पुस १० गते त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने

काठमाडौं । देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नोबेल पुरस्कार विजेता जापानी प्राद्यापक ताकाआकी काजितालाई प्रमुख आतिथि बनाएर ५१औँ दीक्षान्त समारोहको तयारी गरेको छ । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

जापानबाट फर्किएर त्रिविका उपकुलपति भएका प्राडा दीपक अर्यालको पहलमा काजिता दीक्षान्त समारोहमा सहभागी हुने भएका हुन् । पुस १० गते दशरथ रंगशालामा हुने ५१औँ दीक्षान्त समारोह नोबेल पुरस्कार विजेता काजिताको उपस्थितिले विशेष र ऐतिहासिक बन्ने उपकुलपति प्राडा अर्यालले विश्वास व्यक्त गरेका छन् । नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वविद्यालयको अन्तराष्ट्रिय गरिमा बढ्ने उनले बताए ।

प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीको अध्यक्षतामा शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन र ४९ जना त्रिवि सिनेट सदस्यहरु गाउनसहित उपस्थित रहने समारोहको सञ्चालन रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले गर्ने तय भएको छ ।

सहपरीक्षा नियन्त्रक कविराज पौड्यालले जनाए अनुसार यो शैक्षिक सत्रमा स्नातक देखि विद्यावारिधि सम्म उत्तीर्ण हुनेको संख्या ८९ हजार १ सय ९१ रहेको छ । उनीहरू सबै समारोहमा सहभागी हुन योग्य भएपनि १६ हजार ३ सय ८० जना विद्यार्थीले मात्र समारोहमा सहभागी हुन आवेदन दिएका छन् ।

आवेदक मध्ये स्नातकमा ११ हजार २ सय ३४, अधिस्नातकमा १४, स्नातकोत्तर तहमा ४ हजार ८ सय ६० त्यसैगरी दर्शनाचार्यमा १ सय २० र विद्यावारिधिमा १ सय ५२ जना रहेका उनले बताए ।

समारोहमा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । समारोहमा २५ दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ ।

विश्वविद्यालयले एक विद्यार्थीका दुई जना अभिभावकलाई पनि समारोहमा सरिक हुनपाउने ब्यवस्था मिलाएको छ । सहभागी हुन २३ हजार ९ सय ८० जना अभिभावकको आवेदन दिएका छन् । विद्यार्थी, अभिभावक र अतिथि गरी करिब ४२ हजारको लागि सो दिन दशरथ रंगशालामा आवश्यक ब्यवस्थापन गरिएको समारोहको आयोजक परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

दीक्षित हुन योग्य भएकाको संख्या बढी भएपनि कम आवेदन पर्नुलाई विश्वविद्यालयले सामान्य मानेको छ । विद्यार्थीको कार्यब्यस्तता, पारिवारिक समस्या र भौगोलिक दुरी लगायतका कारण सहभागी संख्या घटबढ हुने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया