
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । एडिबीका अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा सोमबार उक्त सम्झौता भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा २ आयोजनामा लगानी गर्न सो ऋण सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडिबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम–२) का लागि सो ऋण परिचालन गरिनेछ । अध्यक्ष कान्दाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौती सामना गर्न बैंक सधैँ सहयोगी हुने र नेपालको विकास प्राथमिकतासँग बैंकको प्राथमिकताको तादाम्य मिलाउने बताएका छन् ।
यी हुन् सरकारले ऋण लिएका २ आयोजना
हस्ताक्षर भएका सम्झौतामध्ये एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत भन्सार तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम–२) का लागि ५ करोड अमेरिकी डलर तोकिएको छ । एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि प्राप्त सहायता स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा परिचालन हुनेछ । यसबाट साना र मझौला सहरहरूको खानेपानी पूर्वाधारमा केन्द्रित भई १३ जिल्लाका ८ लाख ५० हजार जनसंख्या लाभान्वित हुने एडिबीको अनुमान छ । त्यस्तै, सासेकअन्तर्गतको ५ करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण भन्सार कार्यप्रक्रिया र लजिस्टिक सेवा आधुनिकीकरणमा गरिएका सुधारबापत बजेटरी सहायताका रूपमा परिचालन हुनेछ । उक्त सहयतामार्फत् सरकारले नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नेछ ।
०००
आज प्रधानमन्त्री बालेनसँग वान्–टु–वान् भेट

एडिबीका अध्यक्ष मासातो कान्दा र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच आज मंगलबार वान्–टु–वान् भेटवार्ता हुँदै छ । विभिन्न देशका राजदूतसँगै विदेशी उच्च अधिकारी तथा राजनीतिक व्यक्तिहरूसँग एक्लाएक्लै भेट्न अस्वीकार गर्दै आएका बालेनले पहिलो पटक कुनै विदेशी प्रतिनिधिसँग ‘वान्–टु–वान्’ भेटवार्ता गर्दै छन् । २ दिनका लागि नेपाल आएका कान्दाले आज बिहान प्रधानमन्त्री बालेनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र भारतीय विदेश सचिव विक्रम मिसरीलाई समेत भेट नदिएका बालेनको यो भेटले नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा सकारात्मक सन्देश जाने अर्थविद्हरूको बुझाइ छ । गत वैशाख ८ मा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुखहरू र जेठ २६ मा काठमाडौँ तथा नयाँ दिल्लीस्थित युरोपेली संघका २३ राजदूत तथा उपप्रमुख तथा कूटनीतिक प्रतिनिधिहरूसँग संयुक्त भेट गरेका बालेनले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञ वा उच्च अधिकारीसँग व्यक्तिगत भेटघाट गरेका छैनन् ।
प्रतिक्रिया