
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले गत आइतबार प्रतिनिधिसभाको बैठकमा सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेपाल कम्युनस्टि पार्टी (नेकपा) सकडमा उत्रिएको छ ।
बिहीबार नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा प्रधानमन्त्री वालेनको अभिव्यक्तिप्रति विरोध गर्दै र उनको राजीनामा माग्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीको माग छ । नेकपाले पनि प्रधानमन्त्री शाहले माफी मागेर राजीनामा दिनुग्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन भएपछि संसद बैठकमा नबोलेका प्रधानमन्त्री शाह गत आइतबारको बैठकमा पहिलो पटक सहभागी भएर सांसदहरुको प्रश्नका जवाफ दिएका थिए ।
सोही क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राइले लिपुलेक र लिम्पियाधुराको सीमा विवादबारे प्रधानमन्त्री शाहलाई प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको छ’ भन्दै जवाफ दिएका थिए । प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति राज्यको हित विपरित रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।















प्रतिक्रिया