वृद्ध रोएको साह्रै पीडादायी हुँदोरहेछ !
‘तपाईंको नाम के हो ?
– भुसुक्कै बिर्सिएँ !
कति वर्षको हुनुभयो ?
– ४९ दिनको भएँ !
अनि घर ?
– पालमुनि !
के भएको छ तपाईंलाई ?
– के भएको छैन भनेर सोध्नुस् न ?’
यो आजको वास्तविक संवाद हो ! हर्कजित राई, ७० वर्ष, सिन्धुपाल्चोक ! उहाँ भूकम्प आउँदा वैशाख १२ गते घर भत्किएर पुरिनुभएको रहेछ ! छिमेकीले उद्दार गरेपछि उहाँले दोस्रो जीवन पाउनुभयो !
उहाँलाई निःशुल्क उपचार गरेर एक महिनाको लागि आवश्यक पर्ने औषधि, भिटामिन, फुड सप्लिमेन्ट र सक्दो अन्य सहयोग गरे !
वृद्ध मान्छे रोएको साह्रै पीडादायी हुँदोरहेछ ! उहाँको हात समाएर धेरै समय म पनि सजल भएँ !
काठमाडौंको खाल्डो हेरेर ‘अब समस्या ट्रयाकमा आयो’ भन्ने भनाइ यहाँहरूले शतप्रतिशत गलत महसुस गर्नुहुन्छ गाउँमा पुगेपछि ! त्यसैले भनिरहेको छु (गाउँगाउँ जाऔँ !
यस्तो बेला पनि तपाईंको मुटुमा सुइरो अनुभव भएको छैन भने, तपाईंको आङ सिरिङ भएको छैन भने, सेवामा समर्पित हुनुहुन्न भने, अहिलेसम्म आर्तहरूको चहराइरहेको घाउमा मलमपट्टी गर्नुभएको छैन भने, क्षमता भएर पनि सहयोग गर्ने भावना छैन भने (तपाईं हामी अलग प्राणी हौँ ! कि तपाईं मानव हो हामी मानव होइनौँ कि हामी मानव हो तपाईं पैसा छाप्ने र घरमै बसेर गफ चुट्ने र एक्लै रमाइलो गर्ने ‘मेसिन’ हो !
गाउँ, डाँडा, विकट बस्तीमा एकपटक गएर हेर्नुस् अनि वास्तविक पीडा बुझ्न सक्नुहुनेछ ! सेवामा खटेका, श्रोतसाधन सेवामा अर्पण गरेका र निःस्वार्थ रूपमा पीडितसँग एकाकार भएका सबैलाई मेरो सलाम !
– डा. रवीन्द्र समीर
प्रतिक्रिया