आयुर्वेद अस्पताल स्तरोन्नति हुने

बुटवल, ७ असार । बुटवल–१३ देवीनगरस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयको स्तरोन्नति हुने भएको छ । अञ्चल स्तरीय अस्पताल भए पनि यसको सञचालनका लागि चाहिने कुनै पनि पूर्वाधार नहुँदा विगतदेखि विभिन्न समस्याहरू रहेका थिए । भौतिक पूर्वाधार, दक्ष जनशक्ति र साधनस्रोतको अभाव यसका मुख्य समस्याहरू हुन् । यसबाहेक यो अस्पताल सञ्चालनका लागि चाहिने व्यवस्थापन समिति र राज्यको सकारात्मक दृष्टिकोणको अभावलगायत असंख्य समस्याहरू रहेका छन् ।

सो अञ्चल औषधालयको दुई सामान्य किसिमका कार्यालय भवन भए पनि यहाँ चिकित्सक, औषधी र बिरामीको पनि अभाव छ । निःशुल्क बहिरंग सेवा मात्र प्रदान गर्दै आइरहेको औषधालयका अनुसार निकट भविष्यमै १५ शैयासहित अन्तरंग सेवा पनि सञचालन गरिनेछ । आयुर्वेद चिकित्सा पद्धतिअनुरूप जनतालाई सेवा पु¥याउने उद्देश्यले ०२९ सालमा पाल्पाको रामपुरमा स्थिापित सो आयुर्वेद औषधालय वि.सं २०४३ सालमा बुटवलमा सारिएको हो ।
पुरानो भए पनि यो औषधालय उद्देश्यअनुरूप सञ्चालन हुन सकिरहेको छैन । यद्यपि यसले सीमित जनशक्ति र न्यून स्रोतसाधनको प्रयोग गरी निःशुल्क रूपमा स्वास्थ्य परीक्षण र औषधी उपचार गर्दै आइरहेको छ । दैनिक १५–२० जनाले मात्र यस औषधालयबाट सेवा लिने गरेको निमित्त कार्यालय प्रमुख चेतनाथ आचार्य बताउँछन् । आचार्यका अनुसार पछिल्लो समयमा योग तथा आयुर्वेद चिकित्साप्रति मानिसहरूको रुचि बढ्दै गएको देखिए पनि सहभागिता संख्या भने सन्तोषजनक छैन । यहाँ वार्षिक १७ हजार बिरामीको सेवा गरिएको आचार्यको भनाइ छ ।
आयुर्वेद चिकित्सा पद्धतितर्फ बिरामीहरूको आकर्षण बढाउन सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयासहरू भइरहेको भए पनि यसले साकार रूप लिन नसकेकोमा सम्बन्धित क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सो औषधालयले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागी वक्ताहरूले संसारभर बढ्दै गैरहेको आयुर्वेद चिकित्साको महत्वलाई नेपालले पर्याप्त मात्रामा सदुपयोग गर्न नसकेको गुनासो गरेका छन् । औषधालयको स्तरवृद्धि र उन्नतिका लागि सर्वेक्षण गर्ने र सम्भावनाको खोजी गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा सहभागीहरूले जडिबुटीको भण्डारका रूपमा रहेको नेपालमा आयुर्वेद चिकित्साको राम्रो सम्भावना रहेको तर्क प्रस्तुत गरेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि आयुर्वेद विभागका आयुर्वेद विज्ञ वासुदेवप्रसाद उपाध्यायले बुटवलको अञ्चल आयुर्वेद औषधालयको स्तरोन्नतिका साथैै १५ शैयाको आधुनिक, सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने योजना रहेको बताए । सरकारको यो योजना सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै उपाध्यायले आ–आफ्नो ठाउँबाट सक्दो भूमिका खेल्न सबैलाई आग्रह पनि गरे ।
विभागका उपसचिव बाबुराम खनालले हाल बहिरंग सेवामात्र प्रदान भइरहेको सो औषधालयमा स्तरोन्नतिपछि अन्तरंग सेवा पनि प्रदान गरिने बताए । अर्का उपसचिव कृष्णप्रसाद गौतमले यहाँ योगाभ्यास, अक्युपंचर, होमियोप्याथी, सर्जरी, ल्याब, अल्ट्रासाउन्डलगायत आधुनिक सेवा थपिने बताए ।

प्रतिक्रिया