देशका आधा घरपरिवार घुमफिरबाट अझै टाढा !

पहिलो पटक आन्तरिक पर्यटन सर्वेक्षण

  • घुमन्तेले खर्चिन्छन् वार्षिक साढे ४ खर्ब रुपैयाँ
  • ओभरनाइट गर्नेको हिस्सा दुईतिहाइ
  • मनोरञ्जनभन्दा व्यावसायिक उद्देश्यका भ्रमण बढी
  • जेनजी र जेन अल्फाका कारण बढ्दै छ घुम्ने संस्कृति

काठमाडौँ । वर्षौँदेखि सरकारले आन्तरिक पर्यटक बढाउने भन्दै विभिन्न आकर्षक योजना तथा कार्यक्रम अघि सारे पनि नेपालका झन्डै आधा घरपरिवारका एक जना पनि कतै घुम्न ननिस्किएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो पटक गरेको पर्यटनसम्बन्धी विस्तृत सर्वेक्षणले झन्डै आधा घरपरिवारका कोही पनि पर्यटकीय गतिविधिमा संलग्न नभएको देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सञ्चालित ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१÷८२’ मा रात बिताउने र सोही दिन फर्किने भ्रमण, आन्तरिक तथा बाह्य भ्रमण तथा पर्यटनसँग सम्बन्धित वस्तु र सेवाहरूमा हुने खर्चलाई समेटिएको छ ।

सर्वेक्षणअनुसार नेपालको कुल परिवार संख्याको ४७.६ प्रतिशत घरपरिवारले कुनै पनि पर्यटकीय गतिविधि नगरेको भेटिएको हो । देशभरका कुल ६९.१ लाख घरपरिवारमध्ये ३६.२ लाख अर्थात् ५२.४ प्रतिशत घरपरिवार पर्यटकीय गतिविधिमा संलग्न हुने गरेको पाइएको छ भने ३२.९ लाख घरपरिवारले कुनै पनि पर्यटकीय गतिविधि नगरेको पाइएको छ । प्रतिहजार घरपरिवारमा ५२३ पर्यटक घरपरिवार र ४७७ गैरपर्यटक घरपरिवार रहेको देखिन्छ ।

देशमै घुम्नेले खर्चिन्छन् वर्षकै साढे ४ खर्ब

सर्वेक्षणअनुसार नेपालका आन्तरिक पर्यटकले भ्रमणमा पछिल्लो १२ महिनामा ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये रात बिताउने भ्रमणमा ३ खर्ब ४ अर्ब ४४ करोड र सोही दिन फर्किने भ्रमणमा ९० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । कुल खर्चमध्ये सबैभन्दा बढी हिस्सा स्वास्थ्य उपचारमा जाँदा ३१.७८ प्रतिशत र किनमेलमा जाँदा २६.० प्रतिशतमा गर्ने गरेको पाइन्छ । यस आर्थिक गतिविधिका कारण आन्तरिक पर्यटन क्षेत्रबाट कुल १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष मूल्य अभिवृद्धि (पुँजी) सिर्जना भएको छ । आन्तरिक पर्यटकीय उपभोग र मूल्य अभिवृद्धिले देशको जिडिपीमा २.६५ प्रतिशतको योगदान पु¥याएको देखिन्छ ।

रात बिताउने गरी घुम्ने धेरै

पछिल्लो समय स्तरीय होटल तथा होमस्टेहरू खुलेको र मानिसमा रात बिताउने गरी कतै जाने क्रम बढेको छ । कुनै समय नेपाली समाजमा रात बिताउने गरी घुम्न जाने चलन एकदमै कम थियो । तर, पछिल्लो समय विदेशीहरूको सिको गर्दै नेपाली पर्यटक पनि रात बिताउने गरी घुम्न जाने क्रम बढेको हो । सर्वेक्षणअनुसार आन्तरिक पर्यटकमध्ये ओभरनाइट गर्नेको संख्या ६५.५ प्रतिशत छ । जसमा साथीभाइ तथा आफन्त भेटघाट मुख्य उद्देश्य हुने गरेको देखिन्छ । रात बिताउने भ्रमणका लागि काठमाडौँ, चितवन र कास्की प्रमुख गन्तव्यका रूपमा देखिएका छन् ।

रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन र वार्षिक औसत भ्रमण आवृत्ति ४.८१ पटक रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ ८.१८ दिन र मधेस प्रदेशमा पनि औसत बसाइ ८.१८ दिन नै देखिएको छ । यसको अर्थ हो— सुदूरपश्चिम र मधेस प्रदेशमा रात बिताउने गरी घुम्नेहरूको संख्या उच्च छ । तर, संख्यात्मक हिसाबले गण्डकी प्रदेश सबैभन्दा अगाडि छ । पर्यटनको राजधानी पोखरा भएकाले मानिसहरू पटक–पटक पुगेको देखिन्छ । भ्रमणमा संख्याको हिसाबले गण्डकी प्रदेश सबैभन्दा अगाडि ६.२६ पटक र सुदूरपश्चिम प्रदेश सबैभन्दा पछाडि ३.३२ पटक रहेको देखिन्छ ।

यस्तै, सोही दिन फर्किने गरी किनमेलसँगै भ्रमण गर्न जानेको संख्या ३२.६ प्रतिशत छ भने स्वास्थ्य उपचार र साथीभाइ तथा आफन्त भेटघाटका नाममा भ्रमण गर्नेको संख्या २०.१ प्रतिशत छ । उद्देश्यका आधारमा शिक्षा र तालिमका लागि सबैभन्दा लामो बसाइ ९.१६ दिन रहने गरेको छ भने तीर्थयात्रा र किनमेलका लागि छोटो अवधिको यात्रा हुने गरेको देखिन्छ । व्यावसायिक भ्रमणहरू सबैभन्दा बढी ६.९ पटक र बिदा तथा मनोरञ्जनका भ्रमणहरू सबैभन्दा कम ३.०२ पटक हुने गरेको पाइन्छ । यसको अर्थ व्यावसायिक हिसाबले भन्दा मनोरञ्जनका लागि गरिने भ्रमण एकदमै न्यून देखिन्छ । मनोरञ्जनका लागि जाने पर्यटनमा भने कास्की पहिलो स्थानमा परेको छ ।

बढी भ्रमण गर्नेमा युवाको बाहुल्य, जेन अल्फाले लान्छन् परिवारलाई

युवा पुस्ता (जेन जेड) ले तुलनात्मक रूपमा बढी पटक भ्रमण गर्ने गरेका छन् भने उमेर बढ्दै जाँदा भ्रमणको आवृत्ति घट्दै गएको देखिन्छ । यस्तै, बालबालिका (जेनेरेसन अल्फा) लाई घुमाउने बहानामा घुम्न निस्किने क्रम पनि बढी देखिन्छ । यस्तै, विद्यालय÷कलेजले लैजाने भ्रमणका कारण पनि आन्तरिक पर्यटकमा युवा र बालबालिकाको संख्या बढी देखिन्छ । कुल ३६ लाख २१ हजार २९४ पर्यटक घरपरिवारमध्ये वर्षमा १ पटक भ्रमण गर्ने ३३.३ प्रतिशत, २ पटक गर्ने ३२.२ प्रतिशत र ३ वा सोभन्दा बढी पटक भ्रमण गर्ने ३४.५ प्रतिशत छन् । २०८१ असोजदेखि २०८२ भदौसम्ममा नेपालीले कुल २ लाख ९३ हजार सोही दिन फर्किने र ६ लाख २० हजार रात बिताउने भ्रमण गरेको देखिन्छ ।

६८.७ प्रतितशत पर्यटकले प्रयोग गर्छन् सार्वजनिक यातायात

आन्तरिक पर्यटकमध्ये ६८.७ प्रतिशतले सार्वजनिक यातायात प्रयोग गर्ने गरेको तथ्य भेटिएको छ । साथीभाइ तथा आफन्त भेटघाट गर्न जानेहरू र किनमेलका लागि जानेहरूले धेरैजसो सार्वजनिक सवारीसाधन नै प्रयोग गर्ने गरेका छन् । यद्यपि, उद्देश्यअनुसार यातायातका माध्यमहरूमा छनोटपूर्ण भिन्नता पाइन्छ । शिक्षा तथा तालिम र व्यावसायिक÷व्यापारिक यात्रामा जानेहरूले हवाइमार्गको प्रयोग गर्ने गरेका छन् । स्वास्थ्य तथा उपचार र सामूहिक रूपमा गरिने धार्मिक यात्राहरूका लागि सवारीसाधन रिजर्भ गर्ने गरेका छन् ।

केमा हुन्छ धेरै खर्च ?

भौगोलिक क्षेत्रका आधारमा पर्यटकहरूको किनमेल स्वरूपमा केही भिन्नता देखिएको छ । सहरी र ग्रामीण दुवै क्षेत्रका यात्रुका लागि कपडा नै सबैभन्दा बढी खरिद गरिने साझा वस्तु भए पनि सहरी घरपरिवारले यसमा केही बढी (३३.१ प्रतिशत) खर्च गरेको देखिन्छ । ग्रामीण क्षेत्रका यात्रुले कच्चा खाद्य पदार्थ र मदिरामा तुलनात्मक रूपमा बढी खर्च गर्छन् । जबकि सहरी क्षेत्रका यात्रुले उपहार र अन्य किनमेलका वस्तुहरूमा बढी जोड दिएको पाइन्छ । तयारी खानाको हकमा भने सहरी र ग्रामीण दुवै क्षेत्रका पर्यटकको रुचि र खर्च लगभग समान रहेको देखिन्छ ।

प्रतिक्रिया