बाल्यकालमै दीर्घरोग !

अहिले पनि हाम्रो समाजमा दीर्घरोग भनेपछि पाको मान्छेलाई मात्रै लाग्छ भन्ने भ्रम छ । दीर्घरोग बिस्तारै पुस्तान्तरण हुँदै गएको बारेमा विश्वास गर्ने अवस्था छैन । तर, समाजले विश्वास नगरे पनि पछिल्लो समय बालबालिकामा दीर्घरोगको समस्या बढ्दै गएको छ । रोगले उमेर होइन, वातावरण र अवस्था हेरेर मान्छे रोज्न थालेको छ । यी रोगहरू धेरैजसो वंशाणुगत भएकाले बाबुआमाबाट आएको हुने र कतिपय वातावरणका कारण हुने बताइन्छ ।

बालबालिकाको खानपान, आहारमा पर्याप्त ध्यान नदिँदा, बसाईंको अवस्था फरक हुँदा र शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको विज्ञ बताउँछन् । पछिल्लो समय सबैजसो दीर्घरोग कम उमेर भएका बालबालिकातिर सर्दै छ । १०, १२, १५ वर्षका बच्चामा पनि श्वासप्रश्वासको समस्या, मधुमेह जस्ता दीर्घरोग धेरै देखिने गरेको चिकित्सक बताउँछन् । कतिपयलाई त जन्मँदै श्वासप्रश्वासमा समस्या देखिने गरेका पनि पाइन्छ ।

मुटुरोग, सिकलसेल, बाथ, मधुमेह, क्यान्सर जस्ता दीर्घरोगका कारण बालबालिका प्रभावित हुने गरेका छन् । केही समय अगाडिसम्म यी रोग पाकालाई मात्रै हुन्छ भन्ने थियो । तर, त्यो बुझाइ र भनाइ अहिले खण्डित भएर बालबालिकामा झाँगिदो पाइन्छ । पछिल्लो समय यस्तो कुनै रोग नहोला बालबालिकामा पुगेको । धेरैजसो रोग त बालबालिकाले जन्मँदै लिएर आएको समेत हुनेगरेको विज्ञ बताउँछन् ।

विज्ञको अनुभवमा घरभित्रै बसेर टिभी, मोबाइल चलाउने, खाइरहने बच्चामा यस्तो समस्या बढी देखिएको छ । खेल्ने, कुद्ने उमेरमा घरभित्रै सीमित हुँदा शारीरिक तन्दुरुस्तीमा कमी आउँछ । यसले मोटोपन बढाउने, शरीर सन्तुलित नहुने समस्या देखिन्छ, अनि अन्य रोगलाई प्रश्रय दिन्छ । त्यो भनेको वंशाणुगत नभएकालाई पनि देखिने कारण हुन् । शारीरिक कसरत कम हुने र खानपानको सन्तुलन नमिल्दा पनि बालबालिको स्वास्थ्यमा असर पुग्ने गरेको पाइन्छ ।

यस्तै बालबालिकामा देखिने स्वास्थ्य समस्याका अन्य कारण भनेको विद्यालयमा जंगफुड लैजाने, अतिरिक्त क्रियाकलापमा भाग नलिने, कक्षा कोठाभित्रै सीमित रहने, घरमा फर्किएपछि पनि शारीरिक गतिविधिमा सामेल नहुने बालबालिका दीर्घरोगको निशानामा पर्ने गरेको विज्ञ बताउँछन् । विद्यालयमा जंगफुड लैजान नदिने, क्यान्टिनमा पनि नराख्ने, शरीर चलायमान हुने खालका अतिरिक्त क्रियाकलापमा बालबालिकालाई सहभागी गराइयो भने समस्यामा कमी आउने विज्ञ बताउँछन् । बच्चाहरू सबै एक ठाउँमा बस्ने, घुलमिल हुनुपर्ने भएकाले विद्यालयमा स्वास्थ्य सचेतना पनि आवश्यक रहेको बताइन्छ ।

मौसम, तापक्रमका कारण बालबालिका बिरामी हुने समस्या त छँदै छ । यसबाहेक ग्रामीण भेगबाट बसाईं सरेर सहर आएका बालबालिकामा रूघाखोकी लागिरहने समस्या हुनेगर्छ । त्यसले बालबालिका बिरामी भइरहने हुन सक्छन् । यसैगरी सहरीकरण, धुलो, धुवाँका कारण भएको एलर्जीले पनि उनीहरूको स्वास्थ्यमा असर पुग्छ । यसले बालबालिकामा दम बढाउन सक्ने विज्ञ बताउँछन् । यसलाई बाल दम पनि भनिन्छ । रूघाखोकी लाग्दा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धोइराख्ने, नाक–मुख नचलाउने कुरा बालबालिकालाई सिकाइराख्नुपर्छ । त्यसले हुनसक्ने ठुलो क्षति रोक्न सक्छ ।

पछिल्लो समय प्रदूषण बढ्दै गएको छ । ग्रामीण बस्तीमा भन्दा प्रदूषण सहरी क्षेत्रमा बढी देखिएको छ । यद्यपि गाउँ बस्तीमा समेत प्रदूषण छ । त्यसको स्वरूप मात्रै फरक हो । स्विट्जरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयर्सले काठमाडौँलाई दोस्रो वायु अस्वस्थ्य सहरको सूचीमा सूचीकृत गरेको छ । विज्ञका अनुसार विभिन्न प्रकारका धुँवा र धुलोबाट हुने प्रदूषण हानिकारक हुने भएकाले त्यसले विभिन्न प्रकारका रोग निम्त्याउन सक्छ । त्यसको असर बालबालिकमा धेरै हुने बताइन्छ ।

उच्च वायु प्रदूषणले विशेषगरी बालबालिका, नवजात शिशु, गर्भवती लगायतको स्वास्थ्यको अधिकारमा गम्भीर असर पर्ने विज्ञको अनुभव छ । यसले बालबालिकामा दीर्घरोग बनाउन सहयोग गर्छ । अस्वस्थ्यकर प्रदूषणले स्वास्थ्यमा सामान्यदेखि जटिल स्वास्थ्य समस्या निम्तने गर्छ । चिकित्सकका अनुसार प्रदूषणको जोखिममा दीर्घ रोगका बिरामी, वृद्ध, वृद्धा, १६ वर्ष मुनिका बालबालिका, गर्भवती, मुटुका दीर्घरोगी, दमका दीर्घरोगी बढी जोखिममा हुन्छन् । त्यसैले पनि पछिल्लो समय बालबालिकामा समेत दीर्घरोग बढ्दो रहेको छ । दीर्घरोग लागिसकेपछि जोखिम हुने भएकाले यसबाट बच्न सचेत हुनुपर्ने हुन्छ ।

खानपानको प्रभाव

माया गरेर बालबच्चालाई मागेजस्तो बजारिया र महँगो खाना दिँदा–दिँदा घरको खाना खान बिर्सने गर्छन् । चाउचाउ, कोकाकोला, फ्यान्टा, बिस्कुट र कुरमुरे जस्ता खानाले बच्चाको खाने बानी बिग्रन्छ । यही बानी बस्दै जाँदा तौल अस्वाभाविक रूपमा बढ्दै जाने र त्यसले स्वास्थ्यमा समस्या बनाउने विज्ञ बताउँछन् ।

ठुला मान्छेको मात्रै होइन, कतिपय अवस्थामा बालबालिकाको स्वास्थ्यमा समस्या देखिनुमा बानी, व्यवहार, भोजन र जीवनशैली पनि हुनेगर्छ । खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा पर्ने गर्छन् । खानपानका साथै सक्रिय जीवनका लागि बालबालिकालाई प्रेरित गर्दा उनीहरूको स्वास्थ्य राम्रो हुने बताइन्छ ।

यस्ता खानाको कुलतमा परेका बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम रहेने विज्ञ बताउँछन् । बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पनर्न सक्छ । पत्रुखानाका कारण बालबालिकामा बढिरहेको मोटोपनको ‘महामारी’ विरुद्ध लड्न घरेलु पौष्टिक खानेकुराको प्रवद्र्धन गर्ने, पत्रुखानाको विज्ञापन नियन्त्रण गर्दै लैजानु पनि आवश्यक छ ।

यसैगरी उच्च प्रदूषणले दीर्घकालीन फोक्सोका रोग, मुटुरोग मस्तिष्कघात, श्वासप्रश्वासको संक्रमणको जोखिम बढ्ने गर्छ । फोक्सो जालो पर्ने, फोक्सो खराब बनाउने, धुलोमा धेरै बस्ने महिलामा स्तन क्यान्सरको जोखिम हुन सक्ने विज्ञ बताउँछन् । विकासका नाममा भएका औद्योगिक क्षेत्रबाट निस्किएको धुवाँमा हानिकारक केमिकल हुने हुँदा रक्त क्यान्सरको जोखिम हुन्छ । यो समस्याबाट पछिल्लो समय धेरै बालबालिका प्रभावित भएको पाइन्छ । लामो समयसम्म प्रदूषण नजिक बस्नेलाई फोक्सोको क्यान्सरको जोखिम हुने बताइन्छ ।

प्रदूषणका कारण बालबालिकामा रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, ब्रोन्काइटिक्स रोग लाग्न सक्ने हुँदा सावधानी अपनाउन विज्ञ सुझाउँछन् । प्रदूषण स्वास्थ्यका हिसाबले हानिकारक भएकाले सकेसम्म प्रदूषणमा ननिस्कन चिकित्सकको सुझाव छ । निस्कनै परेमा अनिवार्य मास्क र चस्माको प्रयोग गर्नुपर्छ ।

विज्ञका अनुसार पछिल्लो समय बालबालिकामा देखिएको दीर्घरोगले कालान्तरमा समस्या बनाउने भएकाले बेलैमा सचेत हुनुपर्ने देखिन्छ । वंशाणुगत रूपमा देखिएका कैयौँ रोगको अलवा वातावरण र जीवनशैलीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्न सबैले सचेत हुनुपर्ने देखिन्छ । सबैले आफ्नो आनीबानी सुधारेर सचेत हुने हो भने, बालबालिकालाई दीर्घरोगबाट बचाउन सहयोग पुग्न सक्छ । अझ बालबालिकाले आफ्नो समस्या राम्रोसँग सुनाउन नसक्ने भएकाले पनि अभिभावकले बुझ्नुपर्ने हुन्छ । नत्र समस्या निकै जटिल हुनपुग्ने विज्ञ बताउँछन् ।

००००

बालबालिकामा दीर्घरोग बढ्दो छ : डा.गणेश कुमार राई, निर्देशक कान्ति बाल अस्पताल

डा.गणेश कुमार राई, निर्देशक कान्ति बाल अस्पताल

मान्छेलाई लाग्छ दिर्घरोग भनेको पाको मान्छेलाई मात्रै लाग्छ भन्ने । तर, होइन अहिले पछिल्लो समय बालबालिकामा पनि विभिन्न प्रकारका दीर्घरोग लागेको पाइन्छ । दीर्घरोगका कारण उपचार गर्न आउने बालबालिकाको संख्या बढ्दो छ । अझ सर्ने वा नसर्ने रोग बालबालिकामा बढ्दो रूपमा छ । यसले समाजलाई पछिसम्म नकारात्मक असर पार्ने देखिन्छ ।

मैले चिकित्सकीय पेसा सुरु गर्दा बालबालिकामा देखिने रोग भनेको निमोनिया, झाडापखाला, कुपोषण मुख्य हुन्थे । त्यसैअनुसार उपचार गरिन्थ्यो । तर, अहिले मान्छेको चेतनामा विकास भएको छ । मान्छेको आर्थिक अवस्था पनि सुध्रँदै छ । त्यसले गर्दा अहिले कुपोषण कम भएको पाइन्छ । निमोनियाका लागि पनि विभिन्न प्रकारका खोपहरू उपलब्ध छन् । यसमा सरकारले पनि व्यवस्था गरेको छ । नागरिक आफैँ पनि सचेत भएका कारण कम भएको छ । झाडापखाला पनि पहिलाभन्दा कम छ । भएमा घरमै पनि सावधानी अपनाएको पाइन्छ ।

तर, समयसँगै नयाँ नयाँ रोगहरू देखा परिरहेका छन् । स्क्रबटाइफस जस्ता सरुवा रोग भए । नसर्ने रोगमा क्यान्सर बालबालिकामा भयावह बन्दै छ । हामीले प्रयोग गर्ने विभिन्न केमिकलहरूले बढाउँदै छ । अर्को भनेको मुटुको रोग पनि बालबालिकामा बढ्दो छ । अझ जन्मजात मुुटुको रोग बढ्दो छ । त्यो बाहेक बाथ, सिकलसेल, मधुमेह रोग पनि बालबालिकामा निकै बढदो अवस्थामा छ । हामी कहाँ बालबालिकामा हुने बाथ हेर्ने विशेषज्ञ पनि कम छन् । यसका साथै अटिजम उत्तिकै छ । नेपालमा कति बालबालिकामा अटिजम छ भन्ने तथ्यांक छैन । भारतको तथ्यांक हेर्दा ७०–८० जना बालबालिकामा १ जना अटिजम भएको पाइन्छ । भारतको तथ्यांक हामीसँग धेरै कुराले मेल खान्छ । अझ सबै बाहिर आएको छैन भनिन्छ ।

दीर्घरोग वंशाणुगत हुन्छ । अभिभावकमा बढेपछि त्यसको असर बच्चामा पनि पर्छ । अहिले बालबालिकामा दीर्घरोग देखिनुको कारण पहिला पत्ता लाग्ने तरिका नभएर पनि हुन सक्छ । रोग पत्ता नलागेर कति बालबालिकाको मृत्यु भएको हुन सक्छ । त्यसबाहेक अहिले मान्छे सचेत भएका छन् । आफैँ पनि कतिपय कुराको जानकारी राख्छन् र सोहीअनुसार उपचारमा लागि हाल्छन् । उपचार गरेपछि रोग पत्ता लाग्छ । तर उपचारका क्रममा कति स्वास्थ्यसंस्थासम्म आए त्यो भने भन्न सकिन्न ।

वातावरणले पनि जिनमा असर पर्छ । वातावरण र केमिकलको बढ्दो प्रयोगले पनि दीर्घरोग बढाउँछ । त्यो भनेको ठुलो मान्छेलाई मात्रै हुन्छ वा बढ्छ भन्ने होइन । त्यसको असर बच्चामा पनि पर्छ र परिरहेको छ । जस्तो मुटुको रोग वंशाणुगत मात्रै हुँदैन । मुटुको रोग विभिन्न कारणले हुन्छ । बच्चा गर्भमा रहँदा आमाले प्रयोग गरेको औषधिले पनि असर गर्छ । बच्चा पेटमा रहेको बेला आमाको स्वास्थ्य अवस्था कस्तो थियो, उपचार कसरी भयो, औषधि के के प्रयोग भयो ? यी यस्ता कुराले पनि बच्चामा मुटुको रोग हुनसक्छ ।

अहिले हाम्रो समाज अप्राकृतिक भएको छ । यसले पनि बच्चामा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन् । त्यसमा पनि दीर्घरोग हुने कारण हुन सक्छ । त्यसैले नयाँ नयाँ रोगहरू आइरहेका छन् र त्यो सबै उमेर समूहमा पुगेको छ । रोग बढी देखिनुमा उपचारको दायरा बढ्नु पनि हो । त्यसैले अहिले बच्चामा देखिने स्वास्थ्य समस्याका कारण विभिन्न चेतनामूलक काम भइरहेका छन् । यसमा सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो खानपान हो । हरेक स्वास्थ्यमा खानपानको भूमिका रहन्छ । खानपान र व्यवहार सुधार गर्ने हो भने जोखिम कम हुन सक्छ ।

प्रतिक्रिया