बझाङको विद्यालयमा सामान्य विवादपछि कुटपिट : उल्टै छुट्याउन गएका व्यक्तिको मृत्यु, एक जना पक्राउ

तस्विर एआई

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–३ रकेल स्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय गगन धामी रहेका छन् ।

असार १९ गते बिहान करिब ११ः३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । उक्त विवाद बढ्दै जाँदा भएको कुटपिटमा परेर शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए ।

सोही क्रममा झगडा छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामीको टाउकोमा पनि गम्भीर चोट लागेको थियो । घटनालगत्तै दुवै घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए भने गम्भीर घाइते भएका गगन धामीलाई थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा असार २० गते आज बिहान करिब १०ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा बझाङ दुर्गाथली गाउँपालिका३ बस्ने २८ वर्षीय सिंहराज धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीमाथि हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया