
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जना दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दाको अन्तिम फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको हो । सो मुद्दामा प्रतिवादी बनाइएका ७ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टेककुमार गुरुङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन् ।
जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार उनीहरूलाई सजाय निर्धारणका लागि आगामी असार २९ गतेको पेसी तोकिएको छ। विभिन्न कसुरमा दोषी ठहर भएका उनीहरूलाई कति कैद र जरिमाना हुने सोही दिन अन्तिम निर्णय हुनेछ । १० जेठ, २०८० मा सरकारी वकिल कार्यालयले पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरूद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरी ४ वटा कसुरमा मुद्दा दायर गरेको थियो। केही प्रतिवादी भने मुल्तवीमा परेका छन् ।
दोषी ठहर भएकामध्ये भुटानी शरणार्थी नेता टेकनाथ रिजाल ४ वटा कसुरमा दोषी ठहर भएका छन्। उनी सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको, राज्यविरुद्धको कसुरमा मतियार बनेको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका हुन् । उनले शरणार्थी परिचयपत्र किर्ते गरेको अदालतको ठहर छ । नेपालीलाई अमेरिका पठाउने नक्कली शरणार्थी बनाएर कार्यमा मतियार भएकाले राज्यविरुद्धको अपराधमा पनि मतियार भएको र एकीकृत कसुरमा पनि उनी दोषी भएको अदालतको ठहर छ ।
यस्तै, पूर्वउपप्रधानमन्त्री रायमाझी राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधको कसुरमा दोषी ठहर भएका छन् भने पूर्वगृहमन्त्री खाँण पनि सरकारी लिखत किर्तेबाहेक अन्य कसुरमा मतियार ठहर भएका छन् । पूर्वगृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारका रूपमा रहेका सानु भण्डारी र केशव दुलाल पनि सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदा छोरा सन्दीप रायमाझीले भने सफाइ पाएका छन् । यस्तै, पूर्वमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले सफाइ पाएका छन् । बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई भने दोषी ठहर भएका छन् ।
यस्तै, बेचन झालाई ठगी कसुरको उद्योग गरेको ठहर भएको छ । रामशरण केसीबाट २ करोडको चेक बुझिलिएको, तर खातामा पर्याप्त मौज्दात नभई साटिन नसकेको आधारमा ठगी कसुरको उद्योग (प्रयास) गरेको ठहर अदालतको छ । उनीविरुद्ध किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा भने अभियोग नपुगेको उल्लेख छ ।
को कुन कसुरमा दोषी ?
राज्यविरुद्धको कसुर र एकीकृत कसुर
टोपबहादुर रायमाझी
टेकनारायण पाण्डे
केशव दुलाल
सानु भण्डारी
सागर राई
सन्देश शर्मा
डा. इन्द्रजित राई
गोविन्दकुमार चौधरी
आङटावा शेर्पा
राज्यविरुद्धको कसुरमा मतियार
बालकृष्ण खाँण
टेकनाथ रिजाल
नरेन्द्र केसी
शम्शेर मियाँ
हरिभक्त महर्जन
निरञ्जनकुमार खरेल
ठगी तथा संगठित अपराधमा मतियार
बालकृष्ण खाँण
सरकारी लिखत किर्ते
टेकनाथ रिजाल
केशव दुलाल
सानु भण्डारी
ठगी तथा संगठित अपराध
केशव दुलाल
सानु भण्डारी
सागर राई
सन्देश शर्मा
डा. इन्द्रजित राई
गोविन्दकुमार चौधरी
आबटावा शेर्पा
टेकनारायण पाण्डे
टोपबहादुर रायमाझी
संगठित ठगीको कसुरमा मतियार
टेकनाथ रिजाल
नरेन्द्र केसी
शम्शेर मियाँ
हरिभक्त महर्जन
निरञ्जनकुमार खरेल
यी हुन् सफाइ पाउनेहरू
सन्दीप रायमाझी
प्रतीक थापा
टंककुमार गुरुङ
रामशरण केसी
केशव तुलाधर
आशिष बुढाथोकी
लक्ष्मी महर्जन
प्रतिक्रिया