मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर : नेपाल मिडिया सोसाइटी

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले सञ्चार माध्यमहरूलाई त्रसित बनाउने र जनताको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने उद्देश्यले गरिएका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीले विज्ञप्ति जारी गर्दै मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर्न माग गरेका हुन् ।

असार २९ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थापित मिडिया हाउसहरूलाई लक्षित गरी सवारीसाधन पार्किङ गरिएको थियो । तिनकुने स्थित कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वर स्थित अनलाइनखबर र मध्यबानेश्वर स्थित हिमालय टेलिभिजनको कार्यालयको प्रवेशद्वार अगाडि आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गरी रहस्यमय तरिकाले निजी सवारी साधनहरू पार्किङ गरिएका थिए ।

समाचार संकलन, प्रकाशन तथा प्रसारण कार्यमा प्रत्यक्ष अवरोध सिर्जना गर्ने र मिडिया हाउसहरूलाई डर र त्रासको वातावरणमा राख्ने यस्ता उच्छृङ्खल गतिविधिका दोषीहरूमाथि तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न सोसाइटीले माग गरेको छ ।

साथै, स्वतन्त्र प्रेसको मर्यादा र सुरक्षामा आँच पुर्‍याउने यस्ता गतिविधिहरू पुनः नदोहोर्‍याउन सम्बन्धित पक्षलाई चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया