चुनावका कारण मिथिला परिक्रमा र होली प्रभावित हुने चिन्ता

१९ फागुनमा भारतबाट हिँड्नेछन् पदयात्री, तर सीमा सिल हुँदा कसरी नेपाल प्रवेश गर्ने अन्योल

जनकपुरधाम । यतिबेला सिंगो देश चुनावी माहोलमा रंगिएको छ । देशभर चुनावी गतिविधि बाक्लिँदै जाँदा अन्य नियमित गतिविधि भने छायामा पर्न थालेका छन् । यसैबीच, मिथिलाका प्रख्यात पर्व मिथिला मध्यमा परिक्रमा र होली पनि प्रभावित हुने संकेत देखिएपछि मिथिलाबासी चिन्तित बनेका छन् । चुनावको १ दिनअघि मिथिलाको होली पर्व परेकाले हर्षोल्लाससाथ मनाइने होली र प्रत्येक वर्ष मनाइने मिथिला मध्यमा परिक्रमा ओझेलमा पर्ने चिन्ता बढेको हो ।


त्रेतायुगमा भगवान राम र भगवती सीताको विवाह भएको स्मरणमा राजा जनकको राज्य मिथिला तथा राजधानी जनकपुरधामलाई केन्द्रमा राखी प्रत्येक वर्ष मिथिला मध्यमा परिक्रमा गर्ने पौराणिक परम्परा छ । यस परिक्रमामा नेपाल र भारतका लाखौँ साधुसन्त तथा गृहस्थ नरनारी सहभागी हुँदै आएका छन् । तर, यस पटक चुनावकै बेला परिक्रमा परेकाले प्रभावित हुने भएको हो । नेपाल र भारतमा यो धार्मिक पदयात्रालाई मिथिलाको महाकुम्भसमेत मानिन्छ ।

धनुषाको कचुरी मठबाट मिथिला बिहारी र जनकपुरधामको सुन्दर सदनबाट किशोरीजीको डोलाको नेतृत्वमा विधिवत् रूपमा आगामी फागुन ५ गते निस्किने १५ दिने परिक्रमा प्राचीन मथिलाको मध्य भागको यात्रा हो । तर, यस पटकको पदयात्रा र चुनाव एकै पटक परेकाले साधुसन्त र गृहस्थ समाजलाई चिन्ता बढाएको छ । भारतको कल्याणेश्वरबाट १९ फागुनमा जनकपुरधाम फर्किनेछ । तर, २१ गतेको चुनावका लागि ७२ घन्टाअघि नै सीमा नाका सिल हुने भएकाले तिर्थालु कसरी नेपाल प्रवेश गर्ने भन्ने चिन्ता र चासो थपिएको मिथिलाबासी बताउँछन् । यस्तै, मिथिलामा हर्षोल्लासपूर्वक मनाइने होली पर्व चुनावको १ दिनपहिले परेकाले पर्व पनि प्रभावित हुने भएको छ ।

मिथिलाको महाकुम्भ मानिने यो पर्वमा मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिरमा ल्याउने परम्परा छ । फागुनको औँसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थल हुँदै ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १२० किलोमिटर पैदल यात्रा गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका ४ शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।

१५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर टोली फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ, र जनकपुरधामको ५ कोसे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ । १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटकस्थलका रूपमा प्रसिद्धि दिलाउने गर्छ । माध्यमिकी परिक्रमामा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको छ । मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको छ । महाशिवरात्रीलगत्तै सुरु हुने यो यात्रा फागु पूर्णिमाका दिन होली खेलेर समापन गर्ने परम्परा छ । परिक्रमाको अन्तिम विश्रामस्थल जनकपुरधाममा राति यात्रा विश्राम गरी अन्तिम प्रहरमा अन्तरगृही परिक्रमा गरिन्छ । जानकी र राम मन्दिरलाई केन्द्रविन्दु मानी अन्तरगृह परिक्रमा गरेसँगै मिथिलामा होली पर्व सुरु हुन्छ ।

प्रतिक्रिया