काठमाडौं उपत्यकाको पर्यावरण र सम्पदा जोड्न पशुपतिदेखि कीर्तिपुरसम्म साइकल र्‍याली

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक धरोहर र वातावरण संरक्षणलाई जोड्दै पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘साइकल र सम्पदा, पशुपति देखि कीर्तिपुर’ साइकल र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ ।

स्टोरी साइकलको मुख्य आयोजना तथा बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजित यस र्‍यालीमा ३५० जना साइकलयात्रीहरूको सहभागिता रहेको थियो ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्र तिलगंगाबाट सुरु भएको र्‍याली बागमती कोरिडोर र बल्खु हुँदै कीर्तिपुरको जोशी ननि हेरिटेज होममा पुगेर समापन समारोहमा परिणत भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका निमित्त प्रदेश सचिव अजय विक्रम मानन्धरले समापन समारोहलाई सम्बोधन गर्दै भने, ‘पर्यावरण र जैविक विविधताको रक्षा सिंगो समुदायको साझा जिम्मेवारी हो, साइकल र सम्पदाु जस्ता हरित अभियानले समुदायमा वातावरणमैत्री जीवनशैली अपनाउन ठूलो प्रेरणा दिने छ ।’

कार्यक्रमका संयोजक देवेन्द्र बस्न्यातले उपत्यकाभित्र दिगो शहरी यातायात को आवश्यकतामाथि चर्चा गर्दै उपत्यकाका ऐतिहासिक सम्पदाहरूलाई आपसमा जोड्न बागमती कोरिडोरलाई हब बनाई साइकल लेन निर्माण गर्न सकिने र यसले हरित यातायातमा ठूलो टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपाल साइक्लिङ फेडरेसनका अध्यक्ष र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रा कीर्तिपुर स्वयंसेवक समाज, रसुवा नुवाकोट पर्यटन समाज, नेपाल बार एसोसिएसन खेलकुद समिति तथा समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल लगायत सम्पूर्ण साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न भएको थियो ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया