
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूबाट मन्त्रालयको विभिन्न शीर्षकमाथि रूपमा छलफल भइरहेको छ । सांसद भरतकुमार स्वारले बाँदर र बँदेलको समस्यालाई कतिपय व्यक्तिले हाँसोमा उडाएको भन्दै देशभरि जनताले दुःख पाएर थातथलो नै छाडेर जानुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रालयको छलफलमा मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने माग गर्दै नियमावली अनुसार बैठक सञ्चालन गर्न माग गरे । उनले धनकुटामा विशेष कारागार बनाउन जग्गाको व्यवस्था भइसकेको अवस्थामा बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं उपत्यकामा ल्याएर उपयोग भए पनि मेलम्चीमा बाढी प्रभावित जनताका पीडाप्रति सरकारको खासै ध्यान नगएको गुनासो गरे । उनले मेलम्ची र इन्द्रावती आयोजनाको खेतीयोग्य जमिन व्यवस्थापन र समुदायको हितमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
सांसद हर्कराज राई (साम्पाङ) ले बजेटको प्रभावकारी कार्यान्वयनका लागि कानुनी समस्या देखापर्ने गरेको उल्लेख गर्दै यसलाई समयमै सम्बोधन गर्न सरकारसँग माग गरे । उनले योजना तथा परियोजनाको प्रभावकारिताका लागि नियमित अनुगमन आवश्यक पर्नेमा जोड दिए । सांसद राईले कारागारमा सङ्ख्या बढाउनुभन्दा हरेक व्यक्तिलाई नैतिक र सामाजिक शिक्षा दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद खुस्बु ओलीले सरकारले विनियोजन विधेयकमाथिको छलफलमा कम समय प्रदान गरेको भन्दै यसले बजेटमाथिको छलफल कर्मकाण्डी मात्रै हुने धारणा व्यक्त गरिन् । उनले मदनभण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, रेल मार्ग, उत्तरदक्षिण राजमार्ग र नागढुंगा सुरुङमार्गलगायत योजनामा बजेट निरन्तरता दिनु राम्रो विषय भएको बताइन् । साथै, उनले निर्माण पनि हुँदै छ कि बजेट मात्रै छुट्याइँदैछ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद पुनमकुमारी अग्रवालले सिँचाइले मात्र किसानको आवश्यकता पूरा हुन नसक्ने भएकाले मल, बीउ र बिजनलाई पनि विशेष ध्यान दिनुपर्ने र प्राङ्गारिक खेतीतर्फ मुलुकलाई लैजानुपर्नेमा जोड दिइन् । सांसद मोहन अचार्यले पूर्वाधार निर्माणका देखिएका समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमा अध्यादेशमार्फत सुधार गरिएको भए पनि अझै पनि समस्या रहेको बताए । साथै, उनले यसले गर्दा अन्तरराष्ट्रिय निर्माण व्यवसायीले समेत कठिनाइ भोग्नु परेको जानकारी गराए ।
सांसद महेन्द्रबहादुर शाहीले अदालतमा मुद्दाको चाप बढेको भन्दै यसको समाधानका लागि बजेटमा आवश्यक कार्यक्रम नआएको बताए । बजेटमा क्षेत्रीय सन्तुलन नदेखिएको उल्लेख गर्दै उनले औद्योगिकीकरणसँग ऊर्जालाई जोड्नुपर्ने उल्लेख गरे । उनले उत्पादन र रोजगारीको व्यवस्था पर्याप्त नभएको टिप्पणी गरे ।
सांसद राधिका रम्तेलले सधैँ सडक निर्माणमा बजेट विनियोजन गरिने भए पनि दिगो निर्माण नहुने भएकाले वर्षामा सधैँ भत्किने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले बजेट खर्च मात्र होइन परिणामको पनि जवाफदेहिता र सुनिश्चितता गर्नुपर्ने माग गरिन् ।
सांसद रजनी श्रेष्ठले कतिपय वडामा प्रहरीको आधारभूत आवश्यकता पनि पूरा नहुने पूर्वाधार रहेको उल्लेख गर्दै प्रहरीलाई प्रभावकारी रूपमा काम गर्नका लागि सेवा पनि वृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले आवश्यक सवारीसाधन र इन्धन नहुँदा कतिपय अवस्थामा प्रहरीले अपराध नियन्त्रणमा समस्या भोग्नुपरेको प्रसंग सुनाइन् ।
सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि विमानस्थलको स्तरोन्नति तथा पूर्वाधार सुधार कहिलेसम्म हुन्छ भनी सरकारसँग प्रश्न गरे । उनले बजेटमा पूर्वाधार र ऊर्जाको उचित व्यवस्था नभएको उल्लेख गर्दै जिल्लामा सडक निर्माणका लागि बजेट न्यून भएकाले त्यसको प्रतिफल नदेखिने बताए ।
प्रतिक्रिया