काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ । विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ११५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका महानगर शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा यस वर्ष १४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन् ।

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाको अवसर पारेर यसवर्ष १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । यसरी अक्षरारम्भ गर्नेहरूमा ५२५ जना छात्रा र ५९० जना छात्र छन् । यो संख्या गएको वर्षभन्दा १४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयहरूमा छन् ।

अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वांगीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरिन् । ‘सामुदायिक विद्यालयहरूबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध, साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ ।

यसबाट विद्यालयहरूबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ,’ उनको भनाइ थियो । धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, निलबाराही माध्यमिक विद्यालय, टंकेश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् ।

प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरले विद्यार्थी संख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो । निमित्त प्रमुख ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाका लागि भर्ना भने वैशाख महिनामा हुनेछ ।

‘भर्ना आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्वपूर्ण’

यसैबीच सरोकारवालाले विद्यार्थीहरूलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । जिल्ला समन्वय समिति ललितपुरद्वारा शुक्रबार आयोजित ललितपुर जिल्ला केन्द्रित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी शैक्षिक बहसमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले विद्यालयको समस्या समाधान गर्न नेतृत्वकर्ता प्रधानाध्यापकबाट नै समस्याको संकलन गरेर प्रभावकारी समाधानमा काम गर्न लागिएको बताएका हुन् ।

‘देशको संविधानले शिक्षा नागरिकको नैसर्गिक अधिकारको रूपमा स्थापित गरेको छ, संविधानले गरेको व्यवस्था कार्यान्वयनमा हामीले ध्यान दिनुपर्छ, तसर्थ जिल्लाका ६ वटै स्थानीय तहसँग समन्वय गर्नेछौँ, विद्यार्थी र विद्यालयका सबै समस्या समाधानका लागि ध्यान दिन्छौँ, स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई नै जिम्मेवार बनाउने गरी काम गर्छौं,’ उनले भने । प्रमुख फुँयालले सबै सामुदायिक विद्यालयका शैक्षिक समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा ध्यान दिएर लाग्ने बताए ।

कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले शिक्षा क्षेत्रमा सुधारका लागि लामो समयसम्म निरन्तर योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहबाट प्रभावकारी समन्वय, सहयोग र सहकार्य गर्ने बताए । जिल्ला शिक्षा समन्वय इकाई ललितपुरका प्रमुख प्रकाश सापकोटाले प्रधानाध्यापक नै विद्यालयको नेतृत्वकर्ता भएकोले विद्यार्थीको शिक्षण सिकाइ उपलब्धि हासिल गर्न, शैक्षिक गुणस्तर सुधार्न र विद्यालयका समस्या समाधान गर्दै गुणस्तरमा उत्कृष्टता हासिल गर्न ध्यान दिनुपर्नेमा जोड दिए । ललितपुर महानगरका शिक्षा महाशाखाका निर्देशक देवीप्रसाद उपाध्यायले कक्षा कोठाभित्रको वातावरण सुधार नभएसम्म शिक्षण सिकाइ उपलब्धि हासिल नहुने भन्दै यसका लागि उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले अहिले देशभर कुल बजेटको ११ प्रतिशत मात्रै शिक्षा क्षेत्रमा लगानी भएको जानकारी गराउँदै २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

बज्रबाराही माध्यमिक विद्यालय चापागाउँका प्रधानाध्यापक रामेश्वर महर्जनले १ हजार ३४७ जना विद्यार्थी अध्ययन गरिरहेको आफ्नो विद्यालय गोदावरी नगरपालिकाभरका विद्यालयमा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्न सफल भएको बताए । महाँकाल गाउँपालिका–४ कालेश्वरस्थित बागभैरव प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलाप्रसाद तिमल्सिनाले अघिल्लो वर्ष सत्प्रतिशत नतिजा हासिल गर्न सफल भएको आफ्नो विद्यालयले विद्यार्थी संख्या सुधार र नजिजा वृद्धिका लागि भौतिक सुधार र विद्यार्थीका लागि छात्रबासको व्यवस्था गरेको बताए ।

कोञ्ज्योसोम गाउँपालिका–२ शंखुस्थित मगरगाउँ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक सुरेशशर्मा बजगाईले आफ्नो विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै बसाइँसराइ र अभिभावक वैदेशिक रोजगारीमा हुँदा बालबालिका सहरी क्षेत्रमा केन्द्रीकृत भएको कारण विद्यार्थी संख्या घटेको धारणा राखे । ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयका प्राधानाध्यापक मीरा श्रेष्ठले आफ्नो विद्यालयले विद्यार्थीको आवश्यकता र रुचीमा आधारित सिकाइलाई जोड दिएको जानकारी गराउँदै विद्यार्थीकोबाट आएको आलोचनात्मक सुझावलाई पनि ग्रहण गर्दै शिक्षणलाई जोड दिइरहेको बताइन् । महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालय हेमराज भट्टराईले सिभिल इन्जिनियरिङमा ४४ जना विद्यार्थीसहित यो वर्ष १ हजार ३५४ जना अध्ययनरत रहेको जानकारी गराउँदै शैक्षिक सुधारका लागि ध्यानदिँदै बालमैत्री, विद्यार्थीमैत्री र सूचनाप्रविधिमा आधारित रहेर शिक्षण गर्ने पद्धतिलाई जोड दिइएको बताए । जिल्ला समन्वय समिति ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेल्वासेले सहरी क्षेत्रमा विद्यार्थीको संख्याअनुसार विद्यालय नभएको र ग्रामीण क्षेत्रमा विद्यालयअनुसार विद्यार्थी संख्या नभएको यथार्थलाई स्वीकार गर्दै शिक्षा क्षेत्रमा भएका काम र भएको लगानीको एकीकृत प्रतिवेदन तयार गरेर प्रत्येक पालिका र विद्यालयमा पठाउने कार्य जिल्ला समन्वय समितिले गर्ने जानकारी गराए ।

प्रतिक्रिया