मुगुमा जातीय भेदभाव अन्त्यका लागि सहभोज

मुगु । जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने उद्देश्यले मुगुको छायानाथ रारा नगरपालिकाले अन्तरसंवाद तथा सहभोज कार्यक्रम आयोजना गरेको छ । शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता, दलित सञ्जालका प्रतिनिधि, कर्मचारी, अन्य सरोकारवाला तथा सर्वसाधारणको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले एउटै स्थानमा बसेर सहभोज गर्दै जातीय विभेद सामाजिक अपराध भएको सन्देश प्रवाह गर्नुका साथै सामाजिक सद्भाव, समानता र भाइचाराको व्यावहारिक अभ्यास गरेका थिए । नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै व्यवहारमै परिवर्तन गर्न आवश्यक रहेको बताए। छुवाछूत अन्त्यका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले जातीय आधारमा विभेद गर्न नहुने बताए ।

सामाजिक रूपान्तरणका लागि सहभोजजस्ता कार्यक्रम प्रभावकारी माध्यम भएको बताउँदै उनले दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान तथा परम्परागत पेसाको संरक्षण र प्रवर्द्धनका लागि देशका ७५३ स्थानीय तहमध्ये पहिलोपटक छायानाथ राराले दलित नीति तथा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।

दलित अधिकारकर्मी बलराम साहनीले जातीय विभेद अन्त्यका लागि व्यावहारिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रम सदरमुकाममा मात्र सीमित नराखी ग्रामीण बस्ती र स्थानीय समुदायका अगुवालाई समेत समेटेर सञ्चालन गरिए अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

Screenshot

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले जातका आधारमा नभई मानवता र क्षमताका आधारमा सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताए । छुवाछूत व्यवहारमै अन्त्य नभएसम्म कानुनी व्यवस्थाको पूर्ण अर्थ नहुने उल्लेख गर्दै उनले सहअस्तित्व, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको प्रस्ट पारे ।

अन्य वक्ताहरूले पनि जातीय विभेद अन्त्यका लागि सोच र व्यवहार दुवैमा परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए । दलित हेल्प डेस्कका प्रतिनिधि कालीबहादुर नेपालीले सहभोज सामाजिक रूपान्तरणको महत्त्वपूर्ण अभियान भएको उल्लेख गर्दै विभेदरहित समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया