भूकम्प जाँदा पनि हलचल नभएको एक क्षेत्र काभ्रेको तिमालमा मात्र पाइने दाबी गरिएको बोधिसत्व माला (बोधिचित्त माला) नै हो भन्ने कुरा अन्तर्राष्ट्रिय चासोले प्रस्ट पारेको छ । हालै भूकम्प जाँदा पनि यहाँको चहलपहलमा कुनै कमी आएको छैन । यसले विगतदेखि नै व्यापक चर्चा कमाइरहेको छ । संसारमा यसको चर्चा हुँदै जानुले पछिल्लोे समयताका त्यहाँ घर जग्गाको कारोबार पनि बढ्दो छ भने पर्यटनमा जानेको संख्यामा तेब्बर वृद्धि भइरहेको छ ।
बोधिचित्त मालाको बिरुवा समशितोष्ण भूभाग ९४०० मि. देखि २०००० मिटरमा लगाउन सकिने अनुमान गरिए पनि काभे्रको जस्तो उत्पादन अन्यत्र हत्पत्ति नहुने प्राविधिक टोलीको तर्क छ । बोधिचित्त मालाको बजारमूल्य यसको प्रकार र साइजअनुसार निर्धारण हुन्छ । हाल फलिरहेको प्रकारअनुसार तीनदेखि सातमुखेसम्मको मूल्य प्रतिगोटा चार सयदेखि चार लाख रुपैयाँसम्म पर्छ । त्यसैगरी दुईमुखे मालाको भने साइजअनुसार मूल्य हुन्छ । सात मिमीको (एक सय आठ गेडा) एक मालाको चार लाख रुपैयाँ पर्छ भने साइज बढ्दै जाँदा मूल्य कम हुँदै जान्छ । सबैभन्दा ठूलो साइजको माला भने पाथीमा बेचिन्छ । यसको बजारमा एक पाथीको मूल्य २५ देखि ३५ हजार रुपैयाँसम्म पर्छ ।
उत्पादकले वार्षिक तीस लाख रुपैयाँ आम्दानी गर्छन् भन्दा पत्यार नलाग्न सक्छ । फल लाग्नुअगावै बोटहरू यति वर्षका लागि भन्दै किन्नेहरूको भीड लाग्ने गर्दछ । काभ्रेको तिमाल, मंगलटार, सस्र्युंखर्क, नारायणस्थान आदि ठाउँमा यो खेती छ । एकजना उत्पादक वीरबहादुरले स्थानीय ठेकेदारसँग भएको तीन वर्षीय सहमतिअनुसार यो वर्ष पनि ३० लाखमै बुद्धचित्त बिक्री भएको बताएपछि भने कटुञ्जेबाट बेगले बगेको रोशीखोला पौठेजोरी खोज्दै त्यहाँ पुग्ने जो कोहीलाई पत्याउन करै लाग्छ ।
स्थानीय ठेकेदार दावाञ्जी लामाका अनुसार यो रुखमा फल नलाग्दै वार्षिक तीस लाखमा किनेको बुद्धचित्त मुख्य ठेकेदारसम्म पुग्दा कति मूल्य पुग्छ अनुमान गर्न गाह्रो छ । अझ यसको उपभोग गर्नेको हातमा पुग्दासम्म त वीरबहादुरको जस्तै धेरै जनाको हातमा लाखौँ लाख रुपैयाँ पर्छ । सिसाखानी–२ ढोकर्पाका तीर्थ मोक्तान (लामा) ले घरअगाडि रहेको एउटा रुखमा फलेको बुद्धचित्त यो वर्ष १५ लाखमा बिक्री गरेका छन् । वार्षिक १५ लाख रुपैयाँमा बिक्री गर्दै आएका तीर्थले भक्तपुरमा घरघडेरी जोडेका छन् । यता वीरबहादुरले स्वयम्भूमा घरघडेरी जोडेको बताएका छन् ।
बहुमूल्य भएर होला, बुद्धचित्त फल्ने रुखको वरिपरि तारजालीले सुरक्षा दिइएको छ । अरूले बुद्धचित्त लगिदेलान् भनेर स्थानीय ठेकेदारले सुरक्षाका लागि रुखको छेउमै चारजना युवालाई चौबीसै घन्टा उच्च सतर्कताका साथ राखेका छन् । केही परिहाले थप मद्दतका लागि ठेकेदार आवद्ध अन्य युवाहरू रोशी किनारमा तयारी अवस्थामा छन् । तीर्थको रुखको बुद्धचित्त किन्ने स्थानीय ठेकेदार लोप्साङ लामा (च्यामे) ले पनि अर्को स्थानीय ठेकेदार दाआञ्जीले जस्तै रुखको फेदमै केही युवालाई कुर्न राखेका छन् । स्थानीय ठेकेदारहरूले बोटैपिच्छे फल नटिपेसम्म लाखौँ रुपैयाँ खर्च गरेर बलिया युवाहरूलाई चौबीसै घन्टा कुर्न राख्छन् ।
केही वर्षदेखि बुद्धचित्तको मूल्य आकासिएपछि सबैजना चकित परेका छन् । बौद्ध धर्मालवम्बीहरूले मालाका लागि प्रयोग गर्ने यो बुद्धचित्त प्रायः तिब्बत निकासी हुने बताइएको छ । पहिले बारी ओगटेको भन्दै काटेर फाल्ने यहाँका स्थानीय बासिन्दाहरूले अहिले बारीभरि यसको बिरुवा लगाउन थालेका छन् । सिसाखानी–१ बस्ने कनक लामाले ढोकर्पामा ८५ वटा बुद्धचित्तका रुख लगाएका छन् । उनले लगाएका सबै रुखमा फल फल्न थालिसकेको छ । अहिलेकै मूल्य आएमा कनकले केही वर्षपछि नै वार्षिक करोडौँ रुपैयाँ कमाउनेछन् ।
काभ्रेको तिमाल क्षेत्रमा पाइने बुद्धचित्त सबैभन्दा उत्तम मानिने बताइएको छ । बिरुवा लगाएको तीन वर्षदेखि नै फल्न थाल्ने यो बुद्धचित्त बिक्री गर्ने यो क्षेत्रमा धेरै भइसकेका छन् । फल लाग्नुभन्दा अगाडि नै एउटा रुखको ३० लाख रुपैयाँमा बुद्धचित्त बिक्री गरेका वीरबहादुरले बताएअनुसार सबैभन्दा सानो दानाबाट बनाइएको माला अत्यधिक महँगो हुन्छ । आधिकारिक जानकारी नभए पनि स्थानीय बिक्रेताले बताएअनुसार ७ मिलिमिटर भएको १ सय ८ दानाको एउटा मालाको चार लाख रुपैयाँभन्दा बढी मूल्यपर्छ । साथै बुद्धचित्तको साइज तथा तीन मुख सातमुखे हेरेर मूल्य फरक–फरक पर्ने बताइएको छ ।
अत्यधिक महँगो हुने भएका कारण बुद्धचित्त बिक्री गर्दा गुन्डागर्दी बढी हुने गरेको छ । स्थानीयस्तरमा डन भनेर चिनिने गुन्डाका नाइकेहरूलाई मोटो रकम नबुझाई सहज ढंगले बुद्धचित्त निकासी गर्न सकिँदैन । बाटोमा गुन्डा तथा प्रशासनको धरपकडका कारण गत वर्ष सिसाखानीकै साजकोटमा हेलिकप्टरबाट बुद्धचित्त राजधानी लगिएको थियो । ठूलो गुन्डागर्दीको सामना गर्नुपर्ने भएकाले मुख्य ठेकेदारहरूले पनि स्थानीय ठेकेदारमार्फत बुद्धचित्त खरिद गर्ने गरेका छन् । फल नलागी रुखको मोलमोलाई गर्ने तथा चार वर्षसम्म पनि अग्रिम कागज गरेर स्थानीय ठेकेदारहरूले बुद्धचित्त खरिद गर्ने गरेका छन् । प्रायः गरी बुद्धचित्त असारको पहिलो हप्तादेखि साउन अन्तिमसम्ममा बुद्धचित्त टिपिने ढोकर्पाका तीर्थ लामा बताउँछन् । अहिले बुद्धचित्तको सुरक्षाका लागि सयौँ युवालाई परिचालन गरिएको छ । राजधानीमा मोस्ट वान्टेडको सूचीमा रहेका कयौँ युवाहरूलाई अहिले रोशी क्षेत्रमा भेटिने स्थानीय बासिन्दाहरू बताउँछन् ।
यो समयमै बुद्धचित्तको व्यापारमा हुल हुज्जत सुरु हुन थालिसकेको छ । मोटो रकम असुल गर्न गुन्डा परिचालन गर्ने तथा बाहिरको ठेकेदार आएमा स्थानीय ठेकेदारले धम्क्याउने तथा फल झारिदिने जस्ता गतिविधि हुने गरेका छन् । गोठपानी–५ का पासाङ दोर्जे लामाको वार्षिक ९ लाखमा किनेको वुद्धचित्त सबै झारिदिए भनेर रामेछापका ठेकेदारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका छन् । बेथान–६ निवासी ठेकेदार सफल दोङले पासाङसँग वार्षिक ९ लाख रुपैयाँ दिने गरी २०७५ सालसम्मका लागि सम्झौता गरेका थिए । गाउँमा अन्यको पनि बुद्धचित्त खरिद गर्न फल नफल्दै करोडौँ रुपैयाँ लगानी गरेका ठेकेदार दोङ फल टिप्ने बेला बदमासी हुन थालेको भन्दै चिन्तित रहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीकै मिलेमतोमा बुद्धचित्त मालाको तस्करी पनि गरिँदै आएको भुक्तभोगीहरू बताउँछन् । यो आगामी दिनहरूमा सरकारका लागि सुरक्षा चुनौती बन्न सक्छ ।
प्रतिक्रिया