गाउँका लाठेहरू भारी बोक्न दोर्लिङ (भारत) झर्ने क्रम घटेको थिएन । बाँकी रहेकाहरू तामाकोसी तटमा जाल थापेर माछा मार्ने अनवरत प्रयासमा थिए । कृषि पेसा महिला तथा बालबालिकाले धानेकै थिए । अति दुर्गम भए पनि खुसी नै थियो, दोलखाको सुरी गाविसस्थित सुम्ना गाउँ । अति सिमान्तकृत सुरेल समुदायको बाहुल्य रहेको यस गाउँको सानो खुसीको धर्सालाई पनि वैशाख १२ गतेको प्रलयकारी भूकम्पले नराम्ररी हल्लाइदियो । १७ दिनपछि फेरि दोलखालाई नै केन्द्रबिन्दु बनाएर अर्को भूकम्प आयो । त्यसले बाँकी रहेको आशाको सानो त्यान्द्रोसमेत चुँडाएर लग्यो । अहिले पूरै गाउँमा सन्नाटा छाएको छ । सुरी गाविसमा पर्ने सुम्नाको चिच्याहट सिंहदरबारसम्म पुग्दैन । कुनै एनजिओ वा राहतका नाममा आउने व्यक्तिले समेत सुन्न सकेका छैनन्, सुम्ना गाउँको सुस्केरा । तामाकोसी नदी किनारको यो बस्ती अहिले सुनसान छ । मनसुन सुरु नहुँदै तामाकोसीमा बढेको बहावले बाँकी रहेको सुम्नावासीको धेरथोर आशालाई पनि बगाउँदै छ । जताततै पहिरो भएको छ, खण्डहरमा परिणत भएको छ पूराका पूरा बस्ती । जमिन चिरा–चिरा परेको छ । माटो र ढुंगा थुपारिएको ढिस्कोजस्तो देखिन्छन् सुम्नाका घरहरू ।
सुम्ना गाउँमा बस्दै आएकी रञ्जिता सुरेल राम्रोसँग ननिदाएको एक महिनाभन्दा बढी भयो । भूकम्पले घर भत्काएपछि पालमा बस्दै आएको रञ्जिताको परिवार बाढी र पहिरोको डरले रातभर जाग्राम बस्छन् । वरिपरि भीर छ खोला किनारमा बसाइँ । सुम्ना गाउँमा बस्दै आएका रञ्जिता जस्तै सबैलाई अहिले बाढी र पहिरोको पिरलो छ । ‘दिन त जसो तसो जान्छ तर रात परेपछि निदाउन सकिएन,’ लामो सुस्केरा हाल्दै रञ्जिताले दुःखेसो पोखिन् । लोपोन्मुख जाति भनेर सुरेलहरूलाई सरकारले मासिक एक हजार रुपैयाँ भत्ता दिँदै आएको छ । धरैले त्यसैको भरमा जीविका चलाउँछन् । माछा मारेर जीविका चलाउन सजिलो होस् भनेर सुम्ना झरेका सुरेलको भने यतिबेला बिचल्ली भएको छ ।
सुम्ना गाउँमा सात घरपरिवार सुरेल बस्छन् । लोपोन्मुख आदिवासी जनजाति सूचीकृत सुरेलहरू आदिम समयदेखि सुरी गाविसमा बस्दै आएका हुन् । धेरै सुरेल चाहिँ सुरी गाविसको वडा नम्बर ७ मा बस्छन् । रञ्जिताको परिवार त्यहीँबाट छुट्टिएर सुम्ना झरेको हो । सुम्नानजिकैको सुरी दोभान, भोर्लेबजार र सिँगटी बजारलाई भूकम्पले ध्वस्त पारिदिएको छ । खोला किनारका सयभन्दा बढी घरपरिवार अहिले जोखिम मोलेरै तामाकोसी किनारमा टहरा बनाएर बसेका छन् । कोही त पालमुनि ओत लागेर दैनिकी चलाउँदै छन् । चल्तीको सिँगटी बजार अहिले सुनसान देखिन्छ । ‘घरमा भएको अलिकता अन्न पनि पुरियो । दया मायाले दिएको राहतले अब कति दिन पुग्ला र ?’ मलिन अनुहारमा रञ्जिताले भनिन्, ‘तलबाट बाढी आए पनि बगाउँछ । माथिबाट पहिरो आएमा पुरिहाल्छ । अब हामी कहाँ जाने ?’ आफ्नो र परिवारको चिन्ताले निकै सताएको छ, रञ्जितालाई यतिबेला ।
माथिल्लो गाउँमा बस्दै आएका सुरेललाई पनि अहिले गाँसबासको चिन्ताले सताएको छ । ढुंगा माटोले बनेका झुप्रे घरहरू भूकम्पलले ध्वस्त पारेपछि उनीहरूको चैन हराएको छ । खाने अन्न र लगाउने लुगासमेत निकाल्न नपाएको सपना सुरेलले गुनासो गरिन् । ‘बारीमा मकै गोड्दै थिएँ, बेस्सरी भुइँ हल्लियो । हेर्दाहेर्दे घर ढलिहाल्यो,’ सपनाको घर भूकम्पको एकै धक्कामा ध्वस्त भयो । केही दिन त सपनालाई मन समाल्न समेत गाह्रो प¥यो । ‘एक÷दुई छाक त पानी मात्र पिएर बसियो । पछि छिमेकीले बचेको अन्नपात निकाले अनि केही खान पाइयो,’ सपनाले मनको बह पोखिन् ।
पाखो भित्तामा खनिखोस्री जीवन चलाउँदै आएका सुरेलको जग्गाजमिन पनि धेरै छैन । भूकम्पको पीडाले अहिले उनीहरूलाई काम गर्ने जाँगर हराएको छ । बारीमा भएको मकै पनि खडेरीले सुक्न लागेको छ । ‘बालबच्चालाई के खुवाएर पाल्ने, आफूले के खाने, वर्षा लागेपछि फेरि बाढीपहिरोले सताउँछ,’ सुरेल अगुवा तीर्थबहादुर सुरेलले दुःखेसो पोखे । सुरेल गाउँमा ५१ वटा घर छन्, सुरेलका । भूकम्पपछि एउटा घर पनि सग्लो छैन । पर्याप्त राहत पुग्न सकेको छैन । सरकारी अधिकारी गाउँ पुग्न सकेका छैनन् । ‘१५ हजार दिन्छन् रे भन्थे अहिलेसम्म पाइएको छैन,’ तीर्थबहादुरले भने ।
दुर्गम क्षेत्र भएर होला, अन्य गाउँको तुलनामा राहत सामग्री पनि पुगेको छैन । पुगीहाले पनि गाउँका टाठाबाठाकै हालीमुहाली हुन्छ । सोझा सुरेल हेरेर चित्त बुझाउँछन् । ‘गाउँमा अन्यले धेरैपटक राहत पाए हामीले एक बोरा चालम र दुई हजार मात्र पायौँ,’ टीकामाया सुरेलले सुनाइन् । पर्याप्त पैसा नहुँदा जस्तापात किनेर टहरो बनाउने आँट सुरेलसँग छैन । ‘पहिला–पहिला यो बेला काममा भईन्थ्यो अहिले काम गर्ने रहरै छैन,’ टीकामायाले भनिन् ।
सरकारले भत्ता दिन थालेपछि सुरेल समुदायमा सन्तान जन्माउने होड नै चलेको छ । भत्ताको आसमा दुई वा तीनभन्दा बढी सन्तान जन्माउन थालेका सुरेललाई अहिले तिनै बच्चा जोगाउन मुस्किल परेको छ । केही गर्भवती छन् । उनीहरूले पोषिलो खान पाएका छैनन् । बस्ने सुविधा पनि पाएका छैनन् । सरसफाइको समस्या उत्तिकै छ । स्थानीय विद्यालयमा अध्ययनरत केवल २५ बालबालिका पनि विद्यालय जान पाएका छैनन् । उनीहरूमा भूकम्पको त्रास कायम छ ।
भूकम्पपछि प्रभावितलाई राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि आएका गैरसरकारी निकायको ध्यान सुरेल समुदायमा पुग्न सकेको छैन । मोटरबाटो पुगेको ठाउँमा गैरसरकारी निकायहरू थुप्रेका छन् । हिँडेर जानुपर्ने सुरेल वस्तीमा न राज्यको ध्यान पुग्न सकेको छ न त गैरसरकारी निकाय पुगेका छन् । कसैले सिँगटीसम्म त कसैले गुरुम्फीसम्म लगेर सुरेलका लागि राहत सामग्री दिए पनि त्यो पर्याप्त छैन । महाविनाशकारी भूकम्प गएको दुई महिना पुग्नै लागे पनि सुरेलको सुस्केरा सुन्ने कोही छैन ।
(सुम्नाबाट स्थलगत रिर्पोटिङ)
प्रतिक्रिया