उज्ज्वल भविष्यका लागि योग मन्दिर

childमानिसलाई स्वस्थ, निरोगी र कर्मशील बनाइराख्न प्रयासरत पूर्वेली परम्परामा आधारित संस्था हो, श्री अरविन्द योग मन्दिर । त्यसो त यो एक गैरनाफामुखी संस्था भए तापनि यसले शारीरिक स्वस्थताका साथै नैतिक मूल्य एवं मान्यताहरूको शिक्षादीक्षा पनि प्रदान गर्दछ । महर्षि श्री अरविन्द र माताजीको आदर्श जीवन पद्धति अनि उनीहरूको सिद्धान्तमा आधारित यो संस्था वि.सं. २०५० साल वैशाख ११ गतेदेखि सञ्चालित छ । यसका संस्थापक स्वामी रामचन्द्रदास (चन्द्रमणी भुषाल) हुन् ।

मुलुकका कतिपय स्थानमा केही दशक अगाडिसम्म शिक्षाको त्यति विकास भएको थिएन । गाउँका बालकालिकाले पढ्न पाएका थिएनन् । उनीहरू कि घरेलु काममा व्यस्त रहन्थे कि त विभिन्न पार्टीका झन्डा लिएर दिन बिताउने गर्थे ।
यस्ता दृश्यले स्वामी रामचन्द्रदासको मनमा एक किसिमको झन्झनाहट उत्पन्न भयो । त्यसैले गर्दा एउटा आश्रम स्थापनाको परिकल्पना जन्मेको उनी बताउँछन् । आश्रममा आमाबाबा भएका र नभएका वा भनौँ पढ्नका लागि इच्छुक तर आर्थिक स्थिति कमजोर भएकालाई विशेष प्राथमिकतामा राखिन्छ ।
यहाँका बालबालिकालाई बोर्डिङ स्कुलसरहको शिक्षा यस संस्थाले दिइरहेको छ । हुन त यो संस्था श्री अरविन्द र माताजीको सिद्धान्तमा आधारित छ । तर, यसले नेपालमा रहेका विकट हुम्ला, जुम्ला, कालिकोटदेखि दोलखा, सिन्धुपाल्चोक, रसुवा आदिसमेत लगभग ६० जिल्लाका बालबालिकालाई आश्रय दिँदै आएको छ । गाउँको शिक्षा त्यति प्रभावकारी हुन नसकिरहेको अनुभूति भएकाले बालबालिकालाई राजधानी ल्याएर पढाउने व्यवस्था यस संस्थाले गरेको छ ।
अहिलेको आवश्यकताअनुरूपको शिक्षा दिइने हुनाले पनि बालबालिकाका आमाबुबा यस संस्थाप्रति आकर्षित भएको बताउँछन् । यस संस्थामा आश्रित बालबालिकाका लागि नर्सरीदेखि कक्षा आठसम्म पढाउने आफ्नै विद्यालय भवन रहेको छ । यी बालबालिका पढाइ आश्रममै पूरा गर्छन् । तर, माध्यमिक र उच्च शिक्षा हासिल गर्न बालबालिकाहरू संस्थाको खर्चमा सनसाइन, इन्टेन्सिभ, ग्रिनफिल्ड, ह्वाइटहाउस आदि जस्ता कलेजमा पढ्न जान्छन् । विद्यार्थीको योग्यता र उनीहरूको इच्छाअनुसार विद्याथीहरूलाई विषय चयन गर्न लगाई पढ्ने अवसर र हौसला दिने गरेको पाइन्छ ।
यहाँका विद्यार्थी देश विदेशसम्म प्रख्यात छन् । यहाँ परम्परागत शास्त्रीय नृत्य भरतनाट्यम् पनि सिकाइन्छ, जसको कारण राम्रा नृत्यांगना पनि आश्रमले जन्माउने गरेको छ । त्यस्तै यहाँका बालबालिका कोही प्राकृतिक र आयुर्वेद डाक्टरसम्म भएका छन् । कोही विभिन्न विषयका शिक्षक शिक्षिका आदि भएका छन् भने कोही विज्ञान र इन्जिनियरिङ कोर्स गर्दैछन् ।
आश्रममा किन बसेको भन्ने प्रश्न गर्दा कक्षा १० मा पढ्ने सावित्री भन्छिन्, ‘घर बागलुङको विकट गाउँमा छ, घरको आर्थिक स्थिति पनि राम्रो छैन ।’ उनको घरमा धेरै भाइबहिनी भएर परिवारको आर्थिक स्थिति कमजोर भएको कारण गाउँकै बुबा नाता पर्ने एकजनाले उनलाई यहाँ ल्याएको उनी बताउँछिन् ।
त्यस्तै ह्वाइटहाउसमा बायोटेक विषयमा अध्ययनरत ऋषि भण्डारी गाउँमा राम्रो विद्यालय नभएका कारण उनलाई सानै उमेरमा गुरुले यहाँ ल्याएको बताउँछन् । उनका बुबाआमाको अनुमतिमा यस संस्थामा उनलाई ल्याइएको उनी बताउँछन् ।
आश्रमको विद्यालयमा आश्रममै सानैदेखि बसी यहीको शिक्षा दिक्षा पाएका र बाहिर विभिन्न विद्यालय र महाविद्यालयबाट एसएलसी तथा उच्चशिक्षा हासिल गरेका शिक्षक शिक्षिकाले पढाउने गर्दछन् । समय–समयमा बाहिरबाट पनि स्वैच्छिक रूपले पढाउन तथा संस्थालाई सेवा गर्न गुरु–गुरुमाहरू आउने गरेको आश्रम विद्यालयकी प्राध्यानाध्यापक सुश्री दुर्गा भण्डारी बताउँछिन् ।
यस संस्थाको उदेश्य नाफा कमाउने नभई विपन्न र प्रतिभाशाली विद्याथीहरूलाई आश्रय दिई उनीहरूको उज्वल भविष्यको गोरेटो कोर्नु रहेको छ । निःशुल्क भोजन, आवास, कपडा एवं उचित आध्यात्मिक एवं मानव चेतनाको विकास गर्न सक्ने शिक्षा दिने उद्देश्यले खोलिएको संस्थाका संस्थापक रामचन्द्रदास बताउँछन् ।
संस्थालाई आत्मनिर्भर गराउन यहाँ ६० देखि ७० वटा गाई पालिएको छ । संस्थाको २७ रोपनी जग्गामा मुख्य भवन, छात्राछात्र आवास, विद्यालय, गाईगोठ, कुटानी–पिसानी आदि रहेका छन् । संस्थाको २४ रोपनी जग्गामा अर्गानिक खेती तीनै गाईको मलबाट गरिएको छ । संस्थाले सिलाई बुनाई, पश्मिना उद्योग अगरबत्ती उद्योग, कुटानी पिसानी, आदि साना तथा कुटीर उद्योग पनि सञ्चालन गरेको छ । यसले गर्दा आश्रम आफैँ आत्मनिर्भर बनेर रहेको छ । संस्थामा बस्न स्वदेशी र विदेशीका लागि अतिथिगृहको पनि व्यवस्था गरिएको छ । संस्थामा उत्पादित अर्गानिक खाना, प्राकृतिक चिकित्सा, योग, ध्यान आदि सिकाउने व्यवस्था रहेको संस्थाकी व्यवस्थापक सुष्मा भुषाल बताउँछिन् ।
यो संस्था अरू संस्थाभन्दा भिन्न रहेको बताउँछन् आगन्तुक पाहुनाहरू । यो संस्था काठमाडौंको धुलो धुवाँबाट निकै पर चन्द्रागिरी डाँडाको काखमा अवस्थित छ । आश्रमबाट जंगल नजिकै रहेकाले स्वच्छ हावा र पानीको रस लिन सकिन्छ । अर्गानिक खाना र व्यवस्थित रहनसहन रहेको हुँदा छुट्टी मनाउने र घुमघाम गर्ने स्थल पनि बनेको छ, आश्रम । अहिलेसम्म विभिन्न विद्यालय र कलेजहरूबाट यसको भ्रमण भइसकेको आश्रमका सञ्चालक बताउँछन् ।
संस्थाले बेलाबखत आफ्नो वार्षिक उत्सवको समय पारी विभिन्न संघसंस्थासँग मिलेर निःशुल्क आँखा शिविर, निःशुल्क योग शिविर, निःशुल्क उपचार आदि विभिन्न उपयोगी र सहयोगी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यस संस्थामा मुलुकभरका विभिन्न जिल्लाका दुई सय ५० जनाले निःशुल्क बस्न, खाना र पढ्न पाएका छन् । कतिपयले रोजगारी पनि पाएका छन् । यहाँका बालबालिकाहरूलाई पढाइबाहेक बाहिरी क्रियाकलाप जस्तै नाच, संगीत, संस्कृत, फ्रेन्च भाषा आदिको पनि शिक्षा दिइन्छ । संस्थाले आफ्नै खर्चमा संगीत प्रशिक्षक र भाषा प्रशिक्षकको व्यवस्था गरेको छ । बालबालिकाहरूलाई योग, ध्यान र अध्यात्मको पाठ सिकाइन्छ । उनीहरू योग, ध्यान, आदिको अभ्यास गर्दछन् ।
बालबालिकाहरू आश्रमको सरसफाइ गर्छन्, आफ्नो सरसफाइ गर्छन् र आफ्ना दाइदिदी (सिनियर) र आमाबुबालाई सहयोग गर्छन् । उनीहरू आध्यात्मिक, नीतिवान, सहयोगी र देशप्रेमी छन् । देशका लागि निःस्वार्थ कर्मयोगी एवं देशभक्त नागरिक उत्पादन गर्ने यस संस्थाको उद्देश्य छ । आश्रमको अवलोकन र त्यहाँ बस्ने अनि घुम्न जाने कतिपयसित भेटघाट गरिसकेपछि यस्तो लाग्छ– बास्तवमा यो संस्था अरू गैरमुनाफामुखी संस्था जस्तो नभएर बरु एक सच्चा आध्यात्मिक खोजको उद्गम बिन्दुका रूपमा रहेको छ । प्राकृतिक रम्यता, चित्तशान्ति, आत्मचिन्तन, ध्येय चिन्तन र आध्यात्मिकताको ऐकान्तिक ध्यान गर्नका लागि जोसुकै मानिस जान सक्छन् ।

प्रतिक्रिया