‘निशा कम बोल्छिन् र लजालु पनि छिन्’

निशा महर्जन, प्रमुख (मेट्रो), अल्का हस्पिटल

निशा महर्जन, प्रमुख (मेट्रो), अल्का हस्पिटल

दर्शनका ज्ञाताहरू भन्छन्, ‘जीवन संघर्ष हो ।’ अझैं कतिपयले त जीवनलाई जस्तै परिवेशमा पनि ढल्ने एउटा माध्यम ठान्छन् । उनीहरू जीवनलाई हार मान्दैनन्, खुट्टा कमाउन हुन्न भन्छन्, अनी जीवनलाई संघर्षमै सामेल गराउन प्रेरित गरेका हुन्छन् ।

जीवनलाई साँच्चै जीवन जस्तै बनाउन सुझाउनेहरूको कमी छैन हाम्रो जीवनमा । तर, त्यही जीवनमा कतिपयले उपहार पाएका हुन्छन् भने त्यही जीवनमा तीतो हन्डर भोगेकाको पनि कमी हुँदैन हाम्रो समाजमा । यस्तो परिस्थितिमा कतिपयको जीवन शिखर उक्लिन्छ भने कसैको रसातलमै पुगेर दुर्घटित हुन्छ ।

जसले जीवनका तीता हन्डरलाई समेत अवसर ठान्छन् उनीहरू प्रगतिको उकालो उक्लिन्छ । जसले भाग्यलाई आरोपित गरेर मन दुखाइरहन्छ, कि त्यो निष्क्रिय भएर सकिन्छ या कुकर्मको बाटो समातेर आफैंमा विष्फोटन भइ समापन हुन्छ । यस्तैमा कीर्तिपुर नयाँ बजारमा चार जना दिदीबहिनी मध्ये जेठी छोरीको रूपमा निशा महर्जनको जन्म भयो ।

जन्मेदेखि नै आफ्नो परिवारका तीता पलहरू भोगेर हुर्केकी महर्जन आफू थाहा पाउने भएदेखि नै उनले आफ्नै हजुरबुवाको अपमान खेपेका बुबाआमाको जीवनका तीता अनुभवलाई महसुस गरेकी थिइन् । त्यही बेलादेखि मुठी दह्रो पारेर जीवनमा केही बनी छाड्छु भन्ने संकल्प गरिन् । हजुरबुवाको हेला, अपमान र तिरस्कारले उनको बालमस्तिष्क बिथोलिदिएको थियो ।

आफ्नै परिवारको अघि ठडिएको दुःखको अग्लो पहाडैमुनि बसेर सपना देखिन् उनले । अनि, जीवनमा केही बनी छाड्ने अठोट लिइन् । परिवारका दुर्भाग्य र दुर्दिनलाई सौभाग्य र सुदिनमा परिणत गरी छाड्न अठोट लिइन् निशाले । तिनै दुःखका डरलाग्दा दिनहरू सम्झँदै उनी भन्छिन्, ‘पुर्खाहरू सम्पन्न भए पनि हजुरबुवाको कुदृष्टिले हाम्रो बाल्यकाल आर्थिक रूपमा अत्यन्त जर्जर थियो’ ।

एकछिन भावुक हुँदै उनले बोलिन्, ‘त्यही दुःखले मलाई ऊर्जा थपिदियो । आफ्नो पीडा सम्झँदै पढाइमा निकै मेहनत गरेँ ।’ बच्चैदेखि पढाइमा अब्बल उनले ०५४ सालमा कडा प्रतिस्पर्धाबीच महाराजगञ्ज नर्सिङ कलेजको परीक्षा उत्तीर्ण गरिन् । नर्सिङमा नाम निस्किएको दिन उनलाई संसार जितेझैँ भयो ।

जीवनमा पहिलोपल्ट सपना विपनामै बदलिएको उनले महसुस गरिन् र संसार आफ्नै पञ्जामा कैद भए झैँ ठानिन् । अनि त्यसपछि नर्सिङलाई जीवनशैली बनाउने संकल्प गरिन् उनले । बुबाआमाले दुःख पाएको देख्दा ‘केही बनी छाड्छु’ भनेर गरेकी अठोट पूरा हुन लागेको महसुस गरिन् ।

सुरुमै परिवारमा भोगेका अपमानले गर्दा होला कसैले मीठो बोलिदिएको उनलाई औधी मन पथ्र्यो । मनको कुनामा कसैले मीठो बोलेको सुनिरहने उनको इच्छा एक दिन अकस्मात पूरा भए । बिरामी माइजुलाई भेट्न जाँदा नर्सले बोलेको मीठो बोली उनको सपना भयो । त्यहीबेलादेखि जीवनमा उनले नर्स नै बन्छु भनेर अठोट गरेकी थिइन् ।

आफ्नो पेसामा प्रति उत्साहित हुँदै उनले भनिन्, ‘पूर्ण सन्तुष्ट छु पेसा प्रति ।’ बाल्यकालमा परिवारलाई सुखी बनाउने जब्बर अठोट गरेकी उनले आफू बुबाआमाकी असल छोरी भइछाडेको जिकिर गरिन् । यसोभन्दा गर्वले उनका आँखा चम्किए ।

उनी भन्छिन्, ‘नर्सको त्यही बोलीले मलाई नर्सिङमा आकर्षित गर्‍यो ।’ तीन वर्षको नर्सिङ पढाइपश्चात् उनी व्यावहारिक रूपमै एउटी नर्सको जीवन जीउन थालिन् । आफ्नो पूर्ण लगन नर्सिङमै लगाइन् । आफ्ना पसिना नर्सिङमै पोखिन् । जिउनेशैली नै बनाइन् उनले नर्सिङलाई । आफ्नो पेसाप्रतिको समर्पणले होला उनी भन्छिन्, ‘पेसा कम र सेवा बढी हो नर्सिङ’ ।

खुसी हुन कुनै ठूलो कारण चाहिँदैन रे उनलाई । आफू समर्पित भई स्वस्थ बनाई पठाएका बिरामीहरूका आदर र सम्मान भरिएका नजर देख्दा उनी असाध्यै फुर्किन्छिन् । बिरामीले थलिएर मलिन अनुहार बनाउँदै हस्पिटल आएको बिरामी जब निको भएर रमाउँदै घर फर्कन्छ उनलाई त्यस दृश्यले निक्कै दिन छोइरहन्छ । जब पूर्ण स्वस्थ भएर फर्किनेहरूले आशीर्वाद दिँदै जान्छन्, त्यसबेला उनी खुसीको कुनै सीमा नै भेट्दिनन्, त्यसै खुुुसी भइरहन्छिन् । त्यहीबेला उनलाई आफ्नो जीवन सार्थक भएको भान हुन्छ ।

‘म त्यसबेलाको आफ्नो खुसी वर्णन गर्नै सक्दिनँ’ उनी भन्छिन् । ६ वर्षदेखि कार्यरत अल्का हस्पिटलको गेस्ट रुममा उनले भनिन्, ‘निको भएका बिरामीहरूको आशीर्वाद नै मेरो सर्वस्व हो ।’ सेवा गर्नु नै आफ्नो कर्तव्य ठान्ने निशालाई एप्रोन लगाएर बिरामीको सेवामा खटिँदा नसानसामा ऊर्जा भरिएको वोध हुन्छ रे ।

त्यही एकनिष्ठ सेवाभावले गर्दा यसपालीको महाविनासकारी भूकम्पबाट घाइतेहरूको सेवामा पनि भोक, तिर्खा, दिनरात नभनी उनी खटिएकी थिइन् । हस्पिटलको कम्पाउन्डमै राखिएका बिरामीको वरपर छुनुमुनु गरिरहिन् । कतिलाई नयाँ जीवन दिएर फर्काइसकिन् भने अझैँ कति भूकम्पपीडितको सेवामै उनी जुटिरहेकी छिन् ।

अल्का हस्पिटलमा नर्सहरूकी प्रमुख (मेट्रो) निशा कम बोल्छिन् र लजालु पनि छिन् । प्रेम प्रसंगमा सोधिएको प्रश्नमा लजाउँदै आफ्नो प्रेम विवाह भएको बताउँछिन् । प्रेम भनेको दुई बीचको सद्भावना ठान्ने निशा मेडिकल क्षेत्रमै कार्यरत पंकज मास्केको प्रेममा बाँधिइन् ।

भलाद्मी, मृदुभाषी र अरूका दुःखलाई आफ्नै ठान्ने निशाले पेस गरेका सर्टिफिकेट हेरेर पंकजले फोन गर्न थाले । लगातार दुई वर्ष फोन, भेटघाट हुँदै उनीहरूको प्रेम विवाहमा परिणत भयो । हाल उनीहरूको एउटा छोरा पनि छ । आफ्नो परिवार उनलाई मुटुको टुक्रा जस्तै लाग्छ । विवाहअघि देखेका रुमानि सपनाहरू पूरा भएकोमा उनी उत्पात खुसी छिन् ।

आफ्नो श्रीमान् निक्कै प्यारो र आदरणीय लाग्छ उनलाई । ‘उहाँले मैले सोचेभन्दा बढी प्रेम गर्नुहुन्छ’, केही लजाउँदै उनी भन्छिन्, ‘सुखी परिवार पाउन मेरो अहोभाग्य हो ।’ दुवैजना काममा व्यस्त हुनुपरेकाले छोरालाई पर्याप्त समय दिन नपाएकोमा चाहिँ उनी दुःख मनाउ गर्छिन् । तैपनि, हप्ताका एक दिन शनिबारचाहिँ निशाका दम्पत्ती आफ्नै छोरासँग समय बिताउँछन् ।

आफू नर्सिङमा छिर्दाको समयभन्दा नर्सहरूलाई हेर्ने समाजको दृष्टि परिवर्तन भएको ठान्ने निशा यदाकदा व्यावसायिकताको नाममा नर्सिङ नाफा कुम्ल्याउने मेलो बनेको सुुन्दा दुःखी हुन्छिन् । ‘यो पेसालाई बदनाम गर्नेहरू पनि यही क्षेत्रमा छन्’ उनी भन्छिन् ।

बिरामीहरूले आफ्नो गोपनियताको जिम्मा सुम्पिएकाले नर्सहरूले उनीहरूको अनुभूतिलाई आफ्नै ठान्नुपर्ने उनको तर्क छ । नेपालका नर्सहरूमा कहिलेकाहीँ यथेष्ट संवेदनशीलताको अभाव देखिने गरेको स्विकार्छिन उनी । जीवनमा नेपालमै बसेर बिरामीहरूको सेवा गर्ने भाव छ उनमा ।

आफ्नो पेसामा प्रति उत्साहित हुँदै उनले भनिन्, ‘पूर्ण सन्तुष्ट छु पेसा प्रति ।’ बाल्यकालमा परिवारलाई सुखी बनाउने जब्बर अठोट गरेकी उनले आफू बुबाआमाकी असल छोरी भइछाडेको जिकिर गरिन् । यसोभन्दा गर्वले उनका आँखा चम्किए । असल छोरीको गर्वानुभूतिले होला उनको मुहारमा खुसी रहरलाग्दो गरी फूलिरहेको देखिन्थ्यो ।

– मनोज खतिवडा

प्रतिक्रिया