सिक्किम डायरी र भूकम्पपछि एकजुट हामी

mahatma_gandhi_road_gangtok२०१०, २९ अक्टोबरको रात ।
सिक्किमको मुख्यबजार महात्मा गान्धिमार्गमा शालिकअगाडि बसेर शान्त स्वभावमा भालाकुसारी गर्दै गरेका सिक्किमेहरूको मन देख्दा लाग्थ्यो, पहाडको यस भूमिले दुःखको सामना कहिल्यै गर्नुपर्दैन होला । एमजिमार्गको रंगिन सन्ध्यामा हराउँदै प्रदूषण तथा कोलाहलविहीन चहलपहललाई म र मेरा क्योमरापर्सनले नियालिरहेका थियौँ । भिडभाडकाबीच पनि शान्त थियो बजार । चुप लागेर बस्नेहरूले एकान्तको अभास गर्न पाउँने । नेपालको ठमेल सम्झियाँै एकैछिन जहाँको कोलाहल र व्यस्तताले फुर्सदिला व्यक्तिलाई पनि सताइरहेको हुन्छ । भिडभाड र चौबीसै घन्टाको व्यस्तताले यो बजारलाई पनि छाड्दैन । तर, ठमेलमा जस्तो अपराधका घटना यहाँ भेट्न मुस्किल छ । एमजिमार्गको रंगिन संसार र रंगिन संसारमा रुमल्लिएकाहरूको तस्बिर क्यामेरामा कैद गरेपछि हामी हिड्यौँ आफ्नो अस्थायी बासस्थानतर्फ । शान्ति दिदीले पकाएको खान खाएर बस्नासाथ ग्यान्तोक घुमाइका क्रममा दिनभर देखेका नौला नौला दृश्य र ठाउँहरूको कुरा चल्यो । नेपालको पछिल्लो अवस्थाका बारेमा दिदीहरूले गरेका चिन्ता केही हदसम्म हामीले समाधान ग¥यौँ । तर, उनीहरूको मुख्य प्रश्न संविधान कहिले बन्छ भन्नेमा केन्द्रित थियो । जुन प्रश्नको उत्तर हामीसँग अहिलेसम्म छैन । फेरि पनि उनले हामीलाई गरेको आतिथ्य व्यवहार जीवनमा बिर्सन नसकिने थियो । नौलो ठाउँ सिक्किमका बारेमा हामीलाई लागेको अचम्मका कुराहरू साट्यौँ । बहान दूरदर्शनको टिभी टावरबाट इन्चेक गुम्बातर्फ उकालो लागियो । भाकल पूरा भएपछि दर्शन गर्न आएका अनि भाकल राखेर दर्शन गर्न आएकासँग कुराकानी गर्ने क्रममा थहा भयो, इन्चेक गुम्बा यहाँको सबैभन्दा पुरानो गुम्बामध्ये एक रहेछ । यो गुम्बामा कुनै पनि कामना गरेपछि पूरा हुने विश्वास ग्यान्तोकवासीहरूले राखेका रहेछन् । मेरो छोरा बिरामी थियो, ठीक भयो । मेरो पढाइ राम्रो भयो, मलाई रोग लागेको थियो अहिले ठीक छु । यी र यस्तै कुरा सुनाउँदै थिए गुम्बा दर्शन गर्न आउनेहरू । दर्शनार्थीहरूको भिडमा सामेल एक व्यक्तिलाई हामी साधारण प्रश्न ग¥यौँ । ‘यहाँ किन आउनुभएको ?’ गौतम बुद्ध विष्णु भगवान्को आठौँ अवतार मात्रै नभएर विश्वका अन्य धर्म र समुदाय व्यक्तिलाई समेत शान्तिको मार्गमा हिँडाउने अभियन्ता भएका कारण बुद्धप्रतिको आस्था अटल रहेको बताउँदै थिए उनी । उनले हामीलाई गुम्बा र सिक्किमे संस्कृतिका बारेमा समेत धेरै कुरा बताए । क्यामेरा अफ गरेपछि चिया खाने प्रस्ताव राख्दै उनी हामीसँग अनौपचारिक कुराकानीमा भुलिए । कुराकानीकै क्रममा पत्तो लाग्यो, उनी त त्यहाँको लोकप्रिय अनलाइन पत्रिका हालखबर डट कमका सम्पादक तथा फिल्म निर्देशक पो परेछन् । वृत्तचित्र निर्माण तथा नाट्यक्षेत्रमा सिक्किमका स्थापित व्यक्तित्व रहेछन्, विपी बजगाईं दाइ । सिक्किमको भुगोल र राजनीतिका विषयमा समाचार संकलन गर्ने प्रयास गर्दा धेरै ठाउँमा प्रतिबन्ध झेलिसकेका हामीजस्ता मान्छेका लागि उनी ढुंगा खोज्दै गर्दा भेटिएका देवता थिए । पर्सिपल्ट आफ्नै अगुवाइमा अखिल नेपाल साहित्य समाजको ग्यान्तोक च्याप्टर खोल्ने जानकारीसँगै उद्घाटन कार्यक्रममा सहभागी हुने निम्तो दिए । उनी र पर्सिपल्ट हुने उद्घाटन कार्यक्रममा उनीजस्ता थुप्रै स्रष्टा तथा पत्रकारलाई भेटेर सिक्किमको प्रवासी साहित्यका विषयमा कुरा उठाउने आशा पलायो ।
हामी फेरि रात कटाउन उही शान्ति दिदीको टिभी टावरस्थित अपार्टमेन्टमा फर्कियौँ । भोलिपल्ट भिक्षु बनेर गुम्बामा शिक्षा लिइरहेका बालकदेखि तिनलाई पढाइरहेका लामासम्मका थुप्रै गतिविधिलाई नियाल्यौँ । खाना खाइसकेपछि वनझाँकी फल्स हुँदै रांका गुम्बा पुग्दासम्म बौद्ध धर्मको ग्याङओभरले छाडेन । रांका गुम्बामा शिक्षा लिनका लागि नेपालदेखि आएका विद्यार्थीरूलाई भेट्दा कतै नेपालकै कुनै स्थानीय गुम्बामा छौँ कि भन्ने आभाष भइरहेको थियो । गुम्बाबाट निस्किएपछि हामीले बाटामा थुप्रै व्यक्तिसामु सिक्किमको इतिहासका बारेमा प्रश्न राख्याँै । अनि धेरैले अपत्यारिलो उत्तर दिए । देश बेच्ने गद्दार नेताका रूपमा विश्व इतिहासमा परिचय बनाएका काजी लेन्डुप दोर्जेलाई सिक्किमे युवाहरूले महान् नेता मानेको देख्दा हामीलाई अनौठो लाग्नु सायद अस्वाभाभिक नहोला । घुमफिर गर्दै सिक्किम पुग्दा तपाईंहरूले पनि यस्ता राजनीतिक प्रश्न सिक्किमका नेपालीमुलका व्यक्तिलाई राख्नुभयो भने प्रतिउत्तरमा सिक्किमे नेपालीको मनमा बाँचिरहेका लेन्डुप दोर्जेलाई देख्दा तपाईंलाई पनि आश्चर्य नै लाग्ला । तर, आजका सिक्किमेहरू शान्तिपूर्ण ढंगबाट राजगद्दी त्याग्न बाध्य राजा चोेग्यालको कदमलाई सकारात्मक लिन्छन् । अनि स्वतन्त्र सिक्किमको अस्तित्वलाई भारतमा गाभ्ने लेन्डुप दोर्जेको विचारलाई महान् । सिक्किमेहरूलाई ‘तपार्इंहरूको देश गुमेको छ, राष्ट्रियता गुमेको छ, कहिलेकाहीँ चिन्ता लाग्दैन ?’ भनेर सोध्नुभयो भने हाँस्दै जवाफ फर्काउन सक्छन्, ‘हामीलाई चिन्ता छैन । भारतले हाम्रो देशमा धेरै विकास गरेको छ । हामी भारतीय भन्नमा गर्व गर्छौं । हाम्रो राजाले राजगद्दी छाडेर अनि प्रधानमन्त्रीले भारतमा हाम्रो देशलाई विलय गराउने निर्णय गरेर राम्रै गरेका हुन् ।’ विकासको पूरै फाइदा उठाएर आर्थिक समृद्धितर्फ लम्किरहेका आजका युवापुस्तालाई राष्ट्र गुमेको प्रत्याभूति होस् पनि कसरी ? उनीहरूले त स्वतन्त्र सिक्किमको अस्तित्वलाई इतिहासका पाना र तस्बिरहरूमा मात्रै देखेका छन् । आजको सिक्किमको नक्सा खोज्न त विशाल भारतकै कुनै कुनामा पुग्नुपर्छ ।

३१ अक्टोबर २०१०
बिहानै फोनको घन्टी उठाएर विपी बजगाईंले वियोङ होटलमा भेट्न बोलाउनुभयो । कार्यक्रम सकिइसकेपछि अबेर पुगियो । हामीलाई देखेपछि प्रविण खालिङलगायतका साहित्यकार तथा पत्रकारहरूसँगै रहेका विपी बजगाईंले समेत आफ्ना कुरा मोड्नुभयो । भालाकुसारीकै क्रममा इन्द्रबहादुर राई पारिजातदेखि संगीतकार तथा गायक भक्तराज आचार्यसम्मको बात मारियो । सिक्किमका कुरा गर्नु भन्नाले कुरा काट्ने बुझिँदो रहेछ । त्यसैले बात मार्ने चलन । अघिल्लो दिन भारतीय संस्कृतिमा पूरै भिजिसकेका र भारतीय भन्नमा गर्व गर्ने हाम्रै उमेरका युवासँग इतिहासको कोट्टयाइएका प्रश्न असान्र्दभिक थिए । त्यसैले पुराना व्यक्तिको खोजीमा स्वयं हामी नै लागिरहेका थियौँ । तर, अब सबै समस्या समाधान भयो । विपी बजगाईंसँग हामीले सिक्किमका बारेमा अनगिन्ती प्रश्न राख्यौँ र उनले जवाफ दिइरहे ।
४९ वर्षीय पत्रकार विपी बजागार्इं समयक्रमसँगै सिक्किममा आएको परिवर्तन सुनाउँदै थिए । नेपालमा जस्तै अंग्रेजी भाषा संस्कृतिको प्रभाव अनि भारतीय टेलिसिरियल संस्कृतिको प्रभावका अनुभवहरू साट्न उनी व्यस्त बन, हामी सुन्नमै व्यस्त रह्यौँ । सिक्किममा बसेर भारतीय नागरिकले पाउने सम्पूर्ण हक अधिकारहरू पाएका कारण वर्तमान पुस्ताका सिक्किमेहरूमा इतिहास बोध हुन सकेको उनी बताउँदै थिए । त्यसैले पनि तीन दशक पुरानो इतिहासको युवा पुस्ताका धेरै सिक्किमेलाई हेक्का मात्रै छ, अनुभव छैन । स्वतन्त्र सिक्किममा जन्मे हुर्केर राजनीति तथा पेसा गर्नेहरू अहिले डाँडामाथिका घाम भइसकेका छन् । अहिलेको पुस्ताले सिक्किममा जन्मिएर भारतीय नागरिक बनेर सम्पूर्ण सुविधाको उपभोग गरिरहेका छन् । समयक्रमले अब पुरानो पुस्ताका व्यक्तिलाई आफ्नो गुनासो राख्ने ठाउँसमेत दिएको छैन । स्वतन्त्र सिक्किम र चोग्याल वंशको राजतन्त्रका बारेमा उनीहरूले गरेको अनुभव सन् १९७५ पछि जन्मिएको पुस्ताका लागि कथा जस्तो लाग्छ । एकादेशको कथा जुन देशको मानचित्र अहिले विश्वको नक्सामै छैन । पत्रकार विपी बजगार्इंका अनुसार भारतमा सिक्किमको विलय समयको आवश्यकता थियो । चीनबाट बारम्बार असुरक्षा महसुस गरेका कारण पनि भारतले सिक्किमलाई तत्कालीन समयमा आफ्नो बनाएको थियो । विशाल भारतमा सिक्किम गाभिइसकेपछि सिक्किमेहरूमा भारतीय राष्ट्रवाद उमार्न सरकारले कुनै कसर बाँकी राखेको छैन । सिक्किममा पछिल्लो तीन दशकमा भएको विकास र पर्यटनबाट सिर्जना भएका रोजगारीका ढोकाहरू नै सिक्किमेहरूमा भारतीय राष्ट्रवाद उमार्ने कडी बने । भारतीय सरकारले सिक्किमको पुरानो राज्यव्यवस्थाले तोकेका कानुन ऐन र मौलिक हकअधिकारहरूलाई अझै पनि कुल्चिएको छैन । संविधानको धारा ३ सय ७१ एफमा पुरानो कानुनले तोकेका मौलिक हकअधिकारहरूलाई कायमै राख्ने उल्लेख छ । त्यसैले अहिले पनि सिक्किमेलीहरूले आफ्नो हक अधिकारहरू जोगाइराखेका छन् । त्यसैले त उनीहरूको राष्ट्र गुमेको छ, तर उनीहरूलाई चिन्ता छैन । भारतीय भन्नमा सिक्किमेहरू जसरी गर्व गर्छन् ठीक उल्टो नेपाली भाषा र संस्कृतिप्रतिको उनीहरूको डायस्पोरिक प्रेम पनि अचम्मकै छ । यो अचम्मको प्रेमले नै सिक्किमलाई नेपाल र नेपालीसँग जोडेको छ ।
सिक्किममा अहिले पनि भानु जयन्ती र लक्ष्मी जयन्तीमा सार्वजनिक बिदा हुन्छ । नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचिमा मान्यता पाएपछि सिक्किमेहरूले भारतमा भाषा आन्दोलन सफल भएको प्रत्याभूति गरिसकेका छन् । सिक्किममा बसोबास गर्ने नेपाली मात्रै होइन आदिवासी, लेप्चा र भुटियाहरूले समेत नेपाली भाषा नै बोल्छन् । नेपालभित्रैका नेपालीहरू जातभात भाषा र संस्कृतिका नाममा विभिन्न राज्य माग्दै लडेको समाचार संकलन गर्ने बानी परेको व्यक्तिलाई सिक्किममा सबैले नेपालीभाषाको कदर गरेको देख्दा निकै अचम्म लाग्नु अस्वाभाभिक थिएन । भारतमा बसेका भारतीय नागरिकहरूले नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि गरेको आन्दोलन र संघर्र्ष पनि चानचुने थिएन । यस्ता विविध जानकारी पाउनेगरी अखिल नेपाल साहित्य समाजको ग्यान्तोक च्याप्टरको पहिलो कार्यसमितिले गरेको चियापान कार्यक्रममा सहभागी हुनु हाम्रो लागिसमेत राम्रै उपलब्धि बन्यो । विदेशमा बसेर नेपाली भाषामा साहित्य कोर्ने नेपाली स्रष्टाहरूले अनेसासको सदस्यता लिने काम यसअघि नै गरेका रहेछन् । तर, भारतमा बस्ने भारतीय नागरिकले नेपाल भाषा र संस्कृतिको कदर गर्दै अर्कै देशको साहित्य समाजको सदस्यता लिनु चुनौतीपूर्ण नै हो । नेपाली भाषाको संवद्र्धन र विकासका निम्ति भारतीय नेपालीले लडेको आन्दोलनका कथा सुनिसकेपछि उनीहरूका लागि यो चुनौती खासै गह्रुँगो विषय नै रहेनछ भन्ने महसुस भयो । सिक्किमको वर्तमान पुस्तालाई अंगेजी संस्कृतिले पूरै छोए पनि यहाँका चोक बजारहरूमा नेपाली गीत बज्न छाडेका छैनन् । हुन त, काठमाडौंमा जस्तो लोकदोहोरीहरूको लस्कर ग्यान्तोकका बजारहरूमा लागेको देखिएन ।
तर, शान्त सिक्किममा भाषा साहित्यप्रति रुची राख्ने व्यक्तिहरूको संख्या भने अधिक थियो । उनीहरू भन्दै थिए, ‘हामी सिक्किमेहरू भारतका नेपाली । तपाईंहरू नेपालका नेपाली । तपाईंहरूको जस्तै हाम्रो पनि आफ्नै संस्कृति छ, आफ्नै परम्परा छ । हामी पनि देउसी भैलो खेल्छौँ, दसैँमा टीका लगाउँछौँ, नेपालीले मान्ने हरेक चाडबाड मान्छाँै ।’ सिक्किममा लामो समय सरकारी जागिर गरेर भर्खरै अवकाश पाएकी एकजना वृद्धा भने गुनासो गर्दै थिइन् । उनको गुनासो थियो राजतन्त्रका बारे । सिक्किमका राजाले नेपालीभाषिमाथि गरेको दमन, अन्याय र अत्याचारले नै स्वतन्त्र सिक्किमको अस्तित्व गुमाएको गुनासो उनको थियो । उनी भन्दै थिइन्, ‘राजाले देश हाँक्न नसकेपछि जनताले विद्रोह गर्नै प¥यो । चोग्यालले देश हाँक्न नसकेपछि जनताले विद्रोह नगरे के गर्नु ?’ दिउँसोभर सिक्किमका विभिन्न स्थान घुमेर गणेश टक मान्दिरमाथि आयौँ अनि पत्रकार विपी बजगाईंसँग टेलिभिजनका लागि अन्तर्वार्ता लियाँै । अन्तर्वार्ताको अन्त्यमा उनले जातजाति भाषा र संस्कृतिकै नाममा नेपाल आन्दोलित भएको देखेर चिन्ता व्यक्त गरे । उनी भन्दै थिए, ‘जातीय विभाजनलाई रोक्ने हो, जातिलाई संरक्षण गर्ने हो, तर जातीय चिन्तनलाई प्रश्रय दिने काम नेपालमा भइरहेको छ । रगतको राजनीति अफाप हुनसक्छ ।’ अनेसास ग्यान्तोक प्चाप्टरका अध्यक्ष स्थानिय पत्रिकाका सम्पादक तथा फिल्म निर्देशक समेत रहेका यी भारतीय नेपाली भन्दै थिए, ‘सिक्किममा नेपालमा जस्तो फलानो जात र तिलानो जात भन्ने चलन नै छैन ।’ यहाँका व्यक्तिलाई कुन जातको भनेर सोध्नुभयो भने एउटै उत्तर आउनेछ नेपाली । सबै जातजातिका व्यक्तिले मिलेर यहाँ सिक्किमेको पहिचान बनाएका छन् । यहाँ नेपाली मात्रै होइन राज्य सरकारले तामाङ, लिम्बू, शेर्पा, लेप्चा, मगर, नेवारलगायतका भाषाालाई समेत मान्यता दिएको छ । हरेक जातिले अधिकारको प्रत्याभूति गरेका छन् । त्यसैले त उनीहरू भृकुटी बुद्ध अनि पृथ्वीनारायण शाहका सन्तती भन्नमा गर्व गर्छन् । सिक्किमसँग अहिले स्वतन्त्र भूगोल छैन । तर, उनीहरू स्वतन्त्र जीवनयापन गरिरहेका छन् । विगतमा राजनीति अस्थिर भएकै कारण र राजाको लाचारीकै कारण सिक्किम भारतमा विलय हुन बाध्य थियो ।
सन् २०११ मा सिक्किलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ९ म्याग्नेच्युडको प्रलयकारी भूकम्प गयो । टेलिभिजनमा समाचारहरू हेर्दा मैले शान्त देखेको सिक्किम भयावह थियो । जनता त्रसित थिए । मेरो मनमा छटपट्टी थियो, मैले छाडेको रांका गुम्बा, इन्चेक गुम्बा, गणेश टक, त्यो एमजीमार्गको स्थिति कस्तो होला । एकपछि अर्को दृश्य भारतीय टेलिभिजनले लगातार देखाइरहेका थिए । तर, छटपटी अन्त्य भएको थिएन । सिक्किमका केही साथीलाई फोन गरेँ, अवस्था सकुशल पाएपछि मनमा केही सन्तुष्टि मिलेको थियो ।
भारतीय सेनाले राहतमा कुनै ढिलाइ गरेन । बाटो बिग्रिए पनि हेलिकोप्टरमार्फत पहाडमा राहत पु¥याउँदै सिक्कमका जनतालाई राष्ट्रियताको कडीमा बाँध्यो । लाग्यो, बाँकी रहेका थोत्रो राष्ट्रियताको वकालत गर्नेहरू अब थाके होलान् । यसपटक नेपालमा प्रलयकारी भूकम्प आयो, स्थिति सिक्किमको भन्दा भयावह थियो । अन्तर्राष्ट्रिय समुदाय गुहारेर सरकारले लाचारी देखायो । राहतमा घोटाला भयो, पाल बोक्न नेताज्यूहरू नै अघि सरे । जनता अझै आहतमा छन् । तर, यसका बाबजुद धर्म, जाति र संस्कृतिका नाममा विभाजितजस्तो देखिएका नेपाली अहिले एकढिक्का छन् । गाउँका मानिस सरकारको मुख होइन आफ्नो भविष्य हेरिरहेका छन् । सरकार कहाँ छ र यहाँ १ आफ्ना लागि आफैँ गर्नुपर्छ भन्ने बोध उनीसँगै छ । । राहतको लाइनमा लाग्नुभन्दा बढी एकले अर्कालाई सहयोग गर्न चासो देखाएका छन् ।
– ए कश्यप

प्रतिक्रिया