
एजेन्सी । पाकिस्तान सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यसमा २० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले यस घटनाको यसको पुष्टि गरेका छन् ।
अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार आइतबार स्थानीय समय अनुसार राति ११ः४७ बजे भूकम्प गएको थियो । यसको गहिराइ ८ किलोमिटर थियो ।
यसपछि कम्तिमा तीनवटा भूकम्प फेरि गएको छ । जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो । अफगानिस्तानको राजधानी काबुल (लगभग २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (लगभग ४०० किलोमिटर टाढा) मा केही सेकेन्डको लागि भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पबाट प्रभावित प्रान्तहरू दुर्गम र कठिन पहाडी क्षेत्रहरूमा रहेका र त्यहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी नभएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्छ । तालिबान सरकारी अधिकारीहरूले दुर्गम र पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न राहत संस्थाहरूलाई अपील गरेका छन् ।
कुनार प्रान्तका प्रहरी प्रमुखले बताए अनुसार भूकम्पका कारण बाढी र पहिरोका कारण यस क्षेत्रका सडकहरू बन्द भएका छन् । उनले उद्धार कार्य हवाई मार्गबाट मात्र गर्न सकिने बताए ।
तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र हेलिकप्टर उपलब्ध गराउन र प्रभावित क्षेत्रहरुमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग मद्दतको लागि अनुरोध गरिरहेको बताएका छन् ।– बीबीसी
प्रतिक्रिया