तिलामा बाल कचहरी सम्पन्न : बालबालिकाका सवाल समेटिएको १० बुँदे प्रतिबद्धतापत्र जारी

मुगु । जुम्लाको तिला गाउँपालिकामा बालबालिकाका सवाललाई स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन गर्ने उद्देश्यले आयोजना गरिएको बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको समापनसँगै ‘बाल कचहरी तिला प्रतिबद्धतापत्र’ जारी गरिएको छ, जसमा १० बुँदे प्रतिबद्धताहरू समेटिएका छन् । प्रतिबद्धतापत्रमा गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया, उपाध्यक्ष गोरीकला बुढालगायत जनप्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट तथा कार्यक्रममार्फत बालबालिकाका मुद्दालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धताअनुसार सामाजिक कुरीति न्यूनीकरणका लागि नीति तथा बजेटमै प्राथमिकता दिइने, साथै पालिकाका ९ वटै वडामा घरदैलो अभियान सञ्चालन गरिने उल्लेख छ । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने नीति कार्यान्वयन गरिने र अपांगता भएका ६७ जना बालबालिकालाई शिक्षामा समेट्ने विशेष पहल गरिने पनि प्रतिबद्धता–पत्रमा समावेश छ । त्यसैगरी अनाथ, विपन्न तथा जेहेन्दार बालबालिकाको पहिचान गरी आवश्यक राहत तथा सहयोग उपलब्ध गराइने र बालबालिकाको क्षमता विकासमा लगानी वृद्धि गरिने योजना रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रोकायाले बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले निरन्तर लगानी गर्दै आएको बताए । उनका अनुसार अध्यक्ष कोषमार्फत मात्रै हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम बालबालिका लक्षित कार्यक्रमहरूमा खर्च भइसकेको छ । उपाध्यक्ष बुढाले आगामी बजेट, नीति तथा कार्यक्रममार्फत बालबालिकाका मुद्दालाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइन् । उनले बालबालिकाको समृद्धिका लागि आवश्यक लगानीमा कुनै कन्जुस्याइँ नहुने स्पष्ट पारिन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेतले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिएको बताउँदै लागुऔषध दुव्र्यसन रोकथाम तथा बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यविधि, रणनीति तथा योजनाहरू निर्माण भइसकेको जानकारी दिइन् । उनका अनुसार बालबालिकाको वस्तुस्थिति विवरणसमेत तयार गरिएको छ । कार्यक्रममा सहभागी बालबालिकाहरू सुस्मा हमाल, धर्मेन्द्र भट्टराई, सुवास बस्नेत, गणेश परियार र भरोसा योगीले बालबालिका लक्षित कार्यक्रम र बजेट वृद्धि गर्न माग गरेका थिए । वल्र्ड भिजन इन्टरनेसनलको आर्थिक सहयोग, तिला गाउँपालिकाको समन्वय तथा किर्डाक नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया