एउटा प्रेमको निर्मम अन्त्य, अल बिदा गोरी

Albia-Gori-2उनका हरेक कुरा अनौठा लाग्थे मलाई, सायद परिवेश र संस्कार फरक भएर होला । अस्ट्रेलिया आएपछि उराठिएको मन उनैको कारण अलिकति हराभरा हँुदै गएको अनुभव गरेको थिएँ, छोटो समय नै किन नहोस् । कामको थकान भुलाउन त्यस दिन त्यो कार्लटनको कल्ब नपुगेको भए सायद अझै उराठ जीवनमै रुमल्लिरहेको हुन्थेँ होला । त्यो फेब्रुअरीको गर्मीलाई तर्साउन चिसो कोरोनाको घुट्को लगाउँदै गर्दा उनले पनि वाइनको ग्लास समाउँदै एक्लै रमाउन खोज्दै थिइन् ।
उनको त्यो मद्होसी नजरले मलाई बेला–बेलामा निशाना बनाइरहेको थियो । ड्रिङ्क्स गरेपछि प्रायः स्मोकमा ध्यान जान्थ्यो । म बाहिर टेरेसमा निस्किएँ स्मोकका लागि । टेरेसमा बसेर धुवाँको सर्को भित्रैसम्म शरीर भरिने गरी तान्दै र आकाश नै ढाकौँला झैँ गरी धुवाँ फाल्दै गर्दा ढोकाको सिसाबाट फेरि उनलाई देखेँ । उनी बाहिर निस्किएर सोझै मतिर आइन् र भनिन्, ‘डु यु ह्याब स्पेयर सिग्रेट ?’ सक्दो मुस्कान दिएर हातमा भएको सिग्रेटको बट्टा दिएँ, उनले एउटा सिग्रेट निकालिन् र मसँगै गफिँदै धुवाँमा रमाउन लागिन् । सायद स्वर्ग कि परी भनेको यस्तै हुन्छ होला जस्तो लाग्यो । जिउडाल मोटी भए पनि कति मिलेका ओठ, उस्तै मीठो हासो र पागल बनाउने रूप । वाइन छोडेर अब हार्ड ड्रिङ्क्स लिँदै थिइन् ।
मलाई पनि झुम्म पार्दै थियो नशाले, मभन्दा बढी उनी लठ्ठिँदै थिइन् । अब त हामी धेरै नजिकिँदै थियौँ तर एकअर्काको बारेमा केही थाहा थिएन । कुरा गर्दा गर्दै एक्कासी मलाई अँगालोमा बाँधेर ‘यु आर सो स्वीट’ भन्दै छोड्दै छोडिनन् । मलाई एक्दम अप्ठ्यारो लागिरहेको थियो, सायद पहिलोचोटी भेट भएको छोटो समयमा कसैले यसरी अँगालोमा बाँधेको थियो । चर्को आवाजमा डिजेले म्युजिक बजाउँदै थियो, उनले मलाई हात समातेर नाच्न लगिन् । त्यति बेलासम्म म पनि नशाले बेहोसी भइसकेको थिएँ र उनी पनि । नाच्दानाच्दै र ड्रिङ्क्स गर्दागर्दै रातको दुई बजेछ । अब त दुवै थाकिसकेका थियौँ । हामी बाहिर निस्किएर ट्याक्सीमा उनको घरतर्फ लाग्यौँ ।
रातमा निकै अबेर सुतेको भएर होला बिहान ११ बजे आँखा खुल्यो । टाउको दुःखेर फुट्ला झैँ भयो । विस्तारै आँखा खोल्दा अनौठो लाग्यो । आफू कता छु भन्ने आफँैलाई पत्तो थिएन । विस्ताराको एउटा छेउमा म थिएँ, अर्को छेउमा उनै थिइन् । अझै आँखा खुलेको थिएन । एकछिन् सम्झिएपछि याद आयो हिजोको घटनाका केही अंश तर ट्याक्सीबाट ओर्लिएपछिको केही याद भएन । उनको र मेरो अवस्था देखेपछि लाग्यो, सायद नशाको सुरमा गलत काम भएछ । म त्यहाँबाट हिँड्ने सुर गर्दागर्दै उनी ब्युँझिइन् र मलाई धेरै बेरसम्म अँगालोमा बाधिरहिन् ।
‘आई लभ यु सो मच, प्लिज डन्ट लिभ मि’ भन्दै आँशु झारिन् । मैले विदेशी केटीहरूको बारेमा जे–जस्तो सुनेको थिएँ, उनलाई त्यो भन्दा धेरै फरक पाएँ । खोई मलाई पनि के भो, ‘लभ यु टु माई डार्ल’ भन्दै कता–कता हराएछु । मलाई एकदम टाउको दुःखिरहेको थियो । उनले प्यानाडोल दिइन् र केही समयपछि आराम मिल्दै आयो । लन्चका लागि बाहिर निस्कियौँ र त्यो दिनभर उनकै घरमा बसेँ । त्यो रात पनि त्यहीँ बस्न कर गर्दै थिइन् । तर, भोलि बिहानै मेरो काम थियो । म विक डेजमा काम गर्थें र विकेन्डमा बिदा । फेरि विकेन्डमा भेट्ने र फोनमा कुरा गर्ने वाचा गर्दै बिदा भएँ गलामा लभ बाइट लिएर । हरेक विकेन्डमा हाम्रो भेट हुन्थ्यो र विक डेजमा फोनमा गफ ।
सधैँ विकेन्डका दिन–रात उनकै घरमा बित्ने गथ्र्यो । उनलाई मैले गोरी भन्थेँ, नेपाली नाम राख्दिएको थिए । म होलिडेमा नेपाल फर्कने निधो गरँे र उनलाई सुनाएँ । उनले नजान निकै रिक्वेस्ट गरिन् । मैले ४ विक्स त हो नि भन्दै सम्झाएँ र नेपाल गएर पनि स्काइप, भाइवरमा कुरा गर्ने वाचा गरे । चार हप्ताका लागि म नेपाल आएँ, नेपालमा दसैँको रमझम सुरु भइसकेको थियो । मेरो बिदा तिहारसम्म थियो ।
नेपाल आएर पनि उनलाई निकै मिस गर्थें । सुरु–सुरुमा त फोनमा कुरा हुन्थ्यो, पछि कन्ट्याक्ट नै भएन । उनीसँग कन्ट्याक्ट नभएको पल छट्पटाएरै बिताएँ । चार हप्ताको बिदा सकेर फेरि अस्ट्रेलिया फर्किएँ । उनले मेरो न फोन रिसिभ गर्थिन् न त मेरो कुनै मेसेजको रिप्लाई । शनिबार राति अस्ट्रेलिया ल्यान्ड गरँ र आइतबार बिहानै उनको घरमा गएँ । उनको कार दुर्घटनामा निधन भएको खबर पाएँ । सायद, हाम्रो अनौठो प्रेमको अन्त्य त्यही भयो जस्तो लाग्यो । मेरो आँखाअगाडि उनी आउँदिनन् तर पनि मनको आँखाले उनलाई भन्दा अरू कसैलाई देख्दिनँ ।
चोखो प्रेमको लागि संस्कार र परिवेशले केही फरक पार्दो रहेनछ । सबै उनले भन्न खोजेका कुरा मैले बुझ्दिनथेँ, कति मैले चाहेका कुरा उनलाई भन्न सक्दिनथेँ । साच्चै हाम्रो प्रेम अनौठो थियो, सोच्दै नसोचेको हाम्रो प्रेम । तिम्रै नाममा यो जीवन समर्पण गरेर जिउने निधो गरेको छु । अल बिदा गोरी ।

प्रतिक्रिया