सुर्खेत, २१ जेठ । बोक्सीको आरोपमा सुर्खेतमा एक जना एकल वृद्धालाई गाउँ निकाला गरिएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वतर्फ रहेको सुर्खेत नेटा गाविस–७ फालीकोट निवासी ६० वर्षीया मनकली चपाईंलाई बोक्सी आरोपमा स्थानीयबासीले गाउँ निकाला गरेका हुन् ।
मनकली बोक्सी लागेर फालिकोट निवासी गोमा तिवारी र चन्द्रकली चपाईं बिरामी भएको भन्दै स्थानीयले उनलाई गाउँ निकाला गरेका हुन । १२ जेठमा सिकिस्त बिरामी भएकी चन्द्रकली तिवारीले आफू बिरामी हुनुमा मनकली बोक्सी लागेर हो भन्ने बताएपछि स्थानीयले आफूमाथि अभद्र व्यवहार गरेको वीरेन्द्रनगर आइपुगेकी मनकलीले बताइन् । ‘गोमा र चन्द्रकला बिरामी रहेछन्’ पीडित मनकलाले भनिन् ‘बिरामी हुनुमा तेरो कारण छ । तँ बोक्सी लागेर उनीहरू बिरामी भएका हुन् भन्दै गाउँका केही व्यक्तिले मलाई कुटे ।’
न्याय माग्दै वीरेन्द्रनगर आएकी मनकलीले फालिकोटका झविलाल तिवारी, हुमबहादुर चपार्इं, पविसरा चपार्इं, दुर्गबहादुर चपार्इं, गोमा तिवारी र चन्द्रकली चपाईं गरी ६ जनासहित अन्य १३ जना विरुद्ध किटानी जाहेरी दिने बताएकी छन् । १२ जेठ राती बिरामी गोमाका आफन्तले तेरो कारण बिरामी भएकाले तुरुन्त हिँड भन्दै लिएर गएको उनले तयार पारेको जाहेरीमा उल्लेख छ ।
‘आफू बिरामी गोमाको घरमा पुगेपछि उनलाई सन्चो भएकाले गाउँलेले यही नै बोक्सी हो भनेर आरोप लगाए’ रुँदै मनकलाले भनिन्, ‘सुरुको पीडालाई सहेँ । पुनः गाउँमा चन्द्रकला बिरामी हुँदा गाउँलेले मानसिक तनाव दिएपछि गाउँ छोड्न बाध्य भएँ ।’ तत्कालीन शाही नेपाली सेनाले माओवादीको आरोपमा उनका श्रीमान् टीकाराम चपाईंलाई मारेपछि उनी छोराको सहारामा बस्दै आएकी थिइन् । गाउँमा दुई वटा नातिनीको साथमा बस्दै आएकी र छोरा रोजगारीको लागि भारतको गुजरात गएको पीडित मनकली बताउँछिन् ।
१७ जेठमा चन्द्रकलीका श्रीमान् झविलाल तिवारी र सासू रूपकला तिवारीले ‘यो बोक्सी हो, हाम्री बुहारी यसैले गर्दा बिरामी भएकी हो’ भन्दै कुटेको मनकलाले बताइन् । पटकपटक गाउँका एक/दुई बाहेक सबै मिलेर होच्याउने, अभद्र व्यवहारले गर्दा घरबस्ने वातावरण नभएपछि न्यायका लागि वीरेन्द्रनगर आएको उनी बताउँछिन् । ‘बोक्सीको घरमा खुर्सानीको धूप जलाउनु पर्छ र यसलाई मार्नुपर्छ भनेर झविलालले भन्यो’ पीडित मनकली भन्छिन् ‘ ज्यानै नरहने भएपछि सानी नातिनीहरूलाई आफन्तको जिम्मा लगाएर गाउँ छोडेर भागेँ ।’
मलाई अप्ठेरोमा नपार, बिहान छलफल गरौँला भन्दासमेत अपशब्द प्रयोग गर्दै तँ बोक्सी होस् तैले नाच्नुपर्छ नत्र बोरामा हालेर भीरमा फाल्छौँ भनेर मानसिक तनाव दिएको मनकलाले बताइन् । ‘बारम्बार आफूले बोक्सी नभएको इन्कार गर्दै आए पनि सबै एकापट्टी लागेकाले मेरो केही लागेन’ पीडित मनकलीले भनिन्, ‘सुतिरेहेको अवस्थामा ढोका फुटाएर गाउँका पविसरा, अमृता, दु्रपतीले लात्तीले हान्दै लछारेर बाहिर निकाले ।’
बोक्सी आरोप लगाएका झविलाल तिवारीले आफूहरूले अभद्र व्यवहार गरेको स्विकारे । ‘मनकली बोक्सी नै हो सर,’ तिवारीले फोनमा भने ‘सिकिस्त आफ्नो श्रीमती र गाउँकी एक महिलाले मनकलीका कारण आफूहरू बिरामी भएको काँम्दै बताएपछि बोक्सी रै’छ भनेर हातपात गरिएकै हो ।’ गाउँमा रहेको परम्परालाई मान्नै पर्यो, बिरामीलाई सन्चो बनाउन बोलाइएका धामी काम्नु अगावै बिरामीले मनकला बोक्सी रहेको पुष्टी भएको तिवारीले जानकारी दिए । तर, आफूहरूले गाउँ छोड्न दबाब भने नदिएको उनले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पीडित कार्यालयमा ढिला आएको भन्दै जाहेरी बुधवार दर्ता हुने जनाएको छ । जाहेरी दर्ता गरेर घटनाका दोषीहरूलाई कडा कारबाही गरिने प्रहरीले बतायो ।
प्रतिक्रिया