
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ। अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा र सौर्यकर्मि पत्रकार नन्द बहादुर रोकायाको समन्वयमा १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ विद्यार्थी तथा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलकाका १सय ५ जना विद्यार्थीलाई पाँच कापीसहित डट–पेन, पेन्सिल, कटर र इरेजर प्रदान गरिएको अक्कल कोपिला फाउन्डेसनले जनाएको छ ।
ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यानमा सहजता पुर्याउने उद्देश्यले वितरण कार्यक्रम अघि सारिएको अक्कल कोपिला फाउन्डेसनले जनाएको छ । विद्यार्थीहरुलाई अध्ययन सामग्रीको अभावका कारण चुनौती भोगिरहेका विद्यार्थीहरूलाई सहयोगले प्रेरणा मिलेको छ ।

नेपाल राष्ट्रिय आधारभूत बिधालय पापुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर रोकायाका अनुसार, दुरदराजमा साना शैक्षिक सामग्रीले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । उनले भने, स्टेशनरीको अभावले पढाइ प्रभावित हुने समस्या थियो । सहयोगपछि विद्यार्थीहरू उत्साहित भएर कक्षामा सहभागी हुन थालेका छन् ।
त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका प्रधानध्यापक विकास भामले सामग्री वितरणले विद्यालयको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार, सामग्री पाएका विद्यार्थीहरू निकै खुसी छन् र उनीहरूको अध्ययनप्रतिको चासो थप बढेको छ ।
सामग्री पाएका विद्यार्थीहरूले पनि कापी–कलमले आफूहरूलाई थप लगनशील हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । दुवै विद्यालयमा सामग्री वितरणपछि खुसीयालीको माहोल देखिएको थियो ।
अक्कल कोपिला फाउन्डेसनले यस अघि छायांनाथ–रारा नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको थियो । हाल फाउन्डेसनले सेवा क्षेत्र विस्तार गर्दै मुगुमकार्मारोङ गाउँपालिकाका विद्यालयमा पनि सहयोग थालेको अध्यक्ष अक्कल बोहोराले बताए ।
उनका अनुसार, ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार, मनो–सामाजिक प्रोत्साहन र सिकाइ वातावरण सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष बोहोराको भनाई छ ।
अक्कल कोपिला फाउन्डेसनले मुगुमा विपन्न परिवारलाई राहत वितरण, प्रतिक्षालय निर्माण, सडक तथा धर्मशाला निर्माण, विद्यालय खेलमैदान विकासजस्ता सामाजिक सेवामा पनि निरन्तर योगदान गरिरहेको छ ।


मुगु
प्रतिक्रिया