
काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसोसँगै बढेको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसो र प्रदूषणका कारण स्वास्थ्य समस्या भएर अस्पताल जाने बिरामीको संख्या एकाएक बढेको छ । तापक्रम घट्दै जाँदा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने गर्छ । पछिल्लो समय उपत्यकाको वातावरण धमिलो देखिन थालेको छ । जाडो मौसम सुरु भएसँगै वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धुलो र धुवाँको मात्रा बढ्ने विज्ञहरू बताउँछन् । चिसो बढ्दै जानु र वायु प्रदूषण पनि बढ्दा मानव स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
इथियोपियाको हायली गुब्बी ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीको मुस्लो काठमाडौँसम्म आइपुग्दा पनि प्रदूषण बढाउन थप सहयोग पुगेको छ । ज्वालामुखीजन्य धुलो र सल्फरयुक्त खरानी दक्षिण एसिया तथा खाडी क्षेत्र हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानमार्गमा फैलिँदा हवाई उडानसमेत प्रभावित भएको थियो । इथियोपियाको अफार क्षेत्रमा विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ भारत हुँदै नेपाल आइपुगेको हो । करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठुलो बादल बनेको थियो । त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको थियो । तर, यो अहिले नेपालबाट बाहिरिएको मौसमविद् वरुण पनेरुले बताए ।
पनेरुका अनुसार बिहीबार आकाशमा लागेको बादल भने बंगालको खाडीमा न्यूनचापीय प्रणालीको विकास भएका कारण आएको हो । ‘यो बादलले कुनै वर्षा गराउँदैन,’ उनले भने, ‘जाडो मौसममा धुम्म हुनु, तुवाँलो लाग्नु सामान्य हो ।’ जाडो समयमा लामो समय पानी नपरेमा वा हावाहुरी नचलेमा प्रदूषण थुप्रिनु सामान्य भएको उनले बताए । हिउँद लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढ्छ । सामान्यतया असोजदेखि माघको उत्तराद्र्धसम्म वायु प्रदूषण सघन बन्छ । यो सिजनमा कम पानी पर्ने मात्र होइन, हावाको गति कम हुने र तापक्रमसमेत घट्ने गर्छ । योसँगै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने र अस्पतालमा बिरामीको समेत चाप बढ्ने गरेको छ ।
यही मौसममा पहाडी, उच्च पहाडी भेगमा खेतीपाती गरिने हुनाले खेतबारीमा घाँसपात, मकैका ढोड जलाउने गरिन्छ । कतिपय ठाउँमा फोहोरसमेत जलाउने गरिन्छ । यसले वायु प्रदूषण बढाउने गरेको छ । काठमाडौँ उपत्यकामा भने उद्योगधन्दा, कलकारखाना, सवारीसाधनबाट निस्किने हानिकारक धुवाँले वायु प्रदूषण निम्त्याउने गरेको छ । त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकास–निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढावा दिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार चिसो मौसममा प्रदूषण झनै बढ्ने गर्छ । ‘हामीले जतिसुकै सल्लाह दिए पनि यो अप्ठ्यारो विषय हो । तर, पनि बढ्दो वातावरण प्रदूषण रोक्न सरकारले पोलिसी बनाउनुपर्छ,’ उनले भने । निर्माणको काम गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । अहिले प्रदूषण बढेसँगै अस्पतालमा बिमारीको संख्या बढ्न थालेको उनले बताए । उनका अनुसार यस्तो अवस्थामा नागरिकको तर्फबाट पनि सावधानी अपनाउनुपर्छ । बाहिर निस्किँदा मास्क लगाएर हिँड्न उनले सुझाए । यस्तो अवस्थामा खास गरी बालबालिका, वृद्ध र दीर्घरोगीले सावधानी अपनाउनुपर्ने बताउँदै उनले भने, ‘यस्तो मौसममा भारतमा त स्कुल नै बन्द गरिन्छ । बाहिर निस्किनै पर्दा प्रदूषणबाट बच्ने उपाय गरेर मात्रै निस्किनुपर्छ ।’
चिसोसँगै बढेको वायू प्रदूषणका कारण तत्काल देखिने भनेको छालाको समस्या रहेको उनले बताए । यसका साथै श्वासप्रश्वास समस्या देखिन सक्छ । दमको समस्या भएकालाई अझ गाह्रो हुन सक्ने उनले बताए । ‘दीर्घकालीन रूपमा हेर्ने हो भने मुटुका रोगीलाई झनै समस्या हुन सक्छ । यसका साथै आँखाको पनि समस्या देखिन सक्छ । छाला चिलाउने, घाँटी खसखस हुने, आँखा चिलाउने, आँखा रातो हुने, आँखामा घाउ हुने, आँखा पोल्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, सास फेर्न कठिनाइ हुन सक्छ,’ उनले भने ।
प्रतिक्रिया