
काठमाडौँ । बुधबार बिहानैदेखि अधिकांश निजी पेट्रोल पम्प बन्द भएपछि उपभोक्तले सास्ती खेप्नुप¥यो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बुधबार काठमाडौँ उपत्यकाका अधिकांश पेट्रोल पम्प बन्द रहे । कामविशेषले हिँडेका उपभोक्ताले दिनभर लाइन बसेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र साझा पेट्रोल पम्पबाट तेल भर्न बाध्य भए ।
लामो समयदेखि स्थिर रहेको पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोेल पम्पहरूले पुरानो मौज्दात नयाँ मूल्यमा बेच्दा घाटा हुने भन्दै बिक्रीवितरण नै बन्द गरेका हुन् । जबकि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ । मूल्य बढेका बेला अतिरिक्त समय पनि पम्प खोलेर पुरानो मौज्दात बेच्ने पम्पहरूले मूल्य बढ्दा भने कृत्रिम अभाव देखाएर बिक्री बन्द गरेका हुन् । पेट्रोल र डिजेलको भाउ घटेपछि बढी निजी पम्पहरूले बुधबार ‘पेट्रोल÷डिजल छैन’ लेखेका ब्यानर टाँसेर कारोबार बन्द गरेका हुन् । तेलको भाउ घट्ने सुइँको पाएपछि कतिपय निजी पम्पले मंगलबार डिपोबाट तेल नै नउठाएको र बुधबार ढिला उठाएका कारण पनि चाप परेको हो । तर, केही निजी पम्पले भने नियमित तेल बेचेका थिए ।
नेपाल आयल निगम र व्यवसायी दुवैको मिलेमतोमा तेल नउठाएकोतर्फ समेत कतिपयले प्रश्न उठाएका छन् । बजारमा कम्तीमा २ दिनलाई पुग्ने तेल सुरक्षित हुनुपर्नेमा एकै रातमा आपूर्ति ठप्प हुनुले आयल निगमको भण्डारण क्षमता, व्यवस्थापन र नियतमाथि पनि गम्भीर प्रश्न खडा गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । साथै बजारको नियमन र अनुगमन गर्ने मुख्य जिम्मेवारी पाएको वाणिज्य विभाग तथा नापतौल विभागले आफ्नो दायित्व पूरा गर्न नसक्दा व्यवसायीहरूको मनोबल बढेको आरोप लागेको छ ।

अत्यधिक गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र आयल निगमको टोलीले आकस्मिक रूपमा ५ वटा पम्प अनुगमन गर्दा ४ वटा बन्द अवस्थामा भेटिएका थिए । विभागका अनुसार ती पम्पहरूले तेल लुकाएको नभई स्टक नभएको पाइएको थियो । आयल निगमले मंगलबार माग भएजति तेल बिक्री नगरेका कारण पेट्रोल पम्पहरूमा स्टक सकिएको विभागका एक अधिकारीले बताए । यसै कारण पम्पलाई कारबाही नगरिएको ती अधिकारीले जानकारी दिए ।
त्यस्तै, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्वप्रसाद अर्यालले पेट्रोल स्टक नभएकै कारण दिउँसो २ बजेसम्म कुनै–कुनै पम्प सञ्चालन नभएको दाबी गरे । उनले भने, ‘भाउ घट्दै छ भन्ने उपभोक्तालाई पनि थाहा थियो, जसकारण मंगलबार तेल भर्नेको संख्या न्यून थियो । पम्पहरूले पनि धेरै बिक्री नभएपछि मंगलबार तेल उठाएनन् । बुधबार बिहानैदेखि उपभोक्ताको चाप देखियो । स्टक हुन्जेल बेचे । सकिएपछि बन्द गरेका हुन् । तर, दिउँसो २ बजेदेखि सबै पम्पमा तेल पुगिसकेको थियो ।’ उपत्यकामा हुने ट्राफिक जामका कारण थानकोट डिपोबाट तेल ल्याएर पम्पमा अनलोड गर्न झन्डै ४ घन्टा समय लाग्ने उनले दाबी गरे ।
यता, अत्यावश्यक सेवा बन्द गरेको भन्दै चौतर्फी आलोचना भएको छ । लामो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्व सम्हालेका पूर्वसहसचिव कुमारप्रसाद दाहाल पेट्रोल पम्पहरूले तेल नउठाएर बजारमा सिर्जना गरेको हाहाकार उपभोक्तामाथिको अन्याय भएको बताउँछन् । उनले भने, ‘स्वचालित मूल्य प्रणाली (अटोमेसन) अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा पनि प्रत्येक १५ दिनमा मूल्य समायोजन हुनु नियमित प्रक्रिया हो । मूल्य घटबढ भइरहने यस्तो प्राविधिक व्यवस्थालाई बहाना बनाएर आपूर्ति ठप्प पार्नु स्टक वा ग्यासको अभाव नभई व्यवसायीको बदनियत र जानाजान गरिएको खराब प्रवृति हो ।’
व्यवसायीहरूमा नाफा कमाउँदा बडो खुसी हुने तर मूल्य घट्दा उपभोक्तालाई राहत दिन नचाहने प्रवृत्ति यो घटनाबाट प्रष्ट भएको उनले बताए । उनले भने, ‘विगतमा मूल्य प्रतिलिटर २० रुपैयाँसम्मले ह्वात्तै बढ्दा अघिल्लो दिनकै स्टकबाट व्यवसायीहरूले ठुलो नाफा कमाएका थिए, जसको भार उपभोक्ताले नै बेहोरेका थिए । अहिले बजारमा मूल्य घट्दा र उपभोक्ताले केही राहत पाउने स्थिति बन्दा घाटा भयो भन्दै तेल लुकाएको हो वा नउठाएको हो भने यो दादागिरी र गैरजिम्मेवारीपन हो ।’ कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प र व्यवसायीहरूमाथि सरकारले तत्काल र कठोर कानुनी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘पेट्रोल पम्पहरूको स्टक जाँच गर्न मात्र ५ मिनेट लाग्ने र उनीहरूको चलानबाटै वास्तविक अवस्था छर्लंग हुने भएकाले यो नियन्त्रण गर्न नसकिने विषय होइन । स्टक हुँदाहुँदै बिक्री रोक्नेमाथि कालाबजारी ऐन, अत्यावश्यक सेवा ऐन, उपभोक्ता संरक्षण ऐन, नापतौल ऐन र स्थानीय प्रशासन ऐनअन्तर्गत तत्काल कडा कारबाही अघि बढाउनुपर्छ ।’ स्टक सकिएको हो भने के कारण हाहारकार भयो पत्ता लगाएर सरकारले तत्काल एक्सन लिनुपर्नेमा दाहालले जोड दिए ।
बजारको नियमन र अनुगमन गर्ने मुख्य जिम्मेवारी पाएको वाणिज्य विभाग तथा नापतौल विभागले आफ्नो दायित्व पूरा गर्न नसक्दा व्यवसायीहरूको मनोबल बढेको उनको भनाइ छ । जनतालाई प्रत्यक्ष राहत मिल्ने समयमा बजारलाई यसरी बन्धक बनाउने प्रवृत्ति निरुत्साहित गर्न सरकार समयमै सक्रिय हुनु जरुरी रहेको उनको भनाइ छ ।
त्यस्तै, उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव अधिवक्ता विष्णुप्रसाद तिमल्सिना पेट्रोल पम्पहरूले उपभोक्तामाथि गरेको व्यवहार सरासर ‘लुट र अपराध’ भएको प्रतिक्रिया दिए । उनले भने, ‘मूल्य बढ्दा रातारात तेल ल्याएर बेच्न सक्ने व्यवसायीले अहिले मूल्य घट्दा पम्प नै बन्द गरेर बदमासी गरे ।’ यस्तो विषयमा आयल निगम र व्यवसायीबीच पुरानै गहिरो साँठगाँठ रहने गरेको उनको आरोप छ । अत्यावश्यक सेवा र वस्तुमा यसरी बन्द हड्ताल गर्नु, इन्कार गर्नु वा बिक्री गर्दिनँ भन्नु कानुनी रूपमा मिल्दै नमिल्ने भन्दै तिमल्सिनाले यो उपभोक्तामाथि गरिएको एउटा ठुलो समूहगत अपराध (मास क्राइम) र आमन्त्रित हड्ताल भएको दाबी गरे ।
उनले भने, ‘यसको अनुगमन र कारबाही गर्ने मुख्य जिम्मेवारी नेपाल आयल कर्पोरेसनको हो भने बजारमा अत्यावश्यक सेवा सुचारु गराउने दायित्व प्रमुख जिल्ला अधिकारी र गृह प्रशासनको हो । जानीजानी नियतवश अत्यावश्यक सेवा बन्द गर्नु प्रचलित कानुनबमोजिम फौजदारी अपराधअन्तर्गत पर्छ ।’ अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेलमा ३० र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको थियो ।
प्रतिक्रिया