहुन्छ भन्नेबारे केही थाहा थिएन । पछि एन्फामा भ्रष्टाचार काण्डको कुरा आएपछि ललितजी कार्यबाहक अध्यक्ष हुनुभयो भन्ने समाचार पढेँ । त्यो बेला पो मलाई लाग्यो– ए, निकै ठूलो मान्छे हुनुहुँदो रहेछ । उच्च पदका बाबजुद पनि त्यो बेला मलाई जसरी उदार भएर सहयोग गर्नुभयो, त्यो सम्झेर खुशी नै लाग्यो ।
ललित श्रेष्ठसँग भेटेको र बोलेको जम्मा त्यति नै हो । तर पनि अचानक उहाँको मृत्युको खबर सुन्दा अर्कै किसिमको नराम्रो लाग्यो । दिनभर नै त्यो दुई वर्षअगाडि उहाँसँग दशरथ रंगशालाको गेटबाट मैदानमा पुगुन्जेल लगभग दुई मिनेट कुराकानी गरेको दृश्य दिमागमा आइरह्यो ।
एक वर्षअगाडि मोबाइल परिवर्तन गर्ने हुँदा मैले सेभ गरेका धेरैवटा नम्बर गुमेका थिए । आज ललितजीको मृत्युको खबर सुनेपछि मैले मेरो मोबाइलमा ‘ललित श्रेष्ठ एन्फा’ भनेर सर्च गरेँ । भेटिएन । सायद त्यही बेला डिलिट भयो होला ।
एक वर्षअगाडि मेरो मोबाइलबाट ललितजीको नम्बर हरायो । आज यो संसारबाट ललितजी आफैँ हराउनुभयो । तर उहाँसँग बिताएको त्यो एक समय मेरो दिमागबाट कहिल्यै हराउनेछैन ।
अलबिदा ललितजी !
प्रतिक्रिया