मान्छेको जिन्दगीले कसलाई कहाँ पु¥याउँछ, भन्न सकिँदैन । २३ वर्षीय अलि मियाँलाई पनि जीन्दगीले एउटा मोडमा आएर बेवारिसे बनाएको छ । उनी न आफ्नो कुरा खुलेर राख्न सक्छन् न त आफ्नो भावना नै व्यक्त गर्न सक्छन् । उनी त केबल आफ्नो जीवनको यस्तो मोडमा आइपुगेका छन् जहाँ उनलाई कुनै सहाराको आवश्यकता छ ।
उनलाई यति थाहा छ, उनको घर भारत उत्तर प्रदेश (युपी) को गस्ती भन्ने ठाउँमा छ । तर, उनी यहाँ कसरी आइपुगे, उनलाई पनि थाहा छैन । नेपालको गीता नगरमा भेटिएका उनी राम्रो परिवारका जस्ता देखिन्छन् । उनलाई उर्दू राम्ररी लेख्न र पढ्न आउँछ पनि ।
भरतपुर, चितवनस्थित मानव सेवा आश्रमका उपाध्यक्ष लक्ष्मण निरौला भन्छन, ‘अलि घरबाट आपैmँ निस्केका जस्ता देखिन्छन् बैरागी भएर ।’ आश्रममा आउँदा उनी बोल्न सक्ने अवस्थाका थिएनन् । उनलाई बेवारिसे अवस्थामा उद्धार गरिएको थियो । उनको उपचारपछि उनी आफ्नो नाम र ठेगाना बताउन सक्नेसम्म भएका छन् ।
त्यस्तै, आफ्नो घर कठार बताउने बिमली दराई पनि बेसहारा भएकी छिन् । उनलाई यति मात्र थाहा छ, उनको घर कठार हो । चार छोरा भएकी दराई १६ वर्ष अगाडि घर छोडेर हिँडेकी थिइन् । श्रीमान्ले अर्को श्रीमती ल्याएपछि उनी घरबाट निकालिएकी थिइन् । १६ वर्षसम्म उनको जीवनले धेरै मोड पार ग¥यो । ठूलो परिवार भए पनि उनी एक्लो परेकी छिन् । विक्षिप्त जीवन धान्न उनले के मात्र गरिनन् ?
उनले जीवन धान्न सात वर्षसम्म होटेलमा गिलास माझिन् । गिलास माझेको दिनमा उनले खान पाउँथिन् भने नमाझेको दिनमा उनको पेट भोको हुन्थ्यो । यसरी सात वर्ष त कटाइन् तर बाँकी जीवन उनको झन कष्टकर बन्न पुग्यो । अब उनको शरीर र दिमाग काम गर्न नसक्ने अवस्थामा पुगे । अब उनले अब आफ्नो पेट आपैm पाल्न नसक्ने भइन् । अनि, उनले जीवनलाई प्रकृतिको जिम्मामा छाडिदिइन् । उनले नौ वर्ष मागेर बिताइन् । विक्षिप्त मन र मानसिकता लिएर चलेको जीवनले पनि उनको साथ छोडेपछि उनी बेसहारा भएर बाटोमा मृत्युसँग संघर्ष गर्न थालिन् । तर, मृत्युले पनि उनलाई कहाँ साथ दियो र अड्काई राख्यो, जीवनलाई अझ धेरै कष्ट भोग्न ।
मुलुकमा धेरै यस्ता व्यक्ति छन् जो एउटा अनौठो व्यथा बोकेर जीवन भोग्न बाध्य छन् । अलि र बिमली समाजका एकाध पात्र मात्र हुन् । उनी जस्ता धेरै मानिस यस्तो नियती भोग्न बाध्य छन् । मानव सेवा आश्रमका उपाध्यक्ष निरौला भन्छन्, ‘समाजमा धेरै यस्ता व्यक्ति भेटिन्छन् ।’ आश्रमले विशेष गरी समाजमा आफ्नो भावनासम्म व्यक्त गर्न नसकी बेवारिस अवस्थामा रहेका व्यक्तिलाई उद्धार गर्ने क्रममा अलि र बिमली जस्ता थुप्रै व्यक्तिलाई उद्धार गरिसकेको छ । विशेष गरी मानसिक सन्तुलन गुमाएर बेवारिसे भएकाको उद्धार गर्ने उद्देश्यले स्थापना भएको त्यस आश्रमले उद्धारगरी उपचारपश्चात् आफन्तलाई बुझाउने लक्ष्य राखेको छ ।
तर, यस्ता वेवारिसेहरूका आफन्त भेट्न मुस्किल हुने गरेको आश्रमका उपाध्यक्षको भनाइ छ । यस्ता बेवारिसेको मानसिक सन्तुलन पनि ठिक नभएका कारण उनीहरूले आफ्नो ठेगाना सही बताउन नसक्दा समस्या आउने गरेको छन् । उनीहरू जुन समाजबाट आएका हुन्छन् त्यो समाजले उनीहरूलाई पहिले दिएको पीडा भुल्न नसक्दा उनीहरू यस्तो अवस्थामा पुग्ने गरेका हुन्छन् । त्यसकारणले मानसिक अवस्था ठिक नहुनुका साथै उनीहरू कुपोषणको सिकार पनि भएका हुन्छन् ।
उनीहरू प्रायः दीर्घ रोगबाट पीडित हुनुका साथै चोटपटकको पनि सिकार हुने गरेका छन् । सानो तिनो घाउको समयमै उपचार नगर्दा त्यो घाउ ठूलो हुने गरेको देखिन्छ । शरीरका विभिन्न भागमा घाउका साथै दिमागले पनि काम नगर्दा उनीहरू बेसहारा भई जीवनसँग संघर्ष गर्न बाध्य भएको पाइन्छ । जब दिमाग र शरीरले काम गर्न छाड्छ अनि मागेर पनि आफ्नो जीविका चलाउन नसक्ने हुन्छन्, त्यस्तो बेला उनीहरू आफ्नो जीवनलाई यसै प्रकृतिलाई छाडिदिन्छन् ।
यसरी जीवनलाई प्रकृतिको जिम्मा लगाउने धेरै नेपालीहरू समाजमा देखिन्छन् तर उनीहरूका लागि समाजमा कुनै व्यवस्था छैन । न त देशको कुनै कानुनमा नै उल्लेख छ । त्यसैले उनीहरू आफ्नो जीवनलाई नियति सम्झेर जस्तो पनि जीवन बिताउन बाध्य छन् । न त कुनै आशा न त कुनै सपना । बाध्यतावश जीवन जीउनुको सार्थकता खोजिरहेका हुन्छन् । न त मृत्युलाई अँगाल्न सक्छन् न त जीवनलाई एउटा दिशा नै दिन सक्छन् । यस्तो बेला उनीहरू बेवारिसे बन्न पुग्छन् । अनि गल्लीको एउटा कुनामा मृत्युसँग निरीह संघर्ष गर्न बाध्य हुन्छन् ।
प्रतिक्रिया