
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणापछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन् ।
उनले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल १० शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्समार्फत आमन्त्रित गरेका छन् ।
पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान हाल तेहरान र वासिंगटनबीच मध्यस्थकर्ताका रूपमा देखापरेको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले ‘इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विस्वास व्यक्त गरेका छन् ।
तेहरान र वासिंगटन दुवैले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘इरानलाई नष्ट गर्ने समयसीमा’ समाप्त हुनुभन्दा १ घण्टा अघि मात्र २ हप्ताको युद्धविरामका लागि सहमति भएको बताएका छन् । इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । फेब्रुअरी–२८ मा सर्वोच्च इरानी नेताको हत्या भएको थियो भने तेहरानबाट प्रतिक्रया स्वरूप खाडी राष्ट्रहरू र इजरायलमाथि जबाफी आक्रमणहरू भएको थियो ।
इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो ।
सरिफले लेबनानसहितका क्षेत्रमा युद्धविराम लागू भएको बताएका छन् । यद्यपि इजरायलले त्यस क्षेत्रमा हिजबुल्लाहविरुद्ध कारबाही गरिरहेको जनाउँदै यस क्षेत्रमा युद्धविराम लागू नभएको जिकिर गरेको छ ।
इरानका सबै पावर प्लान्ट र पुलहरू नष्ट गर्ने ट्रम्पको धम्कीलाई रोक्न पाकिस्तान लगायतका मध्यस्थकर्ताहरूको आह्वानमा अस्थायी युद्धविराम भएको जनाइएको छ । टर्की र इजिप्टले पनि हालैका दिनहरूमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
विश्वको प्रतिक्रिया : सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा
पेरिस । संयुक्त राज्य अमेरिका र इरानले २ हप्ताका लागि युद्धविराममा सहमति जनाएपछि दुवै पक्षले आफूलाई विजयकर्ता घोषणा गरेका छन् । यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाहरूले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन् ।
दक्षिण कोरियाले युद्धविरामको स्वागत गर्दै यसले होर्मुज जलडमरूमध्य हुँदै आफ्ना सबै जहाजहरू सुरक्षित मार्गमा ल्याउने विश्वास व्यक्त गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार, सरकारले २ पक्षबीचको वार्ता सफलतापूर्वक सम्पन्न हुने आशा गरेको छ र सम्बन्धित देशहरूसँग सञ्चार तथा परामर्शमार्फत जलडमरूमध्यको सुरक्षित नेभिगेसन सुनिश्चित गर्ने योजना बनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ताका अनुसार महासचिवले अमेरिका र इरानको घोषणालाई स्वागत गरे पनि युद्धविरामका सर्तहरूको पालना गर्न र अन्तर्राष्ट्रिय कानुनअनुसार दायित्व पूरा गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
अस्ट्रेलियाले युद्धको दीर्घकालीन असरको चेतावनी दिँदै युद्धविराम कायम राख्न र द्वन्द्व समाधानमा ध्यान दिनुपर्ने बताएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार, युद्धले विश्वव्यापी अर्थतन्त्रमा ठुलो प्रभाव पार्नेछ र मानव जीवनमा उच्च लागत निम्त्याउनेछ । उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुन पालना गर्न र नागरिक जीवनको रक्षा गर्न आह्वान गरे ।
न्युजिल्यान्डले युद्धविराम स्वागत गरे पनि स्थायी शान्ति कायम गर्न अझै महत्वपूर्ण काम बाँकी रहेको बताएको छ । विदेशमन्त्री विन्स्टन पिटर्सका प्रवक्ताले न्युजिल्यान्ड आगामी दिनहरूमा द्वन्द्वको स्थायी अन्त्यका लागि सबै प्रयासहरूमा समर्थन दिने बताए ।
जापानले होर्मुज स्ट्रेटमार्फत सुरक्षित नेभिगेसन सुनिश्चित गर्न ठोस कदम आवश्यक रहेको बताएको छ । जापान विश्वको चौथो ठुलो अर्थतन्त्र र तेलको पाँचौँ ठुलो आयातकर्ता भएकाले यस मार्गको सुरक्षा त्यसको लागि अत्यन्त महत्वपूर्ण छ ।
इराकले युद्धविरामलाई स्वागत गर्दै अमेरिका र इरानलाई गम्भीर र दिगो संवादका लागि आह्वान गरेको छ । इराकको विदेश मन्त्रालयले भनेको छ, ‘विवादका मूल कारणहरूलाई सम्बोधन गर्ने र आपसी विश्वासलाई बलियो बनाउने संवाद आवश्यक छ ।’
विश्वभरका देशहरूले मध्यपूर्वको स्थिरता र व्यापारिक मार्गहरूको सुरक्षा सुनिश्चित गर्न युद्धविरामको महत्व स्वीकार गर्दै थप कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस घटनाले अन्तर्राष्ट्रिय समुदायलाई युद्धको जोखिम कम गर्ने, आर्थिक अस्थिरता घटाउने र मानव जीवनको सुरक्षा सुनिश्चित गर्ने चुनौतीको आवश्यकता स्मरण गराएको छ ।
प्रतिक्रिया