कुखुरा पाल्ने खोरमा बित्दै छ जिन्दगी !

5-page-photoवैशाख १२ को महाभूकम्पले घर बस्नै नहुने भएकी धादिङ तसर्पुकी सानोकान्छी तमाङलाई यतिबेला गाँसर बास दुवैको चिन्ता छ । ‘सन्तानको नाममा एउटा भएकी छोरी बिहे गरेर आफ्नो घर गइन्, बुढा परलोक भए । आफूसँग साथमा कोही छैन,’ मलीन अनुहारमा सानोकान्छी भन्छिन् ।

सानुकान्छीकै हविगत तसर्पुका नब्बे प्रतिशत जनताको साझा समस्या बनेको छ । सबैका घर सिसा जस्तै चर्केका छन् । फेरि बारम्बार आउने भूकम्पका कारण कोही घरभित्र जान सक्दैन । यतिबेला धेरैजसो जनता पाल र कुखुरा पाल्न बनाएको टहरोमा रात काट्न बाध्य छन् । केही केहीले पाललाई आफ्नो आश्रयस्थल बनाएका छन् । सानुकान्छी पनि छिमेकीको टहरोमा रात बिताउँछिन् ।

‘के गर्नु, छोरी बिहे गरेर गई, अरू कोही छैन । कोही आएर दिएको राहतले छाक टार्छु । कहिलेसम्म यसरी बाँच्ने ?’ भोलि के हुन्छ, उनलाई थाहा छैन । उनले आफ्नो दुःख बिसाउने कोसिस गरिन् । उनलाई अब आफ्नो बासस्थानको पनि उत्तिकै चिन्ता छ । ‘कोही छैन । कसले बनाइदेला र म बस्ने घर ?,’ आशा मिश्रित प्रश्न गरिन् उनले ।

आफ्नो उमेरसम्म जानकारी नभएकी ठूली तमाङलाई घर भन्नेबित्तिकै डर लाग्छ । ‘घरमा छोराबुहारी सबै छन् । बाहिरबाट हेर्दा सग्लो घर पनि छ । तर, भूकम्पका कारण आफ्नै घरले चेपेर मान्छे मरेको सुन्दा आफ्नो घरको पनि भरोसा छैन,’ उनले भनिन् । ‘के गर्ने ? जतिबेला पनि हल्लायो जस्तो लाग्छ । छोराबुहारीले पनि घर भत्किन लागेको छ भन्छन् । भूकम्प आएदेखि म त घरमा गएको छैन । ऊ त्यो छिमेकीको कुखुराको खोरमा सुत्छौँ राति, दिउँसो यताउता गरेर बिताउने गरेको छ,’ ठूलीले आफ्नो दैनिकी बताइन् ।

भूकम्पमा परी गाविसका दुईजनाले ज्यान गुमाएका छन् । घरबारविहीन भएका जनताका लागि सामाजिक संस्थाले दिने राहत तत्कालीन पेट भर्ने समस्या टरे पनि दीर्घकालीन समस्या बास बनेको छ । वडा नम्बर ४ की एकल महिला ऋद्धिकुमारी रिजालको समस्या पनि उस्तै छ । सात वर्षमा बिहे गरेका पतिले उनलाई तेह्र वर्षको उमेरमा एक्लै छोडेर हिँडे । एक्लो जीवनको संघर्ष गरिरहेकी उनी यतिबेला भूकम्पसँग अर्को संघर्ष गर्दैछिन् ।

‘एक्लै भएकाले शनिबारका दिन अबेला खाना खाने तर्खर गर्दै थिएँ । एक्कासी घर हल्लियो, सबै कराउन थाले । म पनि घरबाहिर निस्केर भागेँ । हेर्दाहेर्दै एकैछिनमा मलाई संरक्षण गर्दै आएको घर डरलाग्दो भयो, सबैतिर चिरैचिरा छन् । दिउँसो खुला आकाशमा बस्छु । राति छिमेकीको कटेरामा ओत लाग्ने गरेको छु,’ रिजालले भनिन् । उनले अनेक संघर्ष गरेर जीवन एक्लै काट्दै आएकी छन् ।

यतिबेला उनलाई अझ समस्या परेको छ– रातको समयमा कता जाने ? कसको संरक्षणमा बस्ने भन्ने । नजिकमा आफन्त कोही छैन । उनीसँग गाउँले र छिमेकी नै उनका भरपर्दा आफन्त भएका छन् ।
देवी देवताका बीच कुरा नमिलेर

गाविसको ५ नम्बर वडामा बस्ने काले वाइवाको समस्या पनि कम छैन । उनको ६ जनाको परिवार यतिबेला घर भएर पनि बेघर भएको छ । घरमा भएका बचेकुचेका सामान लिन घरभित्र जान सक्ने अवस्था छैन । बारम्बार आउने भूकम्पको धक्काले कतिबेला आफ्नो घरले आफैँलाई पुर्छ भन्ने त्रास छ, वाइवा परिवारलाई ।

दमको रोगले ग्रसित उनलाई घरबाहिरको खुला हावाले अझ बढी सताएको छ । जस्तो परे पनि सहनुको कुनै विकल्प छैन उनीसँग यतिबेला । रोग, भोग र शोकसँग जुध्दै सहगोगी हातको प्रतीक्षा गर्नु नै उनको बाध्यता बनेको छ । ‘राहत दिनेले जे दिन्छन् त्यही खान्छौँ । के गर्नु हिजोसम्म घर अन्न सबै थियो । आज चर्केको घर हेरेर बस्छौँ, भएको अन्न सबै घरभित्र छ तर भित्र जान सकिँदैन,’ कालेले आफ्नो कथा सुनाए ।

नब्बे सालको भूकम्पलाई नजिकबाट नियालेका ९३ वर्षका चम्पाबहादुर मगरलाई पछिल्लो भूकम्पले धेरै त्रसित पारेको छ । उनको भनाइमा, ‘उतिबेला एकैपटक ठूलो भूकम्प आयो । मर्ने मरे, घरबारविहीन हुने भए । तर, पछि अहिले जस्तो त्रास भएन ।’ उमेरले नेटो काट्दै गरेका उनलाई अहिले घरको वरिपरि जान पनि डर लाग्छ । वैशाख १२ गते भूकम्प जाँदा उनी परिवारसँग घरमै थिए, श्रीमतीको वैशाख २ गते निधन भएकाले छोराहरू काममा व्यस्त थिए । एक्कासी जमिन हल्लियो ।

चारैतिर मान्छे कराएको र घरहरू ढलेका आवाज आए । सबैलाई आ–आफ्नो ज्यान कसरी जोगाउने भन्ने चिन्ता भयो । उनी भन्छन्, ‘सुरुमा मैले पनि केही सोच्न सकिनँ । भूकम्प केही मत्थर भएपछि नातिनातिनालाई बोलाएँ । सबै सकुशल रहेछन् । सबै एकै ठाउँमा जम्मा भयौँ ।’

गाविस सचिव लेखनाथ भूषाल भन्छन्, ‘जनताको काम र अपेक्षा धेरै छ । तर, कार्यालयमा बसेर ढुक्कले काम गर्न पाएका छैनौँ । कतिबेला भूकम्प आउने हो र आफँ पुरिने हो भन्ने त्रासमा काम गर्न बाध्य छौँ ।’ गाविसभरमा रहेका घरमध्ये बस्नयोग्य घर १५ प्रतिशत पनि नरहेको उनको भनाइ छ ।

भूकम्पले बेला–बेला दुःख दिएको देख्दा चम्पाबहादुरलाई लाग्छ– देवी देवताको बीचमा पक्कै केही कुरा नमिलेकाले यस्तो भएको हो भन्ने । जतिबेला पनि मुटु कामेको काम्यै छ, कतिबेला, थर्काउने हो भनेर । न ढुक्कले खान पाएका छौँ न सुत्न । महिना बित्न लागिसक्यो, बारीको पाटामा रात बिताएको कहिल्यै शान्त हुँदैन ।

चम्पाबहादुरलाई मुलुकले भोगेको विपत्तिमा दुःख छ । उनी भन्छन्, ‘मजस्ता बुढाबुढी, केटाकेटी, बिरामी कसैले आराम पाएका छैनन् । मान्छे मरेका सुनिन्छ । यस्तो विपत्ति कसैलाई नपरोस । उहिले–उहिले बुढापाका भन्थे, ‘कलियुग आउँछ, कलियुग भनेको यही हो कि भन्ने लाग्न थाल्थो ।’

उनी यतिबेला आफू मात्र नभई सिंगो नेपालीले पाएको दुःखमा चिन्तित छन् । कोही मरेको वा घरबारविहीन भएको सुन्नु नपरोस् भन्ने कामना गरे उनले । जे भयो भयो अब कसैलाई केही नहोस् भनेर भगवान्सँग बेला–बेला पुकार गर्छन् उनी । तसर्पुका जनताको घर बाहिरबाट हेर्दा घरको संरचना देखिन्छ ।

भित्र चिरैचिरा छन्, कतिबेला कुन गाह्रो वा पाखाले चेपेर मरिने हो भन्ने डरमा छन्, जनता । एक हजार दुई सय घरधुरी रहेको उक्त गाविसका जनताले सरकारी तवरबाट सामान्य राहत पाएका छन् । यतिबेला गाविसको कार्यालयसमेत धरापमा छ ।

गाविस सचिव लेखनाथ भूषाल भन्छन्, ‘जनताको काम र अपेक्षा धेरै छ । तर, कार्यालयमा बसेर ढुक्कले काम गर्न पाएका छैनौँ । कतिबेला भूकम्प आउने हो र आफँ पुरिने हो भन्ने त्रासमा काम गर्न बाध्य छौँ ।’ गाविसभरमा रहेका घरमध्ये बस्नयोग्य घर १५ प्रतिशत पनि नरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘सबै घर चर्केका छन्, सानो धक्का आउँदा ढल्ने अवस्था छ । जनता घरमा बस्दैनन् । म आफू पनि पालमा बसेर रात काट्छु । सरकारको तर्फबाट आएको राहत क्षति र अवस्था हेरेर वितरण गरेँ अझै धेरै गर्नु छ ।’ यतिबेला उक्त गाविसमा रहेका धेरै विद्यालय सञ्चालन हुने अवस्थामा नरहेको उनको भनाइ छ । एक/दुई विद्यालय मात्र पठनपाठन गर्न योग्य रहेको सचिव भूषालले बताए ।

तसर्पुका जनताको समस्यामा केही राहत पुर्‍याउने उद्देश्यले हिमानी ट्रस्टले हालै पाँच सय परिवारलाई जस्तापाता वितरण गर्‍यो । गाविसका अति प्रभावित केही वडामा जनतालाई ट्रस्टको तर्फबाट अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहले जस्ता वितरण गरिन् । जस्ता पाएपछि जनतामा केही उत्साह र खुसी देखिन्थ्यो ।

‘भूकम्प आएयता खुला आकाशमा बसेका थियौँ, अब जस्ताको ओतमा बस्न पाइने भयो,’ रामबहादुर तमाङले भने । प्रभावित जनतालाई विभिन्न सामाजिक संघसंस्थाले पाल, दाल, चामल, नुन तेलस्ता राहत सामग्री वितरण गरेका थिए । तर, नाकैमुनि आएको वर्षामा कसरी बस्ने भन्ने चिन्ता भएका जनताले दीर्घकालीन रूपमा प्रयोग हुने जस्तापाता पाउँदा खुसी व्यक्त गरे ।

– चमिना भट्टराई

प्रतिक्रिया