१९९६ अक्टोबर ३
केन्याको नैरोबीस्थित जिमखाना क्लब मैदानमा अभ्यासकै क्रममा रहेको पाकिस्तानी टोलीमा एक नयाँ अनुहार समेटिएको थियो । नेट अभ्यासका क्रममा तत्कालीन विश्वका नम्बर एक बलर वासिम अक्रमको बल उनको ब्याटमा लागेर गायब भयो । पाकिस्तानका कप्तान थिए, सइद अनवर । उनले त्यो कलिलो ठिटोलाई फेरि ब्याटिङ गर्न लगाए । विश्वकै खतरनाक बलर अक्रमको बलमा उसले फेरि त्यस्तै डरलाग्दो प्रहार गर्यो । त्यसयता, अर्का बलर वकार युनिसलाई बलिङ गर्न लगाउँदा सबै एकाएक छक्क परेका थिए किनकि यसपटक बल मैदान नाघेर कार पार्किङसम्म पुगेको थियो ।
वसिम अक्रम र वकार युनिसजस्ता बलरहरू एउटा १६ वर्षे टिनएजरसँग नतमस्तक भएको घटनालाई पाकिस्तानी टोलीका प्रशिक्षक मोहम्मद मुस्तकले सामान्य रूपमा लिएनन् । तर, उनले घटना गुपचुप नै राख्न चाहे । प्रशिक्षक मोहम्मद मुस्तक र कप्तान सइद अनबरले छनोट कमिटीको सिफारिसमा १६ वर्षको फुच्चेलाई पाकिस्तानी टोलीमा राख्दा धेरैलाई लागेको थियो, केही वर्षपछि यो ठिटोले बलिङमा राम्रो गर्नसक्ला । लेग स्पिनर अहमद मुस्तकको सट्टामा उसलाई बलिङ गर्न टोलीमा बोलाइएको थियो । तर, सुरुआती खेलमा केन्याविरुद्ध धेरै रन खर्चिएर एक विकेट पनि लिन नसकेपछि उसमाथि कसैको नजर पर्न सकेन ।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्र खाइबर एजेन्सीमा जन्मिएको त्यो टिनएजरको विषयमा खाइबरकै धेरै जनता जानकार थिएनन् । श्रीलंकाविरुद्धको खेलमा कसैले नचिनेको त्यही फुच्चे सलिम मलिक, रामेज राजाजस्ता खेलाडीभन्दा अघि पिन्च हिटरका रूपमा तेस्रो क्रममा ब्याटिङ गर्न आउँदा तत्कालीन विश्व च्याम्पियन टोलीका मुथैया मुरलीथरन, कुमार धर्मसेना, चामिन्डा भास र सनथ जयसूर्या तीन छक खाएका थिए । तर, खेल अन्त्यसम्म त्यो फुच्चे ‘मेघा स्टार’ बनिसकेको थियो । खेलमा ओपनर अनबरले खेलमा एक सय १५ रन बटुलेका थिए । त्यही खेलमा साहिद अफ्रिदीले एक सय दुई रन प्रहार गरे जसका कारण सइद अनबरको शतकीय इनिङ्सको चर्चा गर्ने फुर्सद कसैलाई भएन । शतक प्रहार गरेको दिन अफ्रिदी १६ वर्ष दुई सय १७ दिनका थिए ।
विश्व क्रिकेटमै सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने अफ्रिदीले राखेको अर्को कीर्तिमान क्रिकेटलाई माया गर्ने जनता भएका प्रत्येक देशका लागि हेडलाइन्स थियो । उनले केबल ३७ बलमै शतक प्रहार गरे । सुरुआतमा धेरै पाकिस्तानीले कीर्तिमान सइद अनबरले बनाएको ठानेका थिए, किनकि अफ्रिदी सबैका लागि बिलकुल नौलो नाम थियो । खेलको भिडियो रेकर्ड गरिए पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थिएन । पाकिस्तानीले अफ्रिदीलाई बलरका रूपमा मात्रै बुझेका थिए तर उनी निस्किए आक्रामक ब्याट्सम्यानका रूपमा । अफ्रिदीले त्यही खेलमा ११ छक्का प्रहार गर्दै तत्कालीन समयमा सनथ जयसूर्याको नाममा रहेको सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानबराबरी गरेका थिए ।
श्रीलंकाविरुद्ध नै अफ्रिदीले लिएको अर्जुना रत्नातुंगाको विकेट उनकै शतकको छाँया प¥यो । अफगानिस्तानमा सोभियत युद्ध जारी रहँदा अफ्रिदीको जन्म खाइबर एजेन्सीमा भएको थियो । पहाडको सुन्दरताले भरिएको खइबर अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने भएका कारण युद्धबाट अछुतो थिएन । साहिद जन्मिँदैगर्दा बम र बारुदको त्रासमा खाइबर थियो । बिस्फोट र मृत्यु पूरै पाकिस्तानका लागि अस्वाभाविक थिएन ।
खाइबरमा अर्का अफ्रिदी चर्चामा थिए, हजी अयुव अफ्रिदी । ड्रग्स सप्लाई गर्ने हजी अयुवले खइबार पासबाट युद्धका दौरान अफगानी विद्रोहीलाई हतियार सप्लाई गर्थे र उनलाई अमेरिकी गुप्तचर संस्था सिआइए तथा पाकिस्तानी सरकारको पूर्ण समर्थन थियो । सीमाक्षेत्रका खाइबरका जनता त्रासकैबीच बाँचेका थिए । साहिद अफ्रिदी १० वर्षको पुग्दा सोभियत युद्ध सकिनै लागेको थियो । तर, युद्धको घाउ बाँकी नै थियो । आप्ना दाजुले खेलेको देखेर अफ्रिदीले ब्याट समाउन सिकेका थिए । सन् १९९२ को विश्वकप उपाधि इमरान खानले उचाल्दाको केही क्षण सायद पाकिस्तानले अस्थिरता, गरिबी, असुरक्षा, अभाव र युद्धको घाउ बिर्सिएको थियो । त्यसयता पूरा पाकिस्तानभर फेरि लोकप्रिय बनेको क्रिकेट खेलबाट खाइबर अछुतो रहेन । त्यही खाइबरमा अफ्रिदी चम्कन थाले, उनले कराँचीबाट फस्ट क्लास क्रिकेट खेल्दै अन्ततः मुस्तक अहमदको सट्टामा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
जब अफ्रिदीले आप्नो पहिलो इनिङ्समै शतक लगाए तब उनको चर्चा अन्तर्राष्ट्रियस्तरमै भयो । उनी पाकिस्तानका उदाउँदा नायक बने । त्यतिबेलासम्म जतिसुकै चर्चामा रहे पनि इमरान खान, जावेद मियाँदाद, इन्जमाम उलहक र वसिम अक्रमको लोकप्रियतालाई अफ्रिदीले माथ खुवाउने अनुमान गर्न गाह्रो थियो । तर, पाकिस्तानको अस्थिर राजनीति र दिनँहुजसो हुने बिस्फोटका कारण सिनेमाले राम्रो बजार लिएन ।
स्टार क्रिकेटरहरू म्याच फिक्सिङमा पर्न थाले । डामाडोल पाकिस्तानमा १९ वर्षसम्म आकर्षणको पाटो बन्दै गए, साहिद अफ्रिदी । ‘बम, बारुद्ध र गोलीको त्रासका बीच जीवनयापन गर्ने थुप्रै पाकिस्तानी अफ्रिदीको आक्रामक ब्याटिङ हेर्ने आशामा बसिरहे, अविराम ।’ १९ वर्षसम्म एक दिवसीय खेललाई रंगीन र भरपुर मनोरञ्जनात्मक बनाउन अफ्रिदीले खेलेको भूमिकाको कदर गर्दै उनको सन्यासपछि क्रिकइन्फो डटकमले लेखेको छ, ‘क्रिकेटले यस्तो असाधारण व्यक्ति न पाएको थियो न त उनीपछि पाउनेछ । उनको तुलना कसैसँग हुनै सक्दैन ।’ अफ्रिदीलाई सम्झनका लागि अहिले पनि उनको ३७ बलको शतक नै काफी छ । एक दिवसीय खेललाई वाईवाई गरिसकेका अफ्रिदी अहिले पाकिस्तानको टी–२० कप्तान छन् ।
प्रतिक्रिया