विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यकक्षमै कुटे महिला प्रधानाध्यापक

कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखा र गालामा चोट लागेको छ । उनको आँखा रातो भएको छ । त्यहाँको चोट गम्भीर देखिन्छ

काठमाडौँ । सिन्धुपाल्चोकमा महिला प्रधानाध्यापकमाथि कुटपिट भएको छ । इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीमाथि कुटपिट भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले उनलाई कार्यकक्षमै कुटपिट गरेका हुन् ।

बुधबार भुवनेश्वरी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको थियो । सोही बेला विद्यालय व्यवस्थापन समितिको पुनर्गठनको विषयमा छलफल भइरहेकै दौरान तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासि हमला गरेको त्यहाँ रहेका वडा सदस्य नरेश तामाङले बताए । अध्यक्ष तामाङले एक्कासि कुटपिट गरेको उनको भनाइ छ ।

‘म र प्रधानाध्यापक भण्डारी निर्णय लेखिरहेका थियौँ । अध्यक्ष तामाङले एक्कासि मुड्की प्रहार गर्नुभयो । प्रधानाध्यापकलाई निर्णय लेख्न केही असहज भएको मैले महसुस गरेँ । यसपछि मैले सिकाइरहेको थिएँ । यसैबेला यस्तो घटना भयो । अध्यक्ष किन रिसाउनुभयो बुझ्न सकिएन,’ उनले भने ।

कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखा र गालामा चोट लागेको छ । उनको आँखा रातो भएको छ । त्यहाँको चोट गम्भीर देखिन्छ । घटनापछि विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो ।

यसैबीच, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै कारबाही नगरे जुनसुकै मूल्य चुकाउन तयार रहेकोसमेत चेतावनी दिएको छ ।

‘श्री भूवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावतीका सदस्य अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले आँखा तथा गालामा गम्भीर चोटपटक लाग्ने गरी आक्रमण गरेको हुँदा सो घटनाप्रति हामी घोर भत्र्सना गर्दछौँ,’ अध्यक्ष कृष्णप्रसाद श्रैष्ठ र सहअध्यक्ष नवराज खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस निन्दनीय घटना घटाउने तामाङलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ । यदि अभियुक्तलाई कारबाही गर्नमा ढिलासुस्ती भएमा यस महासंघ जुनसुकै मूल्य चुकाउन तयार रहेकोसमेत जानकारी गर्दछौँ ।’

तनहुँमा कुटपिटबाट १ जनाको मृत्यु

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसिमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया