सेप ब्लाटर सधैँ फुटबलमाथि हाबी भए । त्यसैले माग नै उठेको थियो, फुटबललाई केवल मैदानभित्र सीमित राखौँ । यसलाई सबैले हुटिङ गर्न सक्नेगरी खुला मैदानमा खेलौँ । हुनेले ‘टर्प’ नहुनेले ‘हिले’ मैदान । गरिब र धनी देशले आआफ्नै गच्छेअनुसार खेलौँ । पैसाको बाछिटा फुटबलमा नपरोस् । फुटबलमा भ्रष्टाचार हाबी भए यसको सुन्दरता नष्ट हुन्छ ।
विश्वमा फुटबल नरुचाउने सायदै भेटिएलान् । पहेँलो र रातो कार्डको प्रयोग, मैदानभित्रै खेलाडीले बेलाबखत एक अर्कामाथि गर्ने मुक्कामुक्की, खेलका दौरान देखिने आक्रोश, माफीयोग्य फल र साइडपुस तथा अनसाइड र अफसाइड ट्रयापका दौरान देखिने विवाद फुटबल खेलका सुन्दर पक्ष हुन् । विवादले फुटबललाई लोकप्रियताको उत्कर्षमा पु-याएको इतिहास साक्षी छ । सन् १९८६ को विश्वकपमा म्याराडोनाले गरेको हाते गोलले पाएको मान्यता होस् वा सन् २०१० को विश्वकपमा इंग्ल्यान्डका फ्र्याङ लाम्पार्डले गरेको गोलले नपाएको मान्यता नै किन नहोस् । पोर्चुगल र नेदरल्यान्डबीचको सन् २००६ को विश्वकपको क्वाटरफाइनल खेल वा जिदानले माटेराज्जीमाथि सोही विश्वकपको फाइनलमा गरेको हेडबट नै किन नहोस् । हरेक विवादले फुटबललाई नयाँ ऊर्जा प्रदान गरेको छ । हरेक विवादले फुटबल खेलको ग्ल्यामरलाई बूढादेखि तन्नेरीमाझ पस्कन अहं भूमिका खेल्दै आएको छ ।
फुटबलसम्बन्धी कैयन किंवदन्ती नेपालमा पनि प्रसिद्ध छन् । पेलेले बलले हानेर आफ्नै भाइलाई मारेको भूठो किंवदन्ती होस् वा म्याराडोनाले अमेरिकामा सन् १९९४ मा विश्वकप जितेपछि पाखुरामा खोपेको ‘कम्युनिस्ट आइकन’ चे ग्वेभाराको ट्याटू सार्वजनिक गर्लान् भन्ने त्रासले आयोजकले उनलाई डोपिङमा सुनियोजित ढंगले फसाएको हल्ला नै किन नहोस् । एक से एक हल्लासँग नेपाली जानकार छन् । टोलमा यस्तै हल्ला सुनेर फुटबल खेल्न ऊर्जा मिल्छ । भकुन्डोमा नेपालीले मार्सल आर्टस्मा जस्तो पुरुषार्थ कहिल्यै देखाउन सकेका छैनन् । तैपनि, नेपालीमाझ फुटबलको लोकप्रियता बेग्लै छ । भनिन्छ, म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्ड विरुद्धको खेल जिताएपछि विश्वकप मैदानभित्रै गोर्खालीको प्रशंसामा शब्द खर्चिएका थिए । उनले बोले वा बोलेनन् । तर, मैदानभित्र गोर्खाली नभेटिएकै कारण इंग्ल्यान्डलाई हामीले जित्यौँ भन्ने उनको अभिव्यक्ती सम्झेर मात्रै पनि फुटबलमा राष्ट्रियता बोध गर्ने जमात् हाम्रो टोलभरी छ ।
गोर्खालीको देशमा फुटबल भनेपछि हुरुक्कै हुनेहरू असंख्य छन् । फुटबलमा हाम्रो लगानी कम छ, हामीले पाउने प्रतिफल कम छ । तैपनि, फुटबल हाम्रो नशा–नशामा दौडिएको छ । फुटबलले ध्यान खिच्ने बित्तिकै म विगतका ती यादगार दिनमा फर्कन्छु, जतिबेला हामी खुट्टाभरी हिलो बोकेर घर फर्कन्थ्यौँ र पम्पको पानीले त्यसलाई सफा गर्नुअघि बाबुआमाले दिएको गालीलाई उपहार सम्झेर पचाइदिन्थ्यौँ । स्कुल सकिएपछि प्रत्येक शुक्रबार फुटबल खेल्ने तालिका तय हुन्थ्यो । फुटबल खेल्न पशुपति बाबाको कैलाश आश्रम वा धर्मभक्त माथेमालाई मारिएकोे सिफल चौर उपयुक्त गन्तव्य थियो । सुवास, विशाल, मणि, फिन्जो, पविन्द्र, म र मेरो दाइ अन्तरिक्ष फुटबल भनेपछि हुरुक्कै । लिस्टमा भएका अरू थुप्रै साथीको नाम बिर्सिसकेँ । तर, हामीले नाम याद नहुने भएपछि कसैको नाम म्याङ्गो पु्टी त कसैको नाम म्यारो नै जुराइदिएका थियौँ । दिनभरी फुटबल खेलेपछि मणि, फिन्जो, सोनामलगायत हाम्रा केही छिमेकी साथी मिलेर राती एउटा सानो चौर खोज्थ्यौँ र एक इँटाको मूल्य एक रुपैयाँ राखेर फेरि बाजी थाप्थ्यौँ । जसले अन्त्यसम्म आप्mनो इँटा रक्षा गर्दै अरूको इँटा ढलाउँछ उसले सबै रुपैयाँ जित्थ्यो, त्यसरी खेल्ने क्रममा थुप्रैपटक झेली भएको थियो । हार हामीमध्ये कसैलाई पाच्य हुदैँन थियो र अन्त्यमा रेफ्री बस्नको थाप्लोमा सबै दोष दिएर हामी आठ बजेतिर बिदा हुन्थ्यौँ, टर्च बालेर धेरैपटक इँटा ढलाई खेलियो । ऋणपान गरेर पनि म्यारो बन्ने भूत सधैँ सवार हुन्थ्यो, कहिलेकाँही बाटामा फुटबल भेटियो भने म्यारो बन्ने भूत सवार भएर लात्ताले हान्ने बाल्यकालकै बानी स्वतस्फूर्त दोहोरिन्छ । फुटबलसँग जोडिएका अनुभव सायद धेरैसँग ताजै होलान् । फुटबल खेल्न पाएपछि कसैलाई अरू खेल खेल्ने इच्छा नै लाग्दैन थियो ।
नेपालमा फुटबल खेलेकै कारण पढाई बिर्गाने धेरै छन् तर सबैले व्यावसायिक फुटबलर बन्न कहाँ पाउँछन् । भनिन्छ, अर्जेन्टिना र ब्राजिलमा सबै प्रशिक्षक समान हुन्छन् । उनीहरूको आप्mनै खेलाउने सोच हुन्छ र उनीहरू सधैँ प्रशिक्षकले राम्रो टिम बनाउन नसकेको गुनासो चिया–पसलमा पोख्छन् । नेपालमा फुटबलको बेग्लै क्रेज छ । बाल्यकालमा हामीलाई म्यारो किन नेपालमा जन्मन सक्दैन भन्ने लाग्थ्यो । मेरो साथी दावा फिन्जो शेर्पाको खेल हेर्दा मलाई सधैँ ऊ भविष्यमा म्याराडोना बन्छ जस्तो लाग्थ्यो । तर, अहिले फिन्चो टे«किङ पेसामा छ । धेरैपछि पत्रकारितामा प्रवेश गरियो । खेलकुद पत्रकारिता गर्दै जाँदा थाहा भयो नेपालको फुटबल खेलाउने परिपाटीका कारण हजारौँ म्यारोहरू बाल्यकालमै सहिद हुन्छन् । यहाँ फुटबलका नाममा करोडौँ पैसा आउँछ । तर, त्यो पैसा कता जान्छ भन्ने सम्बन्धमा न पैसा पठाउनेलाई थाहा हुन्छ न त पैसा प्राप्त गर्ने संस्थामै छलफल हुन्छ । नेपालमा फुटबल सिकाउने ऐकेडेमी निकै कम छन् । तर, फुटबलको विकासका लागि धेरै पैसा आउँछ । फुटबल खेल्न चाहनेले आप्नो इच्छाशक्ती देखाउने मौका नै पाउँदैन । फुटबल खेलेर जीवन धान्ने निकै कम छन् त्यसैले कुल्ली काम गरेर छोरालाई बोर्डिङ स्कुलमा भर्ना गर्ने अभिभावक आप्mनो छोराले भकुन्डो खेलेको देखि सहँदैन । उसले अहिले पनि भकुन्डोलाई किताबको सौता सम्झन्छ । कवि भूपी शेरचनको कविता र गरिब देशको फुटबलको हाल मलाई मिल्दोजुल्दो लाग्छ । उनले भने भै एउटा गाइडले विदेशीलाई हाम्रो देशले लगाएको गुन सम्झाउँछ र फर्कने बेलामा एउटा क्यामेरा माग्छ । यस्तै अवस्था ब्लाटर कार्यकालमा गरिब देशको रह्यो । गरिब देशहरू केबल एउटा चुनाव र भोट सावित भए ।
सन् २००२ को विश्वकप समाप्तिपछि त्यतिबेला कुनै पत्रिकामा पढेको समाचारले मलाई अझै सोच्न बाध्य बनाउँछ । म्याराडानाले भनेका थिए, ‘ब्राजिलले रिभाल्डो, रोनाल्डिन्हो र रोर्बटो कार्लोसको आडमा विश्वकप जित्यो । तर, रोनाल्डोलाई नायक बनाइयो ।’ त्यतिबेला फिफा वर्ष खेलाडीको अवार्ड विश्वकपपछि रोनाल्डोलाई प्रदान गरियो, विश्वकपमै ओलिभर कहानलाई गोल्डेन बल र रोनाल्डो सिल्भर बलबाट सम्मानित भए । म्याराडोनाको आरोप थियो, ‘सबै सेप ब्लाटरको ग्राइन्ड डिजाइन हो ।’
अर्का महान् फुटबलर पेलेले ब्लाटरको विरोध गरेको कहिल्यै सुन्नमा आएन । उनै ब्लाटरले अहिले राजीनामाको घोषणा गरेपछि गरिब देशमा फुटबलले भोटभन्दा फरक अवतार लिन्छ कि भन्ने आशाको मुना पलाएको छ । फिफाले विशेष साधारणसभा बोलाएर नयाँ अध्यक्ष निर्वाचित नगरेसम्म गत शुक्रबार निर्वाचित भएका ब्लाटर नै फिफा अध्यक्ष रहनेछन् । ब्लाटरलाई जोर्डनका राजकुमार अलि विन हुसेनले कडा चुनौती दिने अनुमान थियो । ब्लाटरले त्यस्ता सबै अनुमानलाई गलत साबित गर्दै जिते । तर, ब्लाटरलाई नै विश्व फुटबल मानेर उनको छत्रछायाँमा थप चार वर्ष आआप्mनो देशमा राज गर्ने दाउ बनाएका विश्वका थुप्रै गरिब देशका पदाधिकारीहरू यतिबेला ब्लाटरको हारमा मलामी जानुपर्ने त्रासमा छन् । फिफामा ब्लाटरको यात्रा
फिफाबाट ब्लाटरको बर्हिगमनलाई एउटा युगको अन्त्यका रूपमा स्मरण गरिनेछ । उनी सन् १९७५ मा टेक्निकल डाइरेक्टरका रूपमा फिफामा प्रवेश गरेका थिए । व्यवस्थापकीय खुबीकै कारण ब्लाटर सन् १९८१ मा फिफाको महासचिवमा निर्वाचित भए । महासचिव ब्लाटरको तत्कालीन अध्यक्ष जोआओ ह्याभलेन्जसँग राम्रो सम्बन्ध थियो । ह्याभलेन्जले सन् १९९८ मा पद छाडेपछि फिफामा ब्लाटरको एक छत्र राज सुरु भयो । ब्लाटरले सोमाली फुटबल संघका अध्यक्ष फारा अडोको भोट खरिद गर्नका लागि त्यतिबेला एक लाख अमेरिकी डलर प्रस्ताव गरेको विषयले उनलाई विवादमा तानेको थियो । तर, विवादका बाबजुद उनी सन् २००२ र सन् २००७ मा निर्विरोध रूपमा अध्यक्ष निर्वाचित भए । सन् २००६ को विश्वकपमा नेदरल्यान्ड र पोर्चुगलबीचको एउटै खेलमा सर्वाधिक १६ पहेँलो तथा चार रातो कार्डको प्रयोग, विश्वव्यापी बन्दै गइरहेको फुटबल खेलमा विभिन्न बहानामा राष्ट्रिय लिग खेल्न विदेशी खेलाडीमाथि रोकलगायत विषयका कारण ब्लाटर बेलामौकामा विवादमा तानिएका थिए । उनी सन् २०१० को विश्वकपपछि गोललाइन टेक्नोलोजीको प्रयोगको विपक्षमा रहेर विवादमा तानिए । सन् २०११ मा उनै ब्लाटरले अध्यक्षका अर्का प्रत्यासी महोम्मद बिन हमामलाई फिफाबाट आजीवन प्रतिबन्ध लगाउने निर्णय लिए । त्यतिबेला बिन हमाममाथि कतारमा विश्वकप आयोजना गराउने क्रममा आर्थिक अनियमितता गरेको र अन्य देशका पदाधिकारीलाई प्रलोभनमा पारेर भोट खरिद गरेको आरोप थियो । ब्लाटरमाथि तत्कालीन समयमा कुनै आरोप लागेन र उनी सन् २०११ मा फेरि चार वर्षका लागि निर्वाचित भए । ब्लाटरले नयाँ कार्यकालका लागि निर्वाचित भए लगत्तै आप्mनो सक्रियता बढाएका थिए । तर, त्यसयता उनीसँग युरोपेली राष्ट्रहरू चिढिन थाले । कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न दिने निर्णयको विरोधमा उनीविरुद्ध मोर्चाबन्दी सुरु भयो । भोट खरिद प्रकरणमा हमाम प्रत्यक्ष रूपमा मुछिए पनि ब्लाटरको समेत संग्लनता रहेको तथ्य पटकपटक बाहिर आएको थियो । कतारलाई विश्वकप आयोजना गर्न दिन नहुने रिपोर्ट फिफाको एउटा समितिले तयार पारे पनि त्यसलाई बंग्याएर कतारलाई सबै आरोपबाट मुक्त गर्दै सन् २०२२ को विश्वकप आयोजना गर्न दिने घोषणा उनै ब्लाटर नेतृत्वको फिफाले ग¥यो । त्यसैकारण यसपटक निर्वाचनमा बहराइनका राजकुमार अलि बिन हुसेनसहित पूर्व फुटबलर लुइस फिगो र नेदरल्यान्डका माइकल भान प्रागको समेत उम्मेदवारी परेको थियो । प्राग र फिगोले हुसेनको समर्थनमा उम्मेदवारी फिर्ता लिए पनि यसपटक फेरि एसिया तथा अफ्रिकाका गरिब राष्ट्रका फुटबल पदाधिकारीको सहयोगमा ब्लाटरले चुनाव जितिछाडे । निर्वाचित भए पनि उनलाई सहयोग गर्न कार्यसमितिमा कोही तयार थिएनन् । ब्लाटरलाई सायद राम्रो जानकारी थियो, एसिया र अफ्रिकाका गरिब राष्ट्रले अध्यक्ष निर्वाचित गर्न सक्छन् र युरोप र अमेरिकालाई बाइपास गरेर फुटबल चल्न सक्दैन । चुनावअघि फिफाकै सात जना पदाधिकारीलाई स्विस प्रहरीले पक्राउ गरेपछि ब्लाटर थप तर्सिएका थिए । उनले राजीनामाका क्रममा भनेका छन्, ‘फिफासँग म नजिक छु र फुटबलसँग नजिक छु । तर, मलाई सबैको समर्थन प्राप्त होलाजस्तो लागेन ।’
नेपालमा कस्तो प्रभाव पर्ला ?
फुटबललाई केबल फुटबलकै रूपमा सीमित राख्नुपर्ने माग पछिल्लो समय उठेको थियो । यस मागको पक्षमा युरोप र एसियाका केही समृद्ध राष्ट्रसँग दक्षिण अमेरिकी राष्ट्रहरूको समेत साथ रह्यो । एसिया तथा अफ्रिकाका गरिब राष्ट्रहरू सधैँ ब्लाटरका लागि भोट बैंक साबित भए । पछिल्लोपटक सन् २०१२ मा नेपालमा भ्रमण गरेर ब्लाटरले आप्नो उपस्थिति देखाएका थिए । उनले त्यतिबेला नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटघाट गरेका थिए । ब्लाटरको राजीनामासँगै अब फुटबल विश्वव्यापी रूपमा पारदर्शी तबरबाट अघि बढ्ने अनुमान लगाइएको छ ।
यस्तो अवस्थामा एकलौटी ढंगबाट अघि बढिरहेको अखिल नेपाल फुटबल संघलाई पनि सरकार र देशका विभिन्न निकायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने दबाब अवश्य बढ्नेछ । केही समयअघि मात्रै अखिल नेपाल फुटबल संघका निलम्बित अध्यक्ष गणेश थापाले फिफाले पठाएको हिसाब अख्तियार र संसद्को सार्वजनिक लेखा समितिलाई देखाउनु नपर्ने बताएका थिए । नेपालमा आयोजना हुने गरेका अधिकांश प्रतियोगिताबाट संकलन हुने आर्थिक रकम कता जान्छ भन्ने स्वयं एन्फाकै अधिकांश पदाधिकारीलाई थाहा छैन् । उपाध्यक्षत्रय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङ पछिल्लो समय एन्फा शुद्धीकरणको माग उठाउँदै आन्दोलनमा छन् । सदस्य पंकज नेम्वाङले ब्लाटरको राजीनामापछि निलम्बित अवस्थामा रहेका एन्फाका अध्यक्ष गणेश थापालाई समेत राजीनामा दिन सुझाएका छन् । नेपालमा फुटबल खेल अहिले पूर्णतः मैदान बाहिर छ । राष्ट्रियस्तरमा संसद्को सार्वजनिक लेखासमिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण र अन्तर्राष्ट्रिय जगतमा फिफाको ज्युरिचस्थित मूख्यालयमा नेपाल फुटबलको अनियमिततासम्बन्धी मुद्दाहरू चलेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्ससहितका विभिन्न पत्रपत्रिका र फिफाका अड्डा अदालतमा नेपाली फुटबल पदाधिकारीले पैसाको बिटोले भकुन्डो खेलेको समाचार चर्चामा छ । केही समयअघि जर्मनीको एक पत्रिकाले व्यंग्य गर्दै कार्टुन नै छापेको थियो, ‘हाम्रो साथी सगरमाथाको बेस क्याम्पमा विश्वकप गर्न चाहन्छन् ।’ कतारलाई विश्वकप आयोजना गर्न दिने क्रममा फिफा पदाधिकारीले गरेको भ्रष्टाचारप्रति लक्षित गर्दै छापिएको कार्टुनमा नेपालका पदाधिकारीले फिफा अधिकारीलाई पैसाको सुटकेस बुझाएको स्केच समेटिएको थियो । कार्टुनको आशय नेपाली पदाधिकारीले पैसा बुझाउँछन् भन्ने होइन केबल फिफामा भ्रष्टाचार हुन्छ भन्ने मात्रै प्रमाणित गर्नु थियो । नेपाली पदाधिकारीले कति पैसा कुम्ल्याए भन्ने विषयमा अहिले फिफामै छानबिन चलिरहेको छ । फिफामा छानबिन चलिरहँदा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाको एउटै दाबी छ, ‘सुको भ्रष्टाचार गरेको भए पनि कारबाही गर्नु ।’ उनले यसअघि खुलेयाम संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार प्रमाणित गरेर देखाउन चेतावनी नै दिएका थिए । तर, थापाकाजीको चेतावनीसमेत स्वीकार्न नसक्ने अख्तियारले उनलाई कारबाही गर्ने साहस कसरी गरोस् ! बिचरा, अख्तियारले त थापाकाजीलाई सचेत मात्रै गरायो ।
अझ युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सदस्यसचिव युवराज लामाले छानबिनको नाटक मञ्चन गरे पनि थापालाई कुनै कारबाही गर्न सकेनन् । थापालाई कारबाही गर्दा नेपाली फुटबल डुब्ने खतरा मन्त्री र सदस्यसचिवले नै औँल्याएका थिए । ब्लाटरको राजीनामाले यस्ता शंका र आशंकाहरूलाई धेरै हदसम्म चिरेको छ । ब्लाटरले पद छाड्दा फुटबल अभै सशक्त रूपमा अघि बढ्छ भने गणेश थापाले छाड्दा नेपाली फुटबल अलपत्र पर्ला ? यस प्रश्नको जवाफ अब नेपाली खेलकुदको नेतृत्व हाँकिरहेकाहरूले खोज्न जरुरी छ । नभए एन्फा पदाधिकारीले फुटबल विकासका लागि एएफसीबाट आएको रकमले के–के गरे भन्ने सोधखोज फिफाले नै गर्नेछ । चाहे यू–१६ विश्वकपको छनोट खेलमा उमेरभन्दा बढीका खेलाडी खेलाएको प्रसंग होस् वा एसिया कपमा खेल मिलोमतोको आशंका नै किन नहोस्, एक से एक प्रश्नको जवाफ अब अन्तर्राष्ट्रिय समुदायले माग्नेछ । फिफामा ब्लाटरको हारसँगै नेपालको फुटबल नेतृत्व पनि डगमगाउने निश्चित छ । फेरि पनि सबैभन्दा ठूलो सवाल एन्फा अध्यक्ष गणेश थापामाथि नै उठ्नेछ । एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको खातामा एएफसीका निलम्बित अध्यक्ष मोहम्मद बिन हमामले पैसा जम्मा गरिदिएको रिर्पोट बेलायतको चर्चित पत्रिका द सनले प्रकाशनमा ल्याएपछि नेपाली फुटबलभित्रको झेलको पर्दाफास भएको थियो । विदेशबाट नेपाली फुटबलको विकासका लागि आएको गोलप्रोजेक्ट परियोजनासहित अन्य विभिन्न प्रायोजन सम्झौताबापत् एन्फाले प्राप्त गरेका रकम पारदर्शी हुनुपर्ने माग गरिरहेका पदाधिकारीहरूलाई ब्लाटरको राजीनामापछि शुद्धीकरणको मुद्दा उचाल्न केही सहयोग अवश्य पुग्नेछ ।
विदेशी अनुदान परै जाओस्, साफ च्याम्पियनसिपमा नेपाली खेलाडीको खेल हेर्नका लागि आफ्नो रोजी–रोटी कटौती गर्दै फुटबल हेर्न आउने दर्शकले टिकटका लागि खर्चिएको रकमसमेत अहिले गुमराहमा रहेको अवस्था छ । सन् २०१३ को साफ च्याम्पियनसिपका दौरान गेट मनी संकलनका लागि संयोजक नियुक्त गरिएका सुनील कपालीलाई नै थाहा छैन, टिकटबाट कति उठ्यो ?
अन्त्यमा, नेपाली दर्शक कसैले टेलिभिजन स्क्रिन अगाडी उभिएर दिएको झुठो भाषण होइन, फुटबलको सत्यतथ्य जानकारी चाहन्छन् । आपूले माया गरेको, लगानी गरेको र समय खर्चिएको खेलका सम्बन्धमा जानकारी राख्ने अधिकार अन्य विश्वका नागरिक भै नेपाली दर्शकलाई पनि छ । महाभारतकी गान्धारीले भै आँखामा पट्टी बाँधेर छानबिनको नाटक मञ्चन गर्ने युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामासहित खेलकुदको शीर्ष तहमा रहेकाहरूले ब्लाटर प्रकरणपछि फुटबलको सुन्दरताबारे बुभ्mन जरुरी छ, यो हजारौँ जनताबीच आपसी मनमुटाव त्यागेर पारदर्शी ढंगबाट मैदानभित्र खेल्दा सुन्दर देखिने खेल हो । कुनै बन्द कोठा वा क्यासिनोमा सुटकेस थमाएर खेलिने जुवा होइन ।
प्रतिक्रिया