देउरालीमा १० मिनेट : बादलसँग लुकामारी

(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)

मनसुन सक्रिय भएसँगै देशभरिको मौसम निरन्तर परिवर्तनशील बनेको छ । कतै अत्यधिक गर्मी त कतै लगातार वर्षा भइरहँदा नेपालका पहाडहरू हरियालीले ढाकिएर प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको छ । यतिबेला काठमाडौँबाट कुलेखानी हुँदै देउराली भएर हेटौँडा पुग्ने सडकखण्डमा यात्रा गर्नेहरूले अनौठो मौसमको अनुभव गर्न सक्छन् । काठमाडौँ र हेटौँडामा गर्मी महसुस भइरहे पनि यी दुई सहरलाई जोड्ने सडकको देउराली क्षेत्रमा भने मौसम बिल्कुलै फरक देखिन्छ । जहाँ केही समयअघि घाम लागेको आकाश केही मिनेटमै बाक्लो बादल र हुस्सुले ढाकिन्छ ।

(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)

केही क्षणमै वरिपरिका हरिया डाँडाकाँडा, सुन्दर इन्द्रसरोवर (कुलेखानी) जलाशय र रमणीय दृश्य स्पष्ट देखिन्छन् भने अर्को केही मिनेटमै बाक्लो हुस्सुका कारण केही मिटर परसम्म पनि देख्न नसकिने अवस्था सिर्जना हुन्छ । काठमाडौँको बल्खुबाट करिब ४५ किलोमिटर दूरीमा रहेको देउराली, काठमाडौँ–हेटौँडा सडकखण्डमा चल्ने सवारीसाधनहरू खाना खान र विश्राम गर्न रोकिने प्रमुख स्थानका रूपमा परिचित छ । यो क्षेत्र प्राकृतिक सौन्दर्यका लागि मात्र नभई ऐतिहासिक महत्त्वका कारण पनि उत्तिकै विशेष छ ।

यातायातको आधुनिक सुविधा विकास हुनुअघि मकवानपुरको धोर्सिङदेखि काठमाडौँको मातातीर्थसम्म सामान ढुवानी गर्न प्रयोग गरिएको नेपालको पहिलो रोपवे (Ropeway) यही क्षेत्रबाट सञ्चालनमा आएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा वि.सं. १९८१ (सन् १९२४) तिर निर्माण भई पछि अमेरिकी सहयोगमा विस्तार गरिएको उक्त ऐतिहासिक रोपवेको इतिहास झल्काउने केही संरचनाहरू आज पनि देउराली क्षेत्रमा देख्न सकिन्छ ।

(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)

(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)
default

प्रतिक्रिया