सिड्नी, १६ वैशाख । नेपालको राजधानी काठमाडौंमा भूकम्पका कारण निकै ठूलो क्षति पुगेका समाचार आइरहेका बेला यसबाट पर्नसक्ने भौगोलिक असरका बारेमा पनि विभिन्न देशका विज्ञबीच चर्चाहरू सुरु भएका छन् ।
यस भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाइमा कुनै असर नपरेको विज्ञहरूको भनाइ छ ।
उनीहरूको प्रारम्भिक अनुसन्धानबाट यो तथ्य निस्किएको बताइएको छ । गएको शनिबार नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पबाट अकल्पनीय रूपमा मानवीय तथा भौतिक क्षतिको अनुमान गरिएको छ ।
सो भूकम्पबाट राजधानी काठमाडौंको भौगोलिक बनावटमा नै फेरबदल भएको बताइएको छ ।
म्ब्रिज विश्वविद्यालयका भू–गर्भसम्बन्धी विज्ञहरूले काठमाडौंको जमिन करिब तीन मिटर (दश फिट) दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरंगहरूले रेकर्ड गरेका तथ्यांकको आधारमा गरिएको अध्ययनमा यस्तो देखिएको ती विज्ञले जनाएका छन् ।
क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले सो तथ्य पत्ता लगाउनुभएको हो ।
ती मेसिनले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर काठमाडौंको जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उनको भनाइ छ ।
उनको यो अनुमान यसअघि आएको अर्काे एक तथ्यसँग नै मिल्दोजुल्दो रहेको बताइएको छ ।
यसअघि पनि गरिएको एक अर्काे अनुुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने बताइएको थियो ।
यसअघि पनि अस्ट्रेलियाको अडेलिड विश्वविद्यालयले गरेको अनुसन्धानमा यही तथ्य बाहिर आएको थियो । उक्त विश्वविद्यालयको भौतिक विज्ञान विभागका प्रमुख स्यान्डी स्टेसीले गरेको अनुसन्धानमा पनि सोही तथ्य बाहिर आएको थियो ।
हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोक्किई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरू सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पनि पाइएको छ ।
यस्ता चिराहरूले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरू रहेको बताइन्छ । सो कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ ।
यो तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्स (पृथ्वी अध्ययन विज्ञान विभाग) का प्राध्यापक मार्क अलेनले पनि स्विकारेका छन् ।
उनले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर सरेको हुनसक्ने र त्यस चट्टान दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गरे ।
‘सामान्य रूपमा यो भन्न सकिन्छ कि यस भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ,’ उनले भने, ‘यस भूकम्पको गहिराइ कम्तीमा पनि १५ किलोमिटर हो र यसपछिको मापनका आधारमा अध्ययन गर्दा यसले तीन मिटर स्थान छोडेको हुनसक्छ ।’
गएको शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसको भोलिपल्ट आइतबार पनि अर्काे शक्तिशाली भूकम्प आएको थियो ।
त्यसपछिका ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यसरी जमिनले स्थान छोडेको अनुमान गरिएको हो ।
प्रतिक्रिया